साङ्केतिक तस्बिर:साभार वेब

फागुन १४ मा स्ववियु निर्वाचन नहुने,एक-अर्कोमाथि दोषारोपण गर्दैमा व्यस्त

Hollywood Khabar February 11,2020 Comments

२९ माघ,काठमाडौं।स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को चुनाव फागुन १४ मा नहुने भएको छ।कलेजहरूले सबै व्यवस्थापनको तयारी गर्न नसक्दा स्ववियु चुनाव नहुने निश्चित भएको हो। त्रिभुवन विश्व विद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको थियो।त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी दीपक शाहीले विभिन्न विश्व विद्यालय र कलेजका विद्यार्थीले चुनावको तयारी गर्न नसक्दा तोकिएको समयमा चुनाव गर्न नसकिएको बताए।उनले भने,‘काम गर्नुपर्ने विद्यार्थीको हो, विद्यार्थीबाटै तयारी गर्न नसक्दा चुनाव गर्न नसकिने भयो।’ उनका अनुसार त्रिवि चुनाव गराउने पक्षमा छ। तर, विभिन्न कलेजका विद्यार्थी नै चुनावप्रति एकमत देखिएका छैनन्‌।

त्रिविको परीक्षा तालिका र चुनाव जुधेको भन्दै विद्यार्थीहरुले समस्या हुने बताउँदै आएका छन्‌।तर शाहीले भने परीक्षाले चुनावलाई भने कुनै असर नगर्ने दाबी गरे।उनले भने,'चुनाव  हुन्छ,तर,कुन समयमा हुन्छ भन्ने यकिन गर्न सकिएन,कलेजका विद्यार्थी नेता  चुनाव गर्न नसकिएपछि अहिले एक अर्कालाई दोष दिने गरेका छन्।' नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु(अखिल)को केन्द्रीय सचिव सुदेश पराजुलीले नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तोकिएको समयमा निर्वाचन गर्न नचाहेको देखिएकाले त्रिवि अलमलमा परेको बताए।
‘स्वतन्त्र विद्यार्थी युनियानलाई कमजोर बनाउने विभिन्न षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘महत्वपूर्ण कडी निर्वाचनलाई असफल बनाइयो भने विद्यार्थी आन्दोलन कमजोर हुन्छ भन्ने हेतुले कसैले षडयन्त्र गरेको आधारमा केही विद्यार्थी संगठन, विश्वविद्यालय प्रशासन लागिरहेका छन।’ उनले आफूहरु जतिखेर पनि स्ववियुको निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए। निर्वाचनका लागि त्रिवि पनि कसै न कसैको लोभलालचमा रहेको उनको आरोप छ।उनले भने, ‘प्राइभेट कलेजले लगानी गरेर शिक्षाप्रति व्यापार गर्नेहरू दिननुदिन धनी बनिरहेका छन्, स्ववियु निर्वाचन भयो भने सरकारी क्याम्पसहरु नै गतिलो पाठशाला हुन्छ, यसले नीजि संघसंस्था र मान्छेहरूले गर्दै आएको शैक्षिक धन्दामा असर पार्छ, त्यसैले सरकारी क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन नदिन नेविसंघ मतियार बनिरहेको छ।’ ‘रेक्टरबिना चुनाव गर्न सकिन्छ’ सत्तारुढ दलका विद्यार्थी नेताहरुले स्ववियु निर्वाचको लागि अनिवार्य रेक्टर चाहिनुपर्ने भन्ने नभएको बताएका छन्‌। 

‘रेक्टरबिनै विश्वविद्यालयको निर्वाचन गराउन सकिन्छ,’ पराजुली भन्छन्‌, ‘निमित्त रेक्टरले पनि गर्न सक्छन्, रेक्टरलाई लिएर चुनाव नगराउन एउटा जालको विषय बनाएका हुन्।’ ‘रेक्टर नियुक्ति भएपछि मात्रै चुनाव हुनपर्छ’ नेविसंघका नेता नवराज त्रिपाठीले रेक्टर नियुक्ति गरेर मात्रै चुनाव गर्नुपर्ने बताउँछन्। ‘नेविसंघले आधिकारिक रूपमै रेक्टर नियुक्ति गरेर मात्रै निर्वाचन गर्ने भनेको हो,’ उनले भने, ‘रेक्टर नै नियुक्ति भएको छैन, परीक्षाको अध्यक्ष नै रेक्टर हुने पर्ने हो, नियुक्ति नगरेर अलमल्याएको छ, त्यसैले चुनाव हुने छाटकाँट नदेखिएको हो।’ उनले रेक्टर नियुक्ति गर्नका लागि कसैले नरोकेको पनि बताए। सबै आन्दोलनका काम स्थगित गरेको बताउँदै नेविसंघभित्र केही समस्या नभएको उनले दाबी गरे। उनले भने, ‘स्ववियु निर्वाचन निष्पक्ष हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो, कोहीले भने आफ्नो दल विशेषलाई मात्रै गराउन खोज्ने देखिएको छ।’ फागुनमा चुनाव हुन नसकेपनि प्रकृयागत रूपमा समयमै निर्वाचन हुनुपर्ने उनले बताए।