नेपालमा कोरोना सङ्क्रमण दर ६० प्रतिशतले घट्यो

Hollywood Khabar October 08,2021 Comments

पछिल्लो डेढ महिनामा नेपालमा कोरोना सङ्क्रमणदर ६० प्रतिशत भन्दा धेरैले घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौको १ गते कोरोना सङ्क्रमणदर १८ प्रतिशत रहेकोमा असोजको तेस्रो हप्तासम्म सङ्क्रमणदर ६ र ७ प्रतिशतको हाराहारीमा झरेको छ। हिजो परीक्षण गरिएका नमुनामध्ये सात दशमलव १४ प्रतिशतमा मात्रै कोरोना देखिएको छ ।

डेढ महिनाको बीचमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६० प्रतिशत भन्दा धेरैले घट्नु निकै खुसीको र सकारात्मक विषय भए पनि अझै जोखिम नसकिएको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ । नागरिक जति धेरै जिम्मेवार बन्छन्, महामारी नियन्त्रणमा उत्तिकै सजिलो हुने मन्त्रालयको भनाइ छ । नियमित काम गर्दा होस् या चाडपर्व मनाउँदा, जनस्वास्थ्यका मापदण्डलाई सदैव पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उल्लेख्य घटेको छ । भदौको पहिलो हप्ता नेपालमा ४० हजार तीन सय ३८ जना सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो हप्ता अर्थात हिजो सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ६ सय १४ जनामा झरेको छ ।