-नेपालको पहिलो दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १६ औं वर्षगाँठ सम्पन्न

नेपालको पहिलो दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १६ औं वर्षगाँठ सम्पन्न

Hollywood Khabar August 20,2019 Comments

सन्तोष प्रणामी/ललितपुर/८/२१/१९

सहकारीमार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण भन्ने मूल नाराका साथ स्थापित देशकै पहिलो विद्युत सहकारी दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीले आफ्नो ग्राहक सेवा सुरु गरेको १६ औं वर्षगाँठको अवसरमा १६ औं वार्षिकोत्सव विशेष कार्यक्रम सम्पन्न गरेको छ। सुदुर ललितपुरको महाङ्काल गाउँपालिका ६, ठूलादुर्लुङमा संस्थाको वार्षिकोत्सब आयोजना गरिएको हो।

२०५४ साल आश्विनबाट सामुदायिक मोडलमार्फत दक्षिण ललितपुरमा केन्द्रिय प्रसारणलाईनको विद्युत सेवा पुर्याउने उद्देश्य अनुरुप अभियान सुरु गरी २०५७ साउन १७ गते स्थापित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्थाले २०६० पौष २५ गते विद्युतीकरण तथा ग्राहक सेवा सम्झौता गरेको थियो।

सोही अभियानलाई मूर्तरूप दिनका लागि क्रियाशील संस्थाले ललितपुरका तत्कालीन १९ गाविस, हालका ३ गाउँपालिका र गोदावरी नगरपालिकाको वडा नं ७ देवीचौर मूल कार्यक्षेत्र बनाई काम अगाडी बढाएको हो। यसै क्रममा २०६१ भाद्र २ गते देवीचौरमा पहिलो पटक संस्थाले बिजुली बाल्न सफल भएको थियो। सोही दिनलाई हरेक वर्ष संस्थाले वार्षिकोत्सबको रूपमा मनाउदै आएको छ ।

अगष्ट १९, २०१९, सोमबार आयोजित १६ औं वार्षिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रहेका महाङ्काल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालले संस्थाको सुरुवाती ईतिहास र सङ्घर्षका दिनहरुलाइ स्मरण गरे। अभियानको सुरुवाती अभियन्ता र संस्थाको हालको सञ्चालक समिती सदस्यसमेत रहेका दाहालले आगामी दिनहरुमा पनि नपुगेका ग्रामीण बस्तीहरुमा बिजुली पुर्याउनका लागि आवश्यक सम्पूर्ण बजेट तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यद्यपि आवश्यक सम्पूर्ण बजेट एकैपटक सहयोग गर्ने तर त्यही स्थान र कार्यक्रमका लागि दोहोर्याएर सहयोग गर्न नसकिने उनको भनाई छ।

लगनखेलमा रहेको विद्युत सबस्टेसन टाढा रहेका कारण दक्षिण ललितपुरका सबै स्थानको विद्युतीकरण टिकाउ र विकाउ नभएको भन्दै उनले उन्युचौरमा सबस्टेसन बनाउनका लागि भवन तयार भएको र त्यसको कार्य सम्पन्न गराउनका लागि समस्त दक्षिण ललितपुरबासी तथा जनप्रतिनिधिको साथ, सहयोग र सहकार्यको जरुरी रहेको बताए ।

संस्थाको हालसम्मका गतिविधिबारे जानकारी गराउदै संस्थाका प्रबन्धक सबिन घिमिरेले सहकारीमार्फत विद्युत सेवालाई सुदृढ बनाउन अभियानकै रुपमा आफूहरु निरन्तर सक्रिय रहेको बताए। साथै विद्युत सेवाको गुणस्तरमा वर्षैपिच्छे परिवर्तन भएको र ग्राहकको गुनासोहरु दिनानुदिन घट्दै गएको समेत घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै महाङ्काल गाउँपालिका ६, ठुलादुर्लुङका वडाध्यक्ष रामकृष्ण आचार्यले कठिन परिस्थितिमा दक्षिण पहाडी क्षेत्रका १९ वडामा सामुदायिक मोडलबाट विजुली बाल्ने अभियान चलाउनु अत्यन्तै प्रशंसनीय कार्य भएको भन्दै ललितपुरको सबैभन्दा सुदुर र विकट ठूलादुर्लुङमा विजुली बाल्नका लागि स्थानीयवासीको साथ, सहयोग र त्यागको खुलेर प्रशंसा गरे। साथै अहिले पनि जिल्लाको सबैभन्दा बढी विद्युत सेवा पुग्न बाँकी रहेको स्थान समेत ठुलादुर्लुङ नै रहेको उनको भनाई छ ।

कार्यक्रमका सभाध्यक्ष एबम संस्थाका अध्यक्ष गोबिन्द बजगाईंले यो संस्था देशभर नै दर्ता भएको पहिलो बिद्युत सहकारी रहेको भन्दै विद्युत प्रसारणलाईन बिस्तारसंगै ग्रामीण क्षेत्रमा उद्यमशील र व्यवसायजन्य कार्यक्रमहरु सञ्चालन गर्नका लागि संस्थाले स्थानीयवासी, स्थानीय तह तथा जनप्रतिनिधि संग सहकार्य गरेर अघि बढिने बताए। यस्तै नपुग स्थानमा विद्युत पुर्याउनका निमित्त समुदायको तर्फबाट पनि विशेष पहलको आवश्यक रहेको उनको भनाई छ।

कार्यक्रमकै अवसर पारेर संस्थामार्फत प्राप्त भएको विद्युत अनुदानको तेश्रो लटको रकम पनि ठुलादुर्लुङ, आश्राङ रगिम्दीका उपभोक्ताहरुलाई प्रदान गरिएको थियो।