सुबेच्छा भडेलसँग लेखनाथ गौतमले गरे फेशनका कुरा

Hollywood Khabar May 19,2017 Comments

लेखनाथ गौतम

हामीलाई लाग्छ, सामान्य मान्छेहरु फेसन गर्दैनन्। फेसन गर्ने काम मोडेलहरुको हो। फिल्मका कलाकारहरु पनि फेसन गर्छन। उनीहरु फरक ठाउँमा फरक लुगामा प्रस्तुत हुन्छन। उनीहरु मौसम अनुसार, परिवेश अनुसार, जिउ अनुसार, हैसियत अनुसार पोशाक परिवर्तन गर्छन। अहिले संसारभर फेसनको ठुलो बजार छ। कलेजमा फेसनको पढाई हुन्छ। पहिले पहिले एउटै लुगाले आधा जिन्दगी जान्थ्यो। घरमा र बाहिर हिंडडुल गर्दा अलग्गै लुगा लगाउने चलन थिएन। आधुनिक जमानाको प्रभाव सबैले नयाँ लुगा लगाएर चिटिक्क परेर हिड्न मन पराउँछन्। अहिले फेसनको बजार संसारभर छ। हरेक सार्बजनिक कार्यक्रममा मान्छेले लगाएका कुराको तारिफ र आलोचना गरिन्छ। मानिसहरु कसले के लगाएको छ भनेर हेरिरहेका हुन्छन । 

केहि समय पहिले सम्म पनि नेपालमा फेसन भनेको आम मान्छेले गर्ने कुरा होइन भन्ने धारणा थियो। यो त ठुलाबडा, फिल्म काम गर्ने मान्छे वा टिभीमा देखिने मान्छेको काम हो जस्तो ठानिन्थ्यो। समयको परिवर्तन संगै त्यो अबधारणामा केहि परिवर्तन आएको छ। फेसन गर्न सार्बजनिक व्यक्तित्व हुनु पर्दैन भन्ने सोंच बिकसित हुँदै गएको पाइन्छ । फेसन भनेको आफुलाई कस्तो लुगा लगाउँदा सजिलो हुन्छ, त्यहि नै हो। हाम्रो घरमा रहेका लुगाबाट पनि फेसन गर्न सकिन्छ। फेसन गर्न महंगा र ब्रान्डेड लुगाको जरुरत छैन । हामी संगै भएका लुगालाई मिलाएर लगाउन जान्नु पर्छ। खालि हामीले समय, परिस्थिति, अवसर, मौसम, आफ्नो शरीरको बनावट आदिमा ध्यान दिनु पर्छ। अलिकति ध्यान दियो भने हामीले गर्ने पोशाकको नियमित खर्चमै फेसन गर्न सकिन्छ। चिटिक्क परेर हिंड्न सकिन्छ। 

म सल्यानमा जन्मेको मान्छे। सल्यान हुँदै दाङ्ग, दाङ्ग हुँदै काठमान्डू र अहिले अमेरिकामा छु। काठमाडौँमा हुँदा लर्ड बुद्ध फाउन्डेसन बाट फेसन डिजाइनमा स्नातक पास गरें। पछि सोहि कलेजबाट ब्यबसाय प्रशासनमा स्नातकोत्तर पास गरें। मलाई फेसनबाटै भबिस्य बनाउन सकिन्छ भन्ने लागेर नै फेसन डिजाइनिङ्ग पढेको हुँ। फेसनबाट पनि धेरै मान्छेको जिन्दगी जिउने तरिका परिबर्तन गर्न सकिन्छ भन्ने मलाई लाग्छ। हामी नेपाली पनि चिटिक्क पर्न जानेका छौं, झुत्रे झाम्रे हाम्रो परिचय होइन भन्ने मानसिकता विकास गर्नु पर्छ। अहिले अमेरिका आए पनि मैले मेरो काठमाडौँमा रहेको बुटिककै काम गर्छु। अमेरिकामा रहेका नेपाली संघ संस्थाहरुले गर्ने कार्यक्रमहरुमा हुने फेसन शोहरुमा डिजाइनरको काम पनि गर्छु। जिन्दगी राम्रै चलेको छ। 

यहि क्रममा टेक्सासको डालसमा हुने युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनमा मैले आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छु। त्यहाँको शो फेसन शो मात्र होइन, सांस्कृतिक फेसन शो हो। फेसनलाइ हाम्रो संस्कृतिसंग जोड्ने आयोजकको चाहना भएकोले मैले त्यसमा धेरै मिहिनेत गरेकी छु। हामी नेपाली संस्कृतिका धेरै धनि छौं। हामीले गर्ब गर्नु पर्छ कि हामी यति धेरै जात जाती, भाषा भाषी बिलेरा बसेका छौं। यस्तो अद्वितीय सामाजिक सद्भाव संसारमा छैन। हाम्रा हरेक जात जातिका अलग भेष भुषा छन्। युएनएको यो कार्यक्रममा मैले नेपालका १२/१३ भिन्न जातिका परम्परागत पोशाकहरुको डिजाइन गरेकी छु। 

नेवारी, गुरुङ, तामांग, मगर, शेर्पा, थकाली, थारु, किरांत, लिम्बु, जीवित देवी कुमारीका बस्त्रहरुको डिजाइन गरेकी छु। फरक जातजातिका भेषमा फरक मोडेल प्रस्तुत हुनेछन। मेरो मिहिनेत अनुसार त्यो अवसर हेर्न लायक हुनेछ। अमेरिकाको एउटा होटेलको कोठामा बसेर पनि सम्पूर्ण नेपाल हेर्ने त्यो अवसर तपाईं हामीले प्राप्त गर्दैछौं। 

अमेरिकामा पनि अहिले धेरै नेपालीहरु बस्नु हुन्छ। धेरै युबाहरु कलेजमा आफ्नो करियर बनाउने क्रममा हुनुहुन्छ। फेसनमा स्वभावैले युबाहरुलाई चासो हुन्छ । अमेरिकामा फेसनको ठुलो बजार रहेकोले यस क्षेत्रमा लाग्न चाहनेहरुको लागि राम्रा अवसरहरु छन् । ठुलो देश भएकोले प्रतिष्पर्धा त पक्कै छ तर आफु संग शिप छ भने अवसरहरु धेरै छन् । एक चोटी यो क्षेत्रमा पाइलो टेके पछि पछि हट्न पर्दैन। भबिस्य उज्ज्वल छ । यसबारेमा तपाईंका जिज्ञाशा छन् भने डालसको यो सम्मेलनको अवसर पारेर हामी छलफल गर्न सक्छौं । यो क्षेत्रमा कस्ता कस्ता चुनौतिहरु छन् र कस्ता अवसरहरु छन् भनेर जानकारी लिनको लागि यो अवसर प्रयोग गर्न सक्छौं। नेपालमा पढाइ सके पनि अहिले म अमेरिकामा फेसन समबन्धि कक्षा पनि लिइरहेकी छु । मेरो नेपाल देखि अमेरिका सम्मको अनुभव तपाईं सामु बाँड्न चाहन्छु। त्यसैले आउनुहोस युएनए दोश्रो सम्मेलनको यो अबसरमा केहि नयाँ सिकौं, केहि नयाँ सिकाओं । बाँकी कुरा सम्मेलनको बेला गरौंला। 

***फेसन डिजाइनरको रुपमा नेपाल देखि अमेरिका सम्म चर्चित सुबेच्छा भडेलसंग गरिएको कुराकानीमा आधारित. प्रस्तुति: लेखनाथ गौतम