-Rita Sanjel

जीवनरुपि खेल मैदानमा उत्रन्छौं भने जितमा रमाउन सके जस्तै हार स्विकार्ने गर्नुपर्छ

Hollywood Khabar August 24,2019 Comments

रीता सञ्जेल, ललितपुर, अगष्ट २५, २०१९

मानिस सामाजिक प्राणी हो। ऊ समाजमा बस्न रुचाउँछ। समाजविनाको मानवीय जीवन सायद कल्पना बाहिर कै कुरा पनि हो। जसोतसो गुजारा गर्नु एकातिर होला नत्र मानव सामाजिक प्राणी नै हो। सबै कुरा वरिपरि छरपस्ट हुन्छ। खाचो त समेट्ने र सङ्गाल्नेको हुन्छ। सुन्न कान, नियाल्न आखा, बुझ्न मन-मस्तिष्क, कर्म र सहयोग गर्न एक शरीरको जरुरत पर्छ।

समाजले धेरै कुरा सिकाउछ । समाज सङ्गैको भोगाइले साथमा धेरै कुरा लुट्छ र समस्यामा धकेल्छ पनि। यस अवस्थामा समस्याले समस्या निम्त्याएको हुँदैन। समाधान खोजेको हुन्छ। तर हामी समस्यालाई भाग्यको खेल ठानेर खेल्न खोज्छौ अनि खेल्छौ र जितको खोजमा समस्या माथि समस्या कहिलेकाहीं ब्याज बनेर थपिन आउदा आतिएर हार मान्दै निराश हुन्छौं।

हामी हार्न डराउछौ। र त हारले हामीलाई जिस्काइ रहन्छ। हारले हामीलाई कमजोर बनाउछ। त्यो हार जुन गहना गलामा पहिरिएर सजिन र सजाउन जाने जस्तै जीवन सजाउने हार यहि मानेर पहिरिन जान्नु नै हाम्रो विवेक हो बुद्धि हो। शरीर सजाउन सुन, चादी, हिरा, मोति धातुरुपी गहनाको हार र जीवन सजाउन यहि हारको त खाचो हुन्छ स्वीकरौं। तर जब खेल खेल्न मानवीय जीवनरुपि मैदानमा उत्रन्छौं नि, जितमा खुशीले फुरुङ्ग भै रमाउन सके जस्तै। हारमा प्रयास निरन्तर गर्ने हौसला पनि गुमाउने हैन स्विकार्ने गर्नुपर्छ।

एउटा सानो बालक जति आतिन्छ नि एक युवा वा वृद्धमा त्यो पन कम हुन्छ। स्वभाविक हो। फलाम होस या सुन कुनै पनि धातु पिटि पिटि कुटाइ चुटाइ राप र तापले नै त आकर्षक स्वरुप या आकारमा आउँछ। मान्छे पनि त्यस्तै हो संघर्षले नै निखारिन्छ सायद यो कुरा व्यबहारिक अनि वैज्ञानिक नै मान्नुपर्छ।

मान्छेमा हर संवेग स्वभाविक हुन्छ। हासो,खुशी,रुवाइ,पिर,चिन्ता सबै सबै। बस मात्रामा घटिबढी हुन्छ । त्यो व्यक्तिगत कुरा हो । आफैंले व्यवस्थापन गर्न सक्नु सबैभन्दा उत्कृष्ट उपाए हो। कहिलेकाही अरु अरुले पनि सहयोगी भूमिका निर्वाह गर्न सक्छन् । आशा र विश्वास जगाएर। यसरी त सामाजिकपन झल्काउन सकिन्छ। न कि प्रतिस्पर्धा मात्र गरेर । सुखमा मात्तिनु र दु:खमा आत्तिनु मुर्खता सिवाए केही हुँदैन। तर हामीसङ्ग मूर्ख बन्ने विकल्पको न सोच न खोज नै समयमा आउँछ।

अरुलाई पर्दा सजिलै विना तयरी घण्टौ अनेकौं सल्लाह दिन सक्ने,अनेकौं उपाए र बाटो देखाउने हामी आफूलाई पर्दा शरीर र मन एकैपटक लत्र्याकलुत्रुक पार्न विवश हुन्छौं। औंसिका अध्यारा रातभन्दा कहालीलाग्दो अधेरी छाउछ हामीमा। हालतले हामीलाई सम्हालिन नसक्ने बनाउछ। र पनि अगाडी त बढेकै हुन्छौं यही हो साहसको जित। तर हामी जित र साहसलाई कदर गर्न सकिरहेका हुँदैनौ। यहीँनेर जीवन जीउने कलाको खाँचो पर्छ। र त्यो कला हजुरबुबा हजुरामाले सुनाउने दन्त्यकथा,पू्र्खाको जीवन भोगाइका थुप्रै कथा व्यथा र समाजका विविध जीवनशैलीले सिकाउँछ। जिन्दगी भनेकै निरन्तरको औपचारिक र अनौपचारिक सिकाइ नै त रहेछ।