-Tirtha Raj Adhikari

जगत् चिडियाखाना

Hollywood Khabar March 27,2020 Comments

-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, मार्च २८, २०२०

पर्खालमा छन् अझ तार जाली
छ बन्द बाटो तन छैन लाली
चरा यहाँ छन् बिचरा बनेका
छन् प्वाँख के भन्नु र कक्रिएका ? १।

छन् बाघ नंग्रासित नै गलेका
छन् सिँह उस्तै चितुवा ढलेका
हुन् भालु वा स्याल कि वा बिराला
हुँडार होऊन् सब छन् निराला ! २।

देखिन्न केही गजराज काज
छ दिक्क एक्लै मनको निराज
निष्प्राणजस्तै अझ सर्प ,गोही
देख्लान् कहाँ सुन्दर स्वप्न केही ? ३।

हिलो र मैलो ढलको उपर्ना
ओढेर सुत्छन् दिनरात अर्ना
चिनिन्न गैँडा मलमा छ डल्लो
जता दियो दृष्टि उतै छ खल्लो ! ४।

कडा लिओस् तीर तथापि दुम्सी
कुनातिरै लत्रिरहेछ गुम्सी
न वानरै चंचलको छ खेल
रच्छन् विधाता किन जालझेल ? ५।

छेवै परे दर्शक आश गर्छन्
मुन्टो उठाई मन ताप भर्छन्
ऋणी बनाईकन मिर्गलाई
को खेल्न आयो जगमा रमाई ? ६।

आहालमा हाँस कता रमाऊन् !
सफा कहाँ यी जल भेट्न पाऊन् !
छ नाम घोडा वनपालुवाको
हो बास कस्तो जड बालुवाको ? ७।

छ के यहाँ ? जीवन छैन सास
अव्यक्त बाधा सब छन् उदास
हो चेतनाको कुन यो कमाइ ?
आनन्द कस्तो चिडिया समाई ? ८।

होला यहाँको कुन शोक बुझ्ने ?
होला यहाँको कुन भोक बुझ्ने ?
बोल्ने कराए अधिकार पाए
लाटा बने यी अनि मार खाए ! ९।

धिक्कारजस्तो अभिसारजस्तो
प~यो यिनैमा किन वज्र यस्तो ?
भेटिन्न केही अपराध कर्म
यी मान्न आए कुन दैव धर्म ? १०।
 

जन्जालको जाल बनाउने को ?
स्वतन्त्र यी प्राण ढलाउने को ?
उद्दण्डमा दण्ड दिलाउने को ?
बोल्यो यहाँको अधिकारमा को ? ११

(छन्द:उपजाति )
(साभार:सत्ताका किनाराहरू-कवितासंग्रह - २०७० बाट)

**तीर्थराज अधिकारीका अरु कविता**

जगत् चिडियाखाना

उभिएकै छन्-बिचरा बुख्याँचाहरू

आफन्त

तिमी खुसी नै छौ

आगो उसै जन्मिँदैन

उस्तै-उस्तै रूपहरू

माया, नाता र आफन्तहरू

लिफ्टबाट झर्दै

कलाकार नेताहरू

मेरो प्रजातन्त्र

नवजीवनको प्रतीक्षामा

डाक्टर साहेब

यसरी उठ्छ यथार्थ

बुद्धिजीवी:अनौठो किंवदन्ती

भीमोदय

पानी

पाठशाला कता खोजौॅं

आज नेपाल बन्द छ ! (४)

आज नेपाल बन्द छ- ३

आज नेपाल बन्द छ- २

आज नेपाल बन्द छ-१

मकैका फूलहरू

सपनामा हराएको बिपना

बोटको अठोट

भलिबल

भ्रमजाल

भेडा र गोठालाहरू

सत्ता

के प्रयोजन

स्वतन्त्रता !

राजनीतिका जुवाडेहरू

कवि र दुनियाँ

सलाम मुटुका मालिकहरूलाई

घडीको टिकटिक

बग्गीका घोडाहरू