ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ

0
shares

by Krishna KC | Updated: 14 Dec 2019

1502 views
-Krishna KC

कृष्ण के सी/अमेरिका/१२/१४/१९

सेप्टेम्बर २०१७ मा प्रकाशित गरेको यो मेरो बिचारलाइ आज पुनरलेखन गरेर फेरि पोष्ट गर्दैछु। यदि मैले राम्रो सम्झेको छु भने ९/१० कक्षामा पढ्दै गर्दा होला, मेरो मिल्ने तर सारै चकचके साथीले भन्थ्यो, चोरी नगरी चतुर्याई हुन्न, फट्याई नगरे इज्जतै रहन्न।

आज लगभग ३ दशक पछाडी आउँदा त्यो कुराको याद भयो। कता-कता समाजको अध्ययन गर्दा त्यस्तै कुरा नै सहि लागेको छ। राजा महेन्द्र हुन या तथाकथित जनआन्दोलनका सर्दार, पुल्पिटका पादरी हुन् या भट्ट पुजारी नै किन नहुन सबैमा यस्तै देख्दैछु। फट्याई गर्ने ठालु, इमानदारलाई आलु भन्ने उखान चरितार्थ भएको पाइयो।
सानो हुँदा आशिर्वाद पाइन्थ्यो; पढ्नु गुन्नु, ठूलो हुनु, ज्ञानी हुनु, धर्मी भएस, सच्चा गरेस आदि इत्यादी। ऐलेको समयमा आएर त्यो सबै हुनु भनेको चाहिँ सबै कुरामा ठगिनु र पछाडि पर्नु रहेछ। अझै भन्नुपर्दा कुर्नु बाहेकको केही होइन भन्ने भान हुन थालेको छ। ती सबै गरेर अन्तमा आफ्नो हाता लाग्ने भनेको सुन्य मात्र हो। वर्तमान परिवेशका नेपाली समाजको जीवनलाइ तुलनात्मक रुपमा हेर्दा प्रतिजवाफमा पाइने नतिजा अचम्मको छ।

सज्जनका दिन गए पाखण्डीका दिन आए भने जस्तै भएको छ।

एउटा सामान्य दृष्टान्त हेरौ। तपाइको घरमा दुइ सन्तान छन्। कसलाई बढी माया गर्नुहुन्छ? तपाइको जवाफ, समान रुपमा माया गर्छु भन्ने आउँछ। तपाइको जवाफ बिल्कुलै झुट हो। होइन भने परिक्षण गरेर हेर्नुहोस। तपाइका दुइ मध्ये एउटा सन्तान ज्ञानी छ। अर्को अलिक झगडालु बानीको छ। अनि तपाइँ कसरी ट्रिट गर्नुहुन्छ ?

कुनै स्वादिष्ट भोजन पाक्यो। अब के गर्नुहुन्छ ? यो ज्ञानी छ, यसलाई एकछिन पछि दिए पनि हुन्छ। त्यो अर्को अलिक झगडा गर्छ पहिला त्यसलाई देउ। कुनै नयाँ कुरा किनिदिनु पर्यो, यो ज्ञानी छ माग्दैन पछि किनीदिए हुन्छ। अर्को झगडा गर्छ पहिला किनिदिनु। अनि यस्तै थप्दै जानु, यो ज्ञानी छ भनेको मान्छ खाना पछि दिनु, अर्को मान्दैन पहिला दिनु। यो ज्ञानी छ यसको बर्ड दे गिफ्ट जे भए या नभए पनि मान्छ तर अर्को मान्दैन उसलाई जसरी भए पनि किनिदिनु। यस्तै यस्तै धेरै हुन्छन। अनि ज्ञानी हुनु, भनेको मान्नु र सोझो हुनु भनेको घाटा नै घाटाको जिन्दगी जीउनु हो। अब आफ्नै घरमा पनि न्याय हुन सक्दैन भने समाज र देश-विदेशमा त कुरा नै छाडौ।

अब हाम्रो समाजमा हेर्नुहोस्। फलानो झगडा गर्छ, खोट लगाउँछ अरुलाई न भए पनि उसलाई चाहिँ दिनु। फलानो/फलानी त भनेको मान्छ/मान्छे केही फरक पर्दैन, नभए पनि हुन्छ। तर फलानो-ढिम्कानो मान्दैन उसलाई राम्रोसँग बिचार गर्नु। अब, जो सोझो उसैको मुखमा घोचो भने जस्तै हुन्छ।
अब हाम्रो राजनितीमा पनि गएर हेरौं। फलानो मेरै मान्छे हो, मैले जे भने पनि मान्छ, यसलाई केही पर्दैन। यो पटक म भनेर मनाउँला। त्यो फलानो बिद्रोही छ उसलाई टिकेट दिएन भने फेरी तनाव दिन्छ। पटक्कै मान्दैन उसलाई मनाउनु जे जे दिएर भए पनि मनाउनु। अनि त्यसै गरिन्छ।

योगदानलाइ बदर बिद्रोहीलाइ कदर भनेको सावित भएको छ।

 

अब भोज-भतेरमा पनि हेरिहालौं न त। फलानो/ढिस्कानी त जे पनि खान्छ, मीठो न मीठो भन्दैन जे दिए पनि हुन्छ। बरु फलानो चाँहि जे पायो त्यो खान्न, कुरा काट्छ, हाम्रो इज्जत जान्छ उसलाई राम्रो ख्याल गर्नु। मीठो मसिनो हेर्दिनु नत्र पछि अप्ठेरो पार्छ। फलानो इमान्दार छ जस्तो भए पनि लिन्छ तर फलानो बेइमानी छ के न के खोट लगाउँछ। उसलाइ अलिक राम्रो छानेर दिनु।

 

अब इमान्दार हुँदा पनि घाटा छ

अब पत्रकारका कुरा गरौं। फलानो लाइ त कम्तिमा पनि चिया नखुवाई केही पनि लेख्दैन। बरु फलानोलाइ केहि दिनु पर्दैन, हाम्रै मान्छे हो केहि दिनु पर्दैन, तर त्यो ढिस्कानो त नदिए उल्टा-सिधा लेखिदिन्छ तेस्लाई चाँहि अलिकति हेरिदिनु। यी यी यी त सबै हाम्रै हुन केही दिनु पर्दैन। फलानोलाइ ब्लाक, फलानोलाई बियर-सियर पिलाउनु, अरुलाई त केहि पनि पर्दैन बिचरा पानी दिए पनि मान्छन।

सोझोलाई पिठो कुरौटेलाई मिठो

चुनाबकै कुरा गर्दा पनि तेस्तै हुने। अझै कुनै पदको लागि गरिने नियुक्तिका कुरा गरौँ। यिनी त हाम्री मान्छे हुन् भनेको मान्छिन/मान्छन, अर्को पटक पालो दिउँला तर फलानो/फलानी मान्दैन उसलाई यो पटक दिनु।

बाउँठोलाइ खसीको झोल सोझोलाई फर्सीको झोल

काम गरेको पारिश्रमिक लिने कुरामा हेर्नु उस्तै छ। यो त जति दिए पनि खुरुक्क लिन्छ बिचरा थोरै दिए हुन्छ, धेरै दिनुपर्दैन। त्यो चाँहि मान्दैन बबाल गर्छ जति भन्छ तेती नै दिनु।

फटाहालाई छानि छानि इमानदारलाई पानी-पानी

अब सोझा समुदाय हुनुमा पनि उस्तै छ। यो ठाउँका मान्छे त सबै हाम्रै हुन्। केहि पनि बिरोध गर्दैनन। जे भने पनि मान्छन। बरु त्यो ठाउँका मान्छे मान्दैन। त्यसैले उतैतिर केही दिनु, यतालाइ पर्दैन, म जिम्मेवार भएँ।

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन

अन्तमा; यो दुनियाँमा सोझो हुनु, ज्ञानी हुनु, इमान्दार हुनु सबै घाटा नै घाटा छ। त्यसै भएर होला हिड्ने गोरुको पुच्छर निमठ्ने भनेको। आखिर जे जति भने पनि भन्नै पर्यो, ज्ञान जतिको राम्रो अज्ञान कहाँ हुन्छ र ?