Hollywoodkhabar advertisement

जङ्गल

-Tirtharaj Adhikari
0
shares

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ/११/१८/२०

घना जङ्गलभित्र
सिँह,बाघ र भालुहरूले
कति कतिका जीवन रित्याए
त्यो अरण्यरोदन कसले सुन्यो !
जीवन प्यासले ती कति छटपटाए !
त्रासले ती कति चिच्याए !
चीत्कारको कुनै आलेख छ ?
निर्दयी काल त्यहाँ कति छि~यो
त्यसको कतै लेखा छ ?

त्यस रणभूमिमा
नङ्ग्रा र दाह्राभन्दा बढी
अरू के छ !
प्राचीन/ अर्वाचीन रीत
जङ्गल उही हो
पुतलीहरू फूलका रस चुस्छन्
र, बदलामा झुसिल्किरा पैँचो तिर्छन्
बाठा कागका फुल चोर्ने
कोइलीहरू त्यहीँ छन् ।

मृगशावकहरूमा
सुखको निद्रा छैन
निरङ्कुश मत्ताहरू
छट्टू ब्वाँसा र स्यालहरू
कुनै विधानमा बाँधिएलान् ?

जङ्गल फाँडियो
गाउँ बस्ती बस्यो
गाउँ उचालिएर सहर उज्यालियो
आकृतिका मानव बस्तीमा
तर नियत र स्वभावहरू
उही जङ्गलका पृथक् छैनन् ।

बाघले बच्चा खाने
रीत उस्तै छ
सिँहका अवैधानिक आसनमुनि
दीनहीन यथावत् दण्डित छन् ।

सभ्यता ! मात्र विज्ञापित भाषा हो
वलिष्ठ वाहुपाशमा
प्राणान्त दारुण कथा उस्तै छ
मत्स्यन्याय जलको
स्थलमा उस्तै छ !
सिकारीका गुलेलीहरू
विज्ञान बजारमा
अणु परमाणुमा रूपान्तरित छन् !

यातना शिविर
आगो दन्किरहेको छ
भूगोल भस्मयात्रा अगाडि
घना जङ्गल यथावत् छ !