-माधब खत्री, ललितपुर, जुन ३, २०२१

जीवन सहज हुन्छ भने सिक्किमीकरण, भुटानिकरण, फिजीकरण जे भएपनि वालै फरर

Hollywood Khabar June 03,2021 Comments

माधब खत्री, ललितपुर, जुन ३, २०२१

एउटा भुइँ मान्छेको लागि व्यवहारिक रुपमा नेपाल स्वतन्त्र राष्ट्र हुनु, सिक्किमीकरण हुनु, भुटानीकारण हुनु वा फिसीकारण हुनुले तात्विक भिन्नता केहि राख्दैन। भुँइ मान्छेको कागजी परिचय र प्रमाणपत्रहरुमा मात्र केहि फरक हुने हो।

भुटानीकरण भए नेपालको परराष्ट्र र सुरक्षा रननीति भारतले हेर्ने, फिसिकरण भए नेपालको कार्यकारी राष्ट्र प्रमुख कुनै भारतीय हुने र सिक्किमीकरण भए हाम्रो कागजी राष्ट्रियता, परिचय र प्रमाणपत्रहरुमा मात्र केहि फरक हुने हुन्। जस्तै आज म स्वतन्त्र नेपालको नागरिक हुँदा मेरो नागरिकता अन्य परिचय पत्र र प्रमाण पत्रहरुमा मेरो ठेगाना र परिचय; गोदवावारी नपा-३, बागमती प्रदेश, नेपाल छ भने सिक्किमीकरण हुँदा गोदावरी नपा-३, नेपाल प्रदेश, भारत हुने हो। कागजी परिचय र ठेगाना परिवर्तन भए पनि मेरो घर, परिवार, समाज, व्यक्तिगत परिचय, व्यक्तित्व, क्षमता र कर्म परिवर्तन हुने होइन।

यसको अर्थ नेपाल स्वतन्त्र राष्ट्र हुनु हुँदैन भुटानीकरण, सिक्किमीकरण वा फिजीकरण हुनुपर्छ भन्ने मेरो तर्क होइन। मेरो तर्क यो मात्र हो की भैहाले पनि हामी भुइँमान्छेलाइ केही फरक पर्दैन। भुटानीकरणको विरोध गर्नेहरुले कुनै भुटानीलाई सोधेका छौ की तिमीहरु कत्तिको खुशी छौ भनेर? सिक्किमीकरणको हवाला नेपालमा दिईन्छ तर आज नेपालीभन्दा सिक्किमी धेरै खुशी छन्। फिजीकारण भए अहिलेका नेताहरुको ठाउँमा कुनै भारतीयले नेपाल राज्यको मुख्यमन्त्रि चलाउँछ र यसले सर्वसाधारणलाइ केही मतलब हुनेवाला छैन। किनकी लुटिखाने भाँडो खोसिने त अहिलेका नेता भनाउदाहरुकै हो।

केवल नेपालमा जन्मेको भरमा केपी ओली, माधब कुमार नेपाल, शेर बहादुर देउबा, पुष्प कमल दाहाल लगायतको हामी दास हुँदानी हुने तर भारतमा जन्मेकोले हामीमाथी साशन गर्न नहुने कस्तो मानसिकता हो यो ? व्यक्तिगतरुपमा मेरो साशक कस्तो र कहाँको हो भन्दा पनि मलाई कस्तो सेवा र सुविधा दिन्छ भन्नेमा मेरो सरोकार रहन्छ।

विभिन्न करणको हवाला दिंदै रोइलो मच्चाउने र बढो राष्ट्रवादी पल्टिनेहरु नै हुन् डिभी भरेर बस्ने र साम, दाम, दण्ड, भेद लगाएर अमेरिका लगायतका देशहरुमा गायव हुने सपना देखेर बस्ने। यस्ता खोक्रो राष्ट्रवादी हुनुको कुनै तुक छैन। अहिले नेपालमा यो करण हुन लाग्यो र त्यो कारण हुन लाग्यो भनेर रोइलो मच्चाएको देखिन्छ तर यथार्त धरातलमा यी सबै करणहरुको नेपाल हाल प्रयोगशाला भईरहेको छ। कुनै एउटा करण मात्र भैइदिएको भए सर्वसाधारणको जनजीवन यति धेरै कष्टकर हुने थिएन तर सबै करणको खिचडी पाक्दै गर्दा जनता झन बढी पिल्सिएका हुन्।

नेपाललाइ पनि भारत जस्तै बरु इष्टइण्डिया कम्पनिले नै जितेको भए हुन्थ्यो, वरु भारतमै गाभिए कम्तिमा सस्तोमा गाडी त चढ्न र राशन कार्ड त पाइन्थो भन्ने जस्ता तर्कहरु पनि हिजोआज नेपाली युवाहरु बाट सुन्न थालिएको छ। के यस्ता तर्क गर्नेहरुलाइ अब लेन्डुपे, राष्ट्रघाती भन्दै लखेट्ने ? खोक्रो राष्ट्रवाद भन्दा पनि अवको पुस्ताले सहज जीवन शैली खोज्छ र यो कुनै नौलो कुरा पनि होइन।

खोक्रो राष्ट्रवादको खोल ओढेर अभाव, रोग र भोकमरीमा जीवन गुजार्नु भन्दा राष्ट्रियता परिवर्तन गरेर भए पनि सहज जीवनशैली रोज्नेहरु दिन प्रतिदिन बढ्दै जानुको प्रष्ट संकेत नेपाली नागरिका त्यागेर विदेशी हुने नेपाली युवाहरुको बढ्दो संख्या हो तर फेरि पनि विडम्बना सिक्किमीकरण, फिजीकरण, भुटानीकरणको नाइटो देखि वल लगाएर रोइलो मच्चाउने तिनै नागरिकता त्याग गर्ने हरु हुन्छन।

मेरो व्यक्तिगत धारणा त यो पुरै पृथ्वी केवल एक देश मात्र हुनु पर्छ र पृथ्वीको कुनै पनि कुनामा जान मानवलाइ पासपोर्ट र भिजाले रोक्नु हुँदैन। यो पृथ्वीमा जन्मेका सबै प्राणीहरुको यो पृथ्वी साझा सम्पति हो। नेपालको हात्तीलाइ भारत जान कुनै रोकतोक छैन, हिन्द महासागरको होएललाइ प्रसान्त महासागर जान कुनै भिसा चाहिदैन भने हामी संसारकै उत्कृष्ट प्राणीलाइ किन एक ठाउँबाट अर्को ठाउँमा जान रोकतोक?

राष्ट्रियताको नाममा सिमाना कोरेर आवतजावतमा बन्देज लगाउने, एकअर्को देशको नाममा युद्द मच्चाएर नरसंहार गर्ने फोहोरी राजनीतिको अन्त्य हुनु जरुरी छ ।

लेखकका अन्य लेखहरु:

कोभिड-१९ को महामारीमा जन्मिएको गोदावारी-हेटौंडा वहुआयामिक केवलकार आयोजना