साङ्केतिक तस्बिर साभार वेब

लकडाउनका कारण जाजरकोटबाट विभिन्न जिल्लामा मजदुरीका लागि गएका डेढ सय मजदुर अलपत्र

Hollywood Khabar April 01,2020 Comments

२० चैत्र जाजरकोट।रोजगारीको लागि मजदुरी गर्न गएका जाजरकोटका डेढ सय बढी मजदुर विभिन्न जिल्लामा अलपत्र परेका छन्।जाजरकोटबाट नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, तनहुँ, पर्सा आदि जिल्लामा काम गर्न गएका मजदुर लकडाउन कारण अलपत्र परेका हुन्।गाँस र बासको समेत समस्या परेको भन्दै उनीहरुले उद्धारका लागि आग्रह गरेका छन्। लकडाउनका कारण खान बस्न र घर फर्कने अफ्ठ्यारोका कारण उनीहरुको दैनिकीमा समस्या हुँदै आएको नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले बताए।उनका अनुसार नुवाकोटबाट जाजरकोट आउने भनेर जगतिपुरका कृष्ण आचार्य समेतको समूह नारायणघाट सम्म पैदल पुगेपनि गाडी नभेटाउँदा उनीहरु नारायणघाट मै अलपत्र परेका छन्।जिल्लाको नलगाड २ डाँडा गाउँका २१ जनाको समूह नुवाकोटको पञ्चकन्यामा अलपत्र परेका छन्। 

काठमाडौं महानगरपालिका ३२ बालकुमारी पुल वारी नलगाड नगरपालिकाका तिलक कामीसहित २० जनाको समूह अलपत्र छ। भक्तपुर नयाँठिमीको कमेरेटारमा जगतिपुर, पुन्मालगायतका ४५ जनाको समूह अलपत्र अवस्थामा छ।काभ्रेको मण्डन देउपुर मा भुरका गौरीबहादुर केसी लगायत २१ जना को समूह अलपत्र छ।सिन्धुपाल्चोकमा पुन्माको १८ जनाको समूह अलपत्र छ ।

तनहुँको भानु नगरपालिकामा नलगाड नगर पालिकाका धनबहादुर चदारा लगायतको २० जनाको समूह अलपत्र परेको छ।पर्साको वीरगञ्जमा जगतिपुर र भुरको एउटा समूह अलपत्र परेको नेता आचार्यले बताए।उनले भने, 'सबै मजदुरका साझा समस्या छन्।उनीहरु सँग खानालाई रासन छैन, घर जान गाडीको पास मिल्दैन त कतिपय सँग भाडा समेत छैन।'  

केही दिनअघिसम्म मजदुरलाई घर र्फकन पास व्यवस्था गर्दै आएको जिल्ला प्रशासन कार्यालयले पास दिन बन्द गरेका छन्।खान बस्नको समस्या भएको बेखर्ची भएर आफूहरु समस्यामा परेको मजदुरले गुनासो गरेका छन्। 
बेखर्ची भएर हामी साह्रै समस्यामा परेपछि नारायणगढमा कसो गाडी नभेटिएला भनेर नुवाकोटबाट पैदलै हिडेर नारायणगढ पुग्यौ तर गाडी नपाउँदा अलपत्र परेका छौ जाजरकोट भेरी नगरपालिका जगतिपुरका कृष्ण आचार्यले भने, 'घर पुरयाइ दिएको भए बरु होम क्वारेन्टाइनमा बस्थ्यौ ज्यानको माया हामीलाई पनि छ ।'

ठेकेदारले बजेट निकासा नभएको भन्दै काम गरेको अवधीको ज्याला नदिएपछि आफुहरु समस्यामा परेको नलगाडका तिलक कामीले भने अर्काको ठाँउमा हाम्रो समस्या कसले बुझिदिने।लकडाउन भए देखि ठेकेदार समेत सम्पर्कमा नरहेको उनले गुनासो गरे।आफुहरुलाई उद्धार गरि घर जाने वातावरण मिलाईदिन उनले आग्रह गरेका छन्। नेता आचार्यले पनि सके सुरक्षित तरिकाले घर पुरयाईदिन र त्यसो गर्न नसके मजदुरहरु जहाँ छन् सुरक्षित तरीकाले बस्ने र खाने ब्यवस्था मिलाईदिन सरकार सँग माग गरेका छन्।