-राष्ट्रपति हमिदलाइ स्वागत  

बंगलादेशका राष्ट्रपति हमिदलाइ काठमाडौंमा भब्य स्वागत  

Hollywood Khabar November 11,2019 Comments

२५,कार्तिक,काठमाडौं।बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आएका छन्।हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज नेपाल आएका हुन्।हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् भने हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए।हमिदको स्वागतार्थ विमानस्थलमा गर्दा हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी सहित सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए भने सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो ।विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए।हमिदले समकक्षी राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीको प्रतिनिधिमण्डलको सम्मानमा भोलि साँझ रात्रिभोजको आयोजना गरेकी छन् ।बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन्।नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र,चन्द्रागिरि र पोखराको  भ्रमण गर्ने कार्यक्रम छ ।