-Giriraj Joshi

कविता लेखूँ भन्दा

Hollywood Khabar September 20,2020 Comments

-गिरिराज जोशी, गैरी गठ्ठाघर, स्वयम्भु/९/२१/२०

मैले सोचेर रोजेको जो हो आदर्श नायक
कुठाराघातमा उत्र्यो निस्क्यो ऊ खलनायक ।

खलनायकको चर्चा हुन्न आनन्ददायक
कसरी कविता लेखूँ मीठो गाउनलायक ?

यथार्थबाट भागेर कुन आदर्शमा रमूँ
भावना छ छताछुल्ल कसरी सङ्लिऊँ जमूँ ?

लाचार धमिलो छाया मात्रै छ देशभेषको
कोर्न लायक नै छैन बिम्ब यो परिवेशको ।

आँखा चिम्ली कुरा बेग्लै कथ्नुको कुन अर्थ छ
त्यस्तो के कविता लेख्नु साह्रै तीतो यथार्थ छ ।

नलेखूँ भावना मर्छ लेखूँ आदर्श मर्दछ
यही धर्मरले मेरो सृष्टिमा घात गर्दछ ।

चाटुकार जहाँ हुन्नन् र हुन्नन् नक्कली नटी
त्यस्तो मञ्च कहाँ होला जो लाग्दैन बनावटी ।

निरर्थक छ आवृत्ति राग रोमाञ्च भूलको
सधैँ वर्णन के गर्नु जून आँखा र फूलको !

संयोजित जहाँ हुन्नन् शिव सत्य र सुन्दर
घिसार्दा लेखनीलाई सिर्जनाकै अनादर ।

नहुँदा सोचिएजस्तो खुम्चियो झस्कियो मन
म कस्तो कविता लेखूँ सोच्दैमा घस्कियो दिन ।