-Dilli Ammai

कोभिड १९ महामारीको अबस्थामा पत्रकार र अविभावकहरुको कर्तब्य

Hollywood Khabar April 10,2020 Comments

डिल्ली अम्माई/४/११/२०

सामाजिक सतर्कता सम्बन्धि पत्रकारहरुका सुचना अहिले अत्यन्त महत्वपुर्ण छन्। संचार जगत अहिले अधिकतम मृत्युका समाचारहरु बेचिरहेको छ। संसार कोरोना आतंकले त्रस्त छ। त्यसैले यो बेला हाम्रा लेखनको ट्रेन नबल्ने होभने यो भयाबह अबस्थालाई जस्ताको तस्तै र अझ आतंकित पार्ने तवरले समाचार पस्किदै जानेहो भने मान्छेले क्रमश बाँच्ने आशा गुमाउछ। त्यसपछि मानिसले मर्ता क्या नही कर्ता भनेझै लुटपाट र आतंक मच्चाउन बेर मान्दैन। अन्तराष्ट्रिय संघ संगठनहरुले बिभिन्न माध्यामबाट त्यसको संकेत दिइसकेका छन्।

अन्तर्राष्ट्रिय मौद्रिक कोषका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएभाको पनि उपस्थिति रहेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अधानोम गेब्रेससले कोरोनाले केवल स्वास्थ्य समस्या मात्रै नल्याउने भएकोले सबै देशहरुले सामाजिक र आर्थिक चुनौतीको सामना गर्ने कार्यक्रम पनि सँगसँगै लैजानुपर्ने बताएका छन् । नागरिक स्वास्थ्य बचाउन थुप्रै देशहरूले लगाएका प्रतिबन्धहरूले व्यक्ति र परिवारको आम्दानी र समुदाय र देशहरुको अर्थव्यवस्थामा ठूलो क्षति पुर्याइरहेकोले अहिले विश्वका मानिस जीवन र जीविकोपार्जनका लागि साझा संघर्षमा जानुको अब विकल्प छैन ।

सम्पूर्ण राज्यहरुले समाज कल्याण कार्यक्रमहरू मार्फत मानिसहरूलाई खानेकुरा र अन्य जीवनको आवश्यक चीजहरू सुनिश्चित गर्नका लागि आह्वान गर्नुको अब बिकल्प रहेन। अबका केहि महिना अबस्था यस्तै रह्यो भने लुटपाट जस्ता घटना बढ्न सक्ने तर्फ पनि मिडियाले नागरिकलाई सचेत गराउनु जरुरि छ।

महामारीबारे बालबच्चालाई दिने सुचना र सतर्कताबारे पत्रकारिताको महत्व :

यसवेला तपाईंले आफ्ना बच्चालाई कोरोनाबारे बताउनु पर्छ । आफ्ना नानीबाबुसँग कुरा गर्नुहोस् र सोध्नुहोस्, उनीहरूलाई कोरोना भाइरसबारे के थाहा छ ? यसबारे उनीहरूले गलत सूचना त पाइरहेका छैनन् ? पत्रकार र अविभावकहरुको सहि र सन्तुलित सुचनाले बृद्ध तथा बाल मस्तिष्कमा पार्ने प्रभाब महत्वपुर्ण हुन्छ।

ख्याल गर्ने कुरा :

पटक-पटक टेलिभिजनको पर्दामा कोरोनाको समाचार हेर्दा, पत्रिकाका हेडलाइन पढ्दा तपाईंका केटाकेटी कहाँ थिए, तपाईंसँगै थिए या थिएनन् ? थिए भने समाचार हेरेर आत्तिए कि आत्तिएनन् ? तपाईंले ओहो ! अब त केही पाइँदैन रे, सबैतिर बन्द भैसक्यो रे भनेर छिमेकीसँग कुरा गर्दा उनीहरूले सुने कि सुनेनन् होला? स्कुल अचानक एक साताको सूचनामा हतारहतार परीक्षा लिएर बिदा दिँदा कति तर्सिए होलान्, के हामीले यसबारे केही सोचेका छौँ ?

दिने जानकारी:

आफ्ना केटाकेटीलाई के भनिदिनहोस् भने यो एउटा साधारण रोग हो जुन केही साताको उपचारपछि ठिकठाक हुनेछ। अधिकांश बालबालिका त यसबाट रोगी भएका छैनन्, भइहाले पनि चिसोको रुघाजस्तै केही समयमा ठिक हुनेछ। कुनै पनि कुरालाई सरल र विषयकेन्द्रित गरिदिनुहोस् र सकेसम्म सकारात्मक सन्देश दिनुहोस्। उनीहरूलाई रोगको मुख्य लक्षण बताइदिनुहोस् र लक्षणसँग मिल्दो कुनै शारीरिक समस्या भयो भने भनिहाल्न अह्राउनुहोस्। रोगबारे सुरक्षित हुन भइरहेका प्रयासबारे बताइदिनुहोस्। सबै डाक्टर तथा नर्सहरूले रोग फैलिन नदिन रातदिन मेहनत गरिरहेको कुरा बताइदिनुहोस्। संसारभरका मानिसले एकअर्कालाई सहयोग गरिरहेको कुरा बताइदिनुहोस्। उपलब्ध उपचार सेवा तथा भ्याक्सिनबारे पनि जानकारी दिनुहोस्।

बालबालिकाहरू हजुरबा वा हजुरआमाबारे चिन्तित छन् भने त्यो उनीहरूको माया हो। त्यसको सराहना गर्नुहोस् र उपलब्ध मेडिकल सेवा तथा अन्य सकारात्मक जानकारी दिनुहोस्।

नयाँ कुरा सिक्न तथा जान्न छलफल गर्नुहोस्। उदाहरणका लागि हाम्रो शरीरले कसरी भाइरससँग प्रतिरोध गर्छ, रोगका क्षण देखिएमा कसरी कम गर्न सकिन्छ? साथै, भाइरसले हामीलाई कसरी बिरामी बनाउँछ र त्यस्तो बेलामा के के गर्ने भन्ने पनि राम्ररी बुझाइदिनुहोस्। बालबालिकामा आत्मविश्वास जगाउनुहोस् र घरमै कस्तो तयारी थाल्ने भन्ने कुरा सिकाइदिनुहोस्। यस्तो विशेष परिस्थितिलाई नयाँ रुटिन पालना गर्नुपर्ने अवसरका रूपमा लिनुहोस्।

हातलाई कसरी संक्रमणमुक्त राख्ने, खोक्दा के के कुरामा ध्यान दिनुपर्छ, अनुहारमा हात नलाने, विशेषगरी नाकलाई हातले छुँदै–नछुने, हात मिलाउनु भन्दा नमस्कार वा अन्य उपाय अपनाउने कुरा बताइदिनुओस्। साना बालबालिकालाई नयाँ रुटिन अनुसार चल्न यस्तो यस्तो गर्ने भनेर आफूले नै गरेर देखाइदिनुहोस्। उनीहरूले आफ्नो हेरचाह आफैं गर्नका लागि केही नयाँ जिम्मेवारी पनि दिनुहोस्। यसले उनीहरूमा आत्मविश्वास जाग्छ र सबल बनाउँछ।

विगतमा उनीहरूलाई भएको रोगबारे कुरा सम्झाएर, रोग भनेको के हो र स्कुल नजानु नै क्वारेन्टाइमा बस्नु हो भन्ने बुझाउँदै कति समयपछि सबै कुरा ठिक हुन्छ भन्ने राम्ररी बुझाइदिनुहोस्। यो भाइरस एउटा देश,वर्ग वा एक समूहका मान्छेलाई मात्र हुने होइन भन्ने बुझाइदिनुहोस् र संक्रमणबाट बच्ने उपाय तथा गाह्रो परिस्थिति केही सातापछि सबै ठिक हुन्छ भन्ने निश्चिन्त पारिदिनुहोस्।

त्यस्तै बच्चा र वृद्धलाई यो रोग लागेपछि बाँच्न मुस्किल हुन्छ भनेर कहिल्यै सुनाउनु हुँदैन। त्यसले उनीहरुको आत्मबलमा अत्यन्तै नकारात्मक प्रभाब पार्छ। मनोविज्ञान सकारात्मक बनाउने समाचार सम्प्रेषण गरि अन्तराष्ट्रिय मानब जगतमा प्रकृतिलाई सम्मान गर्ने, प्रकृति र मानबबिचको अन्तरसम्बन्धलाई बुझाउने खालका समाचार वा लेखले भविष्यमा राज्यले अपनाउने नीतिलाई प्रभाब पार्न सक्छ। बयस्क तर क्रोनो बुद्धिजिबीहरुको लागि यस्ता लेखहरुले प्रकृतिमा मानब जीबनको सन्तुलन बुझ्ने सवालमा उनीहरुको आँखाको ढक्कन खोलिदिन सक्छ। त्यसैले यस्ता महामारीहरुको रोकथामका तात्कालिक तथा दिर्घकालिक उपाएबारे प्राकृतिक सन्तुलनको प्रभावसंग जोडेर गरिने बहसले पृथ्वीमा मानब प्रजातिको बसाइलाई दीर्घकालिक बनाउन मद्धत पुर्याउने छ।