तस्बिर साभार वेब

जनकपुर आइपुग्यो रेल, नेपाल सरकारलाई हस्तान्तरण

Hollywood Khabar September 17,2020 Comments

२ असोज धनुषा । एउटा इन्जिन र चारवटा बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ ।बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा नै यो पहिलो हो ।

जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुई सेट रेल सो कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्ने रेल विभागका माहानिर्देशक बलराम मिश्रले जानकारी दिए । जनकपुरको पुरानो रेल्वे स्टेशनमा रेल हस्तान्तरणका लागि एक कार्यक्रमको आयोजना गरिएको छ ।बहुप्रतिक्षित रेल जनकपुर आइपुगेपछि हेर्नका लागि स्थानीयवासीको व्यापक घुँइचो लागेको छ । 

नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल भारतको पटनास्थित हाजीपुर स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो । रेल विभागले २०१९ को मे महिनामा रु ८४ करोड ६५ लाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । इन्जिनसहित ६ वटा बोगीमा एकपटकमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रु यात्रा गर्नसक्ने र प्रति बोगीको सिट क्षमता ७५ रहेको बताइएको छ । यसअघि नेपालमा कोइला इन्जिन भएको रेल चल्ने गरेको थियो जुन विगत ६ वर्षदेखि बन्द अवस्थामा छ । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्कने बिजुलीबाट चल्छ ।

महानिर्देशक मिश्रका अनुसार सबै तयारी समयमै पूरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिन्छ । सरकारले २०७५ को पुसबाट जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा दुरुस्त अवस्थामा छैन । २०७५ मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ । कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट ब्रोडगेज लिक निर्माणको काम शुरुवात भएको थियो । ३५ किलोमिटरको रेलमार्गमा ब्रोडगेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेशनहरु तयार नै छन् । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि निर्माण गरेको छ ।

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसका लागि १२९ कर्मचारी भर्ना गरिँदैछ । कर्मचारी भर्नाका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी विज्ञापन समेत निकालेको छ । रेल्वे विभागले तीन दिन अगाडि मात्रै एक सय २९ कर्मचारी राख्न दरखास्त माग गरिसकेको छ । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ ।

यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपाल कै रहन्छ । कम्पनीमा अहिले रेल्वे इन्जिनीयरसहित मेकानिकल इन्जिनीयर, चालक, स्टेशन म्यानेजर, टिकट काट्ने र जाँच्नेलगायत कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जनाएको छ ।

भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माण गरिएको छ । यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत असोज २६ गते मालबाहक रेल गुडाएर परिक्षण गरिएको थियो । रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको थियो । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ ।