-सेनाका पूर्व फोर्स कमाण्डरहरुलाई Hall of Fame सम्मान

प्रधानसेनापति थापाद्वारा सेनाका पूर्व फोर्स कमाण्डरहरुलाई Hall of Fame सम्मान

Hollywood Khabar February 21,2019 Comments

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले स्थापना गरेको Hall of Fame मा २०७५ फाल्गुन १० गते आयोजना गरिएको एक विशेष समारोह बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सम्मानित हुनु भएका पूर्व फोर्स कमाण्डरहरुको तस्वीर अनावरण गर्नु भएको छ।

उक्त तालिम केन्द्रले नेपाली सेनाबाट विगतमा विभिन्न राष्ट्रसंघीय शान्ति मिशनहरुमा फोर्स कमाण्डर तथा हेड अफ मिशनका रुपमा कार्य गर्नु भएका रथीवृन्दको तस्वीर समावेश गरि सम्मान गर्नुका साथै उहाँहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

यसरी सम्मानित हुनुहुनेहरुमा रथी कृष्ण नारायण सिंह थापा (अ प्रा), रथी भिक्ट्री शम्शेर ज ब रा (अ प्रा), रथी बालानन्द शर्मा (अप्रा), रथी पवन जंग थापा (अप्रा) र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा हुनुहुन्छ।

विभिन्न देशहरुले आ-आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरु मध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नै नेपाली सेनाले पनि सैनिक प्रतिष्ठान, खरिपाटीबाट Academy Hall of Fame को शुरुवात गरेको हो।

सोही क्रममा, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सोहि दिन वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा UNMISS (United Nation Mission in South Sudan) मा तैनाथ हुन जाने देविदत्त गण (शासे) नवौं डफ्फाका सकलदर्जाहरुको प्रि-डिप्लोयमेण्ट तालिमको ग्राण्ड रिहर्सलको अवलोकन गर्नुको साथै सैनिक प्रतिष्ठान, खरिपाटीको निरिक्षण समेत गर्नु भएको छ।

उक्त समारोहमा रक्षा सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाली सेनाका अवकाश प्राप्त तथा वहालवाला रथीबृन्दहरु, शान्ति सेना निर्देशनालयका पूर्व निर्देशकहरु, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिहरु, नेपाल प्रहरीका प्रतिनिधि लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ ।