हात उठाउने र ताली बजाउने बाहेक कुनै जिम्मेवारी पाइएन-महिला सांसद

Hollywood Khabar August 28,2018 Comments

१४ भाद्र विराटनगर।प्रदेशसभाका महिला सदस्यले अवसर अभावमा आफूहरूले रचनात्मक भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका छन्।विधेयक पारित गर्ने क्रममा सदनमा सभामुखले मत माग्दा ‘समर्थनमा हात उठाउने, ताली बजाउने र त्यसपछि उठेर हिँड्ने कामबाहेक थप जिम्मेवारी नपाएको’ उनीहरूको गुनासो गरेका हुन्।संघीय संसद्की उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेसँग अनुभव आदानप्रदान गर्न आयोजित कार्यक्रममा प्रदेश सांसद मीना राईले प्रदेशसभामा आफूहरू ताली बजाउने भूमिकामा मात्र रहेको बताइन्।सांसद कला घलेले‘हुन्छ’ वा‘हुन्न’ भन्ने भूमिकामा मात्र महिला सांसद प्रयोग हुनुपरेको दुखेसो सुनाइन्।

नाम र राजधानी नल्याउँदा संघीयता विरोधीले सल्बलाउने अवसर पाएको सांसद राईले बताइन्। भनिन्, ‘महत्वपूर्ण विषयको निर्णयमा ढिलाइ गर्दा संघीयतामाथि नै टीकाटिप्पणी गर्ने क्रम सुरु हुनु राम्रो होइन।’सांसद सीता थेबेले प्रदेशको नाम र राजधानी सबै प्रदेशवासीलाई समेट्ने हुनुपर्ने बताइन्। ‘यो विषय नसमेटे अबको यात्रा चुनौतीपूर्ण हुन्छ’, उनले भनिन्, ‘प्रदेश सरकारसँग जनताको निकै ठूलो आशा छ।’ सांसद उमिता विश्वकर्माले महिला, आदिवासी जनजाति र अल्पसंख्यकको कानुन ल्याउन ढिलाइ भएको बताइन्। भनिन्, ‘आवश्यक कानुन प्राथमिकता दिएर ल्याउनुपर्छ तर यो हुन सकेको छैन।’

सांसद होमकुमारी साँवाले सरकारमा महिला सहभागिता नहुनु दुःखद् भएको बताइन्। भनिन्, ‘अहिलेसम्म सरकारले पूर्णता पाएको छैन। त्यसमा महिला सहाभागिता शून्य छ।’ सरकारमा महिला सहभागिता अनिवार्य भए पनि अहिलेसम्म खासै चासो लिएको नपाएको उनको भनाइ थियो।सांसद बसन्तीदेवी यादवले महिला हिंसाका घटना बढे पनि प्रदेश सरकारबाट आसलाग्दो काम हुन नसकेको टिप्पणी गरिन्। भनिन्, ‘हिंसाका यति धेरै घटना भएका छन् तर सरकारबाट देखिने गरी खासै काम भएको छैन।’ महिला हिंसासम्बन्धी घटना बढ्नु चिन्ताको विषय भएको उनको भनाइ थियो।