दिपक कुमार बिष्ट

धान दिवस अर्थात असारको १५ : दहि चिउरा खाँदै मनाईने बिशेष पर्व

Hollywood Khabar June 28,2020 Comments

असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस। मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिनलाई अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ ।

कृषि क्षेत्रमा काम गर्नेले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । 

कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।  आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्दै असा रेभाकामा गीत गाउदै रमाइलो पनि गर्छन् ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन्।यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । 

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको कहावत हामीले सुन्दै आएका पनि छौं। 

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउने बिश्वास गरिन्छ ।पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ । नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देश हो । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान माग अनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ । खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको पनि बृद्धि हुनु जरुरी छ तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । सरकारी तथ्याङ्क अनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् । सरकारले देशलाई धानमा आत्मनिर्भर गर्न इरीसँग हालै सम्झौता पनि गरेको छ । नयाँ नयाँ धानको जातको पहिचान र सिफारिस, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले इरीसँग सो सम्झौता गरेको बताईएको छ।इरीले हालसम्म आविस्कार गरेका ८२ नयाँ जातका धानको बीउमध्ये ५० थरीका बीउ नेपाललाई प्राप्त भएको  तथ्याङ्कले देखाउँछ ।

नेपालमा विगत दश वर्षदेखि धानको उत्पादन सन्तोषजनक देखिएको छैन । बाली लगाउने गोड्ने, पानी लगाउने अर्थात बाँझो जमिनलाई हराभरा र उब्जाशिल बनाउने साहस नेपालीहरुमा हुन जरुरी छ । जसरी मनो रोपेर मुरी फलाउने लक्ष्यका साथ असार १५ लाई नेपालीहरुले दहि चिउरा खाँदै  मनाउँछन् त्यसैगरि दहि चिउरासंगै कृषीक्षेत्रमा आत्मनिर्भरता र नेपाली माटोले नेपालीको पसिना ईलम र मिहिनेत आजको दिनले मागेको छ । जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिनुपर्ने लक्ष्यकासाथ अघि बढ्नुपर्ने समय आएको छ ।

इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने गरेको थियो तर दुखको कुरा अहिले गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहनु परेको तितो  यथार्थ कसैबाट छुपेको छैन।बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । भोको पेट कुनै नेपालीको नहोस। भकारीमा सबैको धान होस।धान दिवस अर्थात असारको १५ को उपलक्ष्यमा सबैको जय होस्!

लेखक अधिवक्ता हुनुहुन्छ ।