-Krishna KC

होष्टे धेरै नतिजा उस्तै, नेपाली डायस्पोरा समुदाय र कोभिड १९ बारे एक पिन्च झटारो

Hollywood Khabar April 26,2020 Comments

कृष्ण के सी/अमेरिका/४/२७/२०

यो पटक केहि मेरा कुरा र केहि अरुका कुरा जोडेर केहि संचार गर्ने प्रयास गरेको छु। उसो त सक्ने काम थाती राखेर नसक्ने काममा होष्टे गर्दा भार त जसोतसो उत्रने रहेछ तर नतिजाले सन्तुष्टि नपाइने रहेछ।

गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय परिषदका एकजना नेताले मलाइ सुझाउनु भयो- यूट्यूमा पाइन्छ चाणयक्य नीति हेर्नुहोस। कलेजको कुरकुरे बैंसमा नै मैले चाणक्य नीति हेरेको हो। उसो त मसँग चाणक्य मात्र होइन वेद र शुक्र नीतिका पुस्तक पनि छन। यदाकदा सकी-नसकी, जानी-नजानी कन्ष्टिपेश्न निकालेर पढ्छु पनि। सायद; यो समय नेपालीहरुको विश्वो समुदायमा पौराणिक चाणयक्य आफैं नेता भैदिएका भए हामीले सोच्ने मौका नै दिंदैनथे होलान। राम शाशित राज्य त होइन कम्तिमा पनि काम गर्नेले मात्र नाम कमाउँथे होलान। भनिन्छ राम र कृष्ण दुवै धर्म रक्षाका लागि आएका भगवान विष्णुका अवतार लिएर आएका हुन्। रामले धर्मको बाटो र कृष्णले कुटनितिको बाटो लिएको कुरा वेदका अनुवादक तिलकप्रसाद लुइँटेलले बताएका छन्।

शुक्राचार्यले चाहिँ राम र कृष्ण दुबैको धर्म र कुटनिति अपनाएकाले राक्षसहरुको नेतृत्व गरेर पनि देवताहरुलाई बारंबार हराउन सकेका हुन् भन्ने निष्कर्ष पनि रहेछ। त्यहि शुक्रनीति नै अहिलेको राजनीति हो। त्यसैले, नीतिहरुमा सबै भन्दा उत्तम राजनीति हो भनिन्छ। उत्तम नीति भएकाले नै राजनीतिले देश र विश्व चलाउँछ।

तर बदलिँदो परिस्थितिमा हाम्रो राजनीति भनेको देश चलाउने नीति भन्दा पनि दहिविनाको ठेको मथ्ने नेति भएको छ। जोड र बलले संघर्ष र युद्धका दर्जनौ नामका इतिहास बनिसके तर पनि घ्यू कुर्दैमा जीउ सुकिसक्यो। उसै पनि नीतिले काम गरेको भए दाल गाल्न दलाली गर्दै उपल्लाका निवास सोफामा कालो चियाको सुर्को तान्दै बस्नु हाल मालेको देखाउन कुर्नु पर्ने थिएन। डायस्पोरामा बसेका हामी नेपाली मुलका नेपाली जातीबीच पनि हाजिरे भएर हजुरी दिन लाइनमा बस्दैनथ्यौं होला। यसैले भएर होला प्रहरीको आइजीपीबाट रिटायर्ड भएको सम्मानित व्यक्तिलाई एउटा गुण्डाले उठबस गराउने हिम्मत गर्ने गर्छ।

अझै भन्नुपर्दा हाम्रो समाज यतिबेला गुदिबिनाको फल, रसविनाको मल, ज्ञानविनाको ब्यास र पानीबिनाको प्यास भएर गुज्रेको छ। नेपाल राष्ट्रको धेरै पटक सत्तामा पुगेका राजनैतिक पार्टीसँग सत्तामा पुगेर देश कसरी चलाउने भन्ने दस्तावेज नै छैन। बरु राजा बिरेन्द्रले एसियाली मापदण्ड जस्ता कम्तिमा पनि लक्ष त दिएका थिए तर अहिले त त्यो पनि छैन। त्यो बखत नेपालको मिश्रित अर्थतन्त्रको नीति थियो तर अहिले त कुनै अर्थ नीति नै छैन।

पार्टीको बिधान एकातिर छ पार्टी अर्को तर्फ चलेको छ। देश र नागरिकको आवश्यक्ता एउटा भयो नेतृत्वको कौडाले दाउ अन्तै हान्दैछ। नतिजामा हेर्दा पाइने कुरा पनि अचम्मका छन्। काँध हाम्रो छ तर तोप अर्कैले पड्काउँछ। बारी हाम्रो हो, जग्गाधनी पुर्जा हाम्रै हो तर रोपो अर्कैको हुनेगर्छ। बाख्रा हाम्रा नै हुन् तर बोका अरुका, गोरु हाम्रो तर हली अरुका छन्। खुट्टा हाम्रा जुत्ता अरुका, नून हाम्रो स्वाद उताको आउने गर्छ। सबैभन्दा ठूलो कुरा त नागरिक हाम्रा तर नेता अरुका भएका छन्।

यस्तैगरी, अहिलेको हाम्रो नेपालीहरुको विश्वो समुदाय पनि विना कामको नामका लागि होडबाजी गर्दैछ। अनि हाम्रो नेपालीहरुको संयुक्त राष्ट्र संघ पनि उदारो फोटो मागेर आफ्नो फेसबुक र ट्वीटमा अरुले लेखिदिएको स्टाटससँगै राग मिलाएर टाँस्दै छ। सिमे भूमे फु-- भनेर हानेको काला जादुको जन्तरकारिता पनि एकाद मिल्दो रहेछ। त्यसैबाट कोरोना भाइरस रोग-कोभिड १९ को लाज छोप्न केराको पातको लंगौटीले लगाएर लाज छोप्न ब्यस्त छ। नाक र मुख मास्क्ले छोपेर घरमा आदेशको कालो चस्माले आँखा ढाकेर बस्दा छोप्नुपर्ने अङ्ग नछोपिएको प्रष्टै देखिन्छ। कोभिड १९ का रोगि त जेनतेन बच्लान तर केराको पातको लंगौटीले इज्जत बच्ला जस्तो छैन।

हुन त आजकल देब्रेपंथीहरुको चलचित्र चलेको छ। त्यसैले होला एक पार्टीको दुइ अध्यक्षका एक-एक तिहाइ जोडेर दुइ तिहाइको राज चलेको छ। भान्छा र भान्छे आफ्नै भएपछि जे जे पनि पकाए भयो। दाल गलाएर राखे पनि भयो बीच बीचमे नुन चाखेर थपे पनि भयो। बस एउटा आदेश र अध्यादेश दिए पुग्छ, काम नलागे भोलिपल्ट देश र जनताको लागि भनेर फिर्ता लिए पनि हुन्छ। अचम्मको कुरा, दिंदा पनि देश र जनताको लागि भन्ने अनि निकम्मा भएर फिर्ता लिंदा पनि देश र जनताको लागि ?

हुन त आफ्ना देशका मदन भण्डारी, पुष्पलाल र मनमोहनलाइ नमानेर १००/२०० वर्ष पुराना असफल तानाशाहको फोटोमा आफू नास्तिक भएता पनि पुजा गर्दैनथे होलान। कोरोना चाइनाबाट सुरुवात भएकोले होला बच्न लगाउने फेस मास्कलाई पनि मार्क्स बुझ्दिने रहेछन। लेनिनलाइ बिगारेर घरमा बसेकालाई लिनहिन वनाएक होलान। मजम्दार कुरा त माओलाइ पनि आजकल त नयाँ शब्द मओ (महेश-ओली) भन्ने गरिएको छ रे। हालत देखेर होला दुनियाँ आक्रान्त पार्ने कोरोना पनि आफैं भागेर दुला छिर्ला जस्तो छ।

अब कुरा बदलेर अर्कैतिर लागौं; एउटा प्रश्न उठ्छ कि जनता र नागरिकमा हुने फरक के हो ? यहि फरकको जड हो अहिलेको नेपालीहरुको विश्वो समुदायको राजनीति। मेरो बुझाइमा, जनता भनेको अधिकार बिनाको भिड हो। नागरिक भनेको एउटा देशको अधिकार र सम्मान भएको स्वतन्त्र व्यक्ति हो। कम्युनिष्ट राज्य सत्तामा नागरिकहरुको अधिकार हुँदैन। त्यो अर्थमा कम्युनिष्टहरुले नागरिकलाइ जनता भन्ने शब्द चलाउँछन्। उसै पनि मलाइ जनता भन्ने शब्द मन पर्दैन त्यसमाथि पनि कम्युनिष्टहरुले चलाउने भएपछि आफूले नागरिक भन्ने शब्द चलाउने निर्णय गरको हुँ।

त्यसै समुदायबाट हुर्केका हामी नेपालीहरुको प्रतिनिधिमुलक संस्था गैरआवासीय नेपाली संघ पनि यस्तो कुराबाट अछुत्तो भने रहेको छैन। यहाँ पनि केहि गुट र टसल्लि थिए र छन्। २०१९ को अक्टुवरको महाधिवेशनमा त काँग्रेस कम्युनिष्टको पक्ष र विपक्षमा नै खुल्ला मत माग्ने काम भएको हो। त्यसपछिको नतिजा जे सुकै आएता पनि मिश्रित समुह आएकोले धेरै व्यक्ति आसावादी थिए र छन्। स्थानीय तह देखि आएर महासचिव हुदै दुइ-दुइ कार्यकाल उपाध्यक्ष भएर अध्यक्ष निर्वाचित भएका कुमार पन्तप्रति सबैको आशा लाग्नु स्वभाविक पनि हो।

त्यसैले होला पदाशनको कार्यक्रममा पुर्व अध्यक्ष जीवा लामीछानेले यो पटकको नेतृत्वलाइ एकदमै मौका र चुनौती दुवै एकैपटक आएको बताउनु भएको थियो। नयाँ र अनुभवी दुवैको मिश्रित नेतृत्वको मौका पाउनु भएका अध्यक्ष पन्तलाइ चुनौतीको सामना गरेर उद्गगम र नयन पाइलामा पुर्याउने मौका अझै पनि छ। केवल दरिलो पाइला टेकेर सक्ने काम मात्र गर्ने र जे गर्छु भनेको हो त्यो पुरा गर्न नेतृत्व गर्ने हो भने राम्रो नतिजा हात लाग्छ।

हुन त यहाँ हजार खेल चल्दै गरेका छन्। कोरोनाले गर्दा कतिपय खेल रोकिएका छन्। कतिको कोभिड १९ ले संक्रमित बनाएको पिडा छ, कतिको ज्यान गयो दु:खको अवस्था छ। कतिलाई नेपाल फर्कने समस्या छ त कतिलाइ भोलिको जोहो गर्ने सुर्ता छ। तर पनि सयौं बिचौलियाको सुर्किन छाडेका छैनन्। पाडो पाएपनि पाडी पाएपनि भतुवालाई बिगौति भन्ने उल्खान अझै पनि जीवित छ। अझै पनि एउटा आदेश चाइएको छ जसको जे जिम्मेवारी हो उसले त्यो पुरा गरोस। धेरै धेरे होष्टे गर्दा पनि नतिजा उस्तै छ। नेपाली डायस्पोरामा गसिप र खलबली चलेको छ। कृष्णार्पण !