पत्रकारलाई समयमै तलव दिन महासंघको आग्रह 

0
shares

by Soni Sharma | Updated: 18 Sep 2019

93 views
-नेपाल पत्रकार महासंघ

२असोज,काठमाडौँ ।नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुलाई समयमै तलव दिन  आग्रह गरेको छ।काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले  दशैँ नजिकिरहेको सन्दर्भमा पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की  तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गराउने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

बैठकले  अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरि श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णयसमेत गरेको छ ।दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सिर्जना गर्नेछ ।

बैठकले समाचार सङ्कलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाइ गर्दै झन्झटिलो व्यवस्था गरिएकाले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको महासचिव विष्टले बताए ।बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्बहाली गर्नसमेत माग गरेको छ ।