-Krishna KC

एनआरएनका नेताले एउटा मात्र राम्रो काम गर्दा दुनियाँले प्रशंसा गर्छन, खुकुरी ताक्नु पर्दैन

Hollywood Khabar November 12,2017 Comments

कृष्ण के सी, अमेरिका, मार्च ११, २०२१

केवल एउटा मात्र राम्रो काम गर्दा पनि चर्चामा पुगिन्छ। नागरिक प्रिय प्रशासक कुलमान घिसिंङ्गले राम्रो काम गरेको हो, खुकुरी बोकेर थर्काएको होईन महोदय!

७० को दशक तिरको हिन्दी मुभी हेर्दा मुनिमजीको पात्र हुन्थ्यो। यसलाई यति पैसा देउ मुनिमजी, उसलाई बोलाउ मुनिमजी आदी इत्यादी। मालिकका लागि ब्यस्त मुनिमजी जे जे भन्यो त्यसै गर्थे !

गैरआवासीय नेपाली संघ (एनअरएनए) को वर्तमान नेतृत्वलाइ पनि मुनिमजीको जस्तो समय होइन, काम गरेर भ्याई नसक्ने काम छ्न। तर बिडंवना फुर्सद भने गत निर्वाचनको तुस निकाल्न र आगामी निर्वाचनको जोहो गर्नमा छ। सधैं र सबैको लागि हामी सबैले भेटघाट, स्तुती:, जपन र हवन गर्न सक्दैनौं महोदय। तर काम गरेपछि हामी सबैले तपाइको प्रशंसा गर्छौं। आलोचना त विश्वविख्यात अमेरिकी सिएनएन र एबिसी जस्ता दर्जनौं मिडियाले राष्ट्रपति ट्रम्पको पनि गरेका थिए। तर पनि व्हाइट हाउसले तिनै मिडियालाइ गौरव गरेर राष्ट्रपतिज्यूको विशिष्ट विदेश भ्रमणमा एटेण्डेण्ट बनाएर लगेको थियो। तिनैका सम्प्रेषणलाइ व्हाइट हाउसले शेयर गरेको थियो।

हामीले देखेका छौं कि नागरिकका प्रिय प्रशासक कुलमान घिसिंङ्गले खुकुरी बोकेर सबैलाई ठोक भनेर तह लगाएर काम गरको होइन। तर काम राम्रो गरेको हो। त्यसैको फलस्वरूप अन्तमा कुलमानजीले आज एकदिन ५ वटाको सट्टा ३ वटा मात्र बत्ति बालिदिनु भनेर अनुरोध गर्दा तिनै नेपाली नागरिकले ३ होइन बरु २ वटा मात्र बत्ति बाल्थे। उहाँले यो पटक दिपावली गर्नुहोस, बत्ति बालेर झिलिमिली गर्नुहोस ब्यबस्था मिलेको छ, क्षमताले धान्छ भन्दा धेरैले लक्षमी माताको भन्दा कुलमानजीको प्रशंसा गरेका थिए। यो हामीले देखेको कुरा हो। त्यस्ता नागरिकप्रिय प्रशासक कुलमानजीको बिरोध र आलोचना गर्न ठाउँ खोज्दै म कता जाउँ महोदय? बरु एउटा फुलको थुङ्गा लिएर कुलामानजीलाइ धन्यवाद चढाउन जान्छु “म”।

अबको प्रसङ्ग हो गैरआवासीय नेपाली संघको। संघका महासचिवले बिधान बिपरित गएर मनोमानी रुपमा एउटा समाचारमा आलोचना गरेको भरमा थुप्रै संचारको आलोचना गरेको कुरा हामीले देखेका छौं। कुनी कारबाही गरौँ भन्ने समेत प्रस्ताव गरेको सुनिएको छ।अबश्य पनि मेरो खोटो र छोटो दिमागको मुझाई चाँहि कमी भएको होला। मेरो पढाइ नपुगेको होला, मरो दिमागमा कुपोषण भएको होला, मलाइ अज्ञानको रोग लागेको होला तर पनि धेरै प्रयास गरे, योगा गरे अनि मरीमरी खोज्दा पनि तपाइ एनआरएनएका केहि नेताहरुलाइ प्रशंसा गर्ने एउटा पनि कुरा मैले भेटिन महोदय। यसरी भन्नु परेकोमा म क्षमा प्रार्थी छु महोदय। तर पनि तपाइले आफैले प्रयास गरेर मलाइ यो यो राम्रा काम गरेको छु, २५७१ जना बिशेष महाधिवेशन प्रतिनिधि मध्ये कतिले भाग लिए त्यो सबै प्रमाण सहित लिस्ट दिनुहोला, सके प्रशंसा गरौला नसके चुप बसौंला।

मलाइ माफ गर्नुहोला महोदय, गत निर्वाचनमा यहाँ उम्मेदवार हुँदै गर्दाको बखत यसै प्रकृतिमा लेख्ने हामीलाई क्यावातको धाप मार्ने यहाँको हातको डाम अझै मेरो धाममा फिलिङ हुन्छ। तर अहिले रत्यौली खेल्ने तपाइँ महोदयले आफ्नो कर्तब्य भुलेर जाँदा संझाउने हामीलाइ कित्ता काट गर्नुपर्ने कारण भने मैले पटक्कै बुझिन।

मौका पर्दा काठ्माण्डौ पुगेर ३ घण्टा लाइन बसेपछि डेलिगेट बन्न पाएको कुरा झुटो होइन। त्यो लडाइ मैले तपाइको लागि लडेको हो महोदय। यति मात्र होइन मैले तपाइँका कारण दोश्रो दर्जामा झर्नु परेको तीतो अनुभव छ। यस्ता दर्जनौ कुरा छन् ति सबै कुरा आँखा चिम्लेर तपाइको जयगान गाउँन यो समय चाहिं सकिन महोदय। तपाइको खेलको नतिजामा भ्वाङ परेको छ। बिधि-बिधान मुताविक छैन अनि तपाईलाइ त्यो अधिकार नै छैन भनेर तपाइँ संयोजक भएर ड्राफ्ट गरेको बिधानमा प्रस्ट ब्यबस्था छ महोदय।

मैले मान्ने एकजना ८० को दशक देखिका चर्चित पत्रकार कुनै समय नेपालको ठूलो राष्ट्रिय दैनिकका शिखर पुरुष मध्यका दिग्गज र सम्मानित् दाइलाई पनि सोधे। दाइले भन्नुभयो, प्रशंसाको भोको हुनेले, पवित्र खादा ओढ्ने लोभ गर्नेले अपवित्र काम गर्न छाड्नुपर्यो। बुद्धको एउटा मात्र पनि बाणी पढेर देखाउनु पर्यो, बिधानको दुहाइ दिनेले पहिला आफै बिधान पढ्नु पर्यो अनि त्यसको पालना गर्नुपर्यो, दुनियाँको रखवाला बन्नुपर्यो, आफ्नै जनको गला रेट्ने होइन, खुकुरीले छप्का हान्न आउने होइन, बुद्धको संदेश दिन सक्नुपर्यो। अनि हामी तुच्छ प्राणी पत्रकारले तपाइको लागि प्रशंसाको दुइ शब्द लेख्ने ठाउँ राखिदिनु पर्यो महोदय।

बिना लोभ-पाप काम गर्दा प्रशंसा पाइन्छ भन्ने कुरा हाम्रो गौरवशाली गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रका धेरै अभियन्ताहरुको उदाहरण दिन सकिन्छ। म आफू संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो देखि वर्तमान अध्यक्ष कुमार पन्त लगायत थुप्रै अभियन्ताहरुकाबारे धेरैबाट प्रशंसा सुनेको छु। अनि मैले पनि त्यहि कुरालाई प्रशंसा गरेर लेखेको इतिहास छ, प्रमाण पनि छ महोदय।

जसले जे सुकै भने पनि संस्थापक अध्यक्ष भएकाले गर्दा एनआरएनएको चिन्ता डा उपेन्द्र महतोलाइ जति अरु अध्यक्षलाई कदापि हुँदैन। तर यो हुँदैमा यसको अर्थ त्यो होइन कि डा महतोको पुजा गर्नुपर्छ अनि उहाँका पनि घटी-कमी र गठ-जोड छैनन् भन्ने होइन। हामीले प्रमाण सहित आएका कुरामा उहाँको पनि आलोचना गरेका छौं र त्यो कुरा उहाँले राम्रोसँग बुझ्नुहुन्छ। फेरि यो पनि होइन कि आलोचना गर्दैमा डा महतोको अस्थित्व समाप्त भयो। हामी सबैले उहाँलाई संस्थापक अध्यक्षको रुपमा सम्मान गर्छौ, गर्नुपर्छ र गरिरहन्छु त्यो सत्य कुरा हो।

लेख्दा ह्रश्व-दिर्घ नमिल्ला तर मलाई पनि राम्रो काम गर्नेको प्रशंसा गर्न आउँछ महासचिव महोदय। बरु तपाइले गरेका प्रशंसनीय काम चाँहि के के होलान लिष्ट सहित पाउ महोदय ! कुलमानजीको जस्तो नभए पनि कम्तिमा एउटा पनि राम्रो काम गरेको छ भने बताउन सक्नुहोस न महोदय।

हामीलाई थाहा छ, कन्स्टिपेशन निकाले पनि तपाइको त्यो पवित्र लिस्ट तयार भएको छैन। बनाएर पनि अरुले गरेका काममा जोडेर आफ्नो स्थान बनाउने बाहेको अरु केहि छैन। यहि तालमा त हुनेवाल पनि छैन महोदय। अब हामीले खोजेर पनि गुनासो गर्ने ठाउँ राख्नु भएन मदोदय, हामीलाई राम राज्य दिनुपर्यो, दुशाशन, सकुनी र बक्रतुण्डको जस्तो कपट होइन महासचिव महोदय।

अन्तमा, तपाइँ आफैं नेतृत्वमा, तपाइको हातमा राम्रा काम गर्ने जिम्मवारी छ। नतिजा तपाइको खराब आउँछ, आलोचना तपाइको गर्नुपर्छ, हाम्रो के दोष ? केवल एउटा मात्र पनि राम्रो काम गरेर देखाउनु नि, मेरो तपाइलाइ ठाडो चुनौती भयो। केही राम्रो गर्नुहोस, हामीलाई तपाइको प्रशंसा गर्ने मौका दिनुहोस, दुनियाँमा म एनआरएनएको सदस्य हुँ भन्ने गौरव गर्ने नतिजा दिनुहोस। सँस्थालाई बलियो र आदर्शको बनाउन लाग्नुहोस अनि तपाइलाइ प्रशंसाको शब्द मात्र होईन पवित्र मन्त्रले भरिएको खादा ओडाउनको लागि फ्लाइट टिकेट काटेर आउँला महासचिव महोदय। हामी तपाइँले नेतृत्व गर्ने संघकै सन्तती हौँ। आफ्नै सन्ततिलाई खुकुरी टेकेर छप्पन हान्नु पर्दैन। एउटा मात्र, केवल एउटा मात्र राम्रो कम गर्नुहोस मेरो त के कुरा दुनियाँले तपाइको प्रशंसा गर्छन। होइन भने, मैले सकिन, म असक्ष्यम रहेछु, मलाइ हेल्प गर्नुहोस, मलाइ माफ गर्नुहोस भन्नुहोस् अनि सहयोग र माफी पनि संगसँगै गरौंला।- कृष्णार्पण!