दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

Hollywood Khabar October 07,2021 Comments

बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।

पार्वतीको यो रुपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ । शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ ।यस्तै तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाताको स्तुति गरीन्छ । छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् डा।रामचन्द्र गौतमले बताए । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

बडादशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ ।  महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।