कार्यदल प्रतिवेदनमा असन्तुष्टी सच्याउन अध्यक्षकोमा डेलिगेशन जाने तयारी

Hollywood Khabar August 29,2018 Comments

१५ भाद्र काठमाडौं।नेकपाको प्रदेश ३ र त्यस अन्तर्गतका जिल्ला कमिटीको एकता प्रक्रियाप्रति पूर्व माओवादी भित्र असन्तुष्टि चुलिएको छ।प्रदेश कार्यदलमा रहेका स्थायी समिति सदस्य अग्नि सापकोटा र केन्द्रीय सदस्य नारायण दाहालले लिएको निर्णयप्रति तत्कालिन माओवादीको प्रदेश कार्यालयका नेकपाका १० केन्द्रीय सदस्यले सामूहिक रूपमै असन्तुष्टि जनाएका हुन्।कार्यदलमा रहेका तत्कालिन माओवादी तर्फका नेताहरू सापकोटा र दाहालले निर्णय प्रक्रियामा अवलम्बन गरेको विधि, लिइएका निर्णय र छनोट गरिएका नाममा पुनर्विचार नगरिए निर्णय नै नमान्ने चेतावनी १० जना केन्द्रीय सदस्यले दिएका छन्।

एकता प्रक्रियाको कामका लागि नेकपाले तत्कालिन माओवादीकातर्फबाट अग्नि सापकोटा र नारायण दाहाल तथा एमालेकातर्फबाट अष्टलक्ष्मी शाक्य र काशीनाथ अधिकारी रहेको कार्यदल बनाएको थियो। तर माओवादीतर्फका कार्यदल सदस्यहरूले कार्यालयकै अन्य १० केन्द्रीय सदस्यसँग छलफल नै नगरी एकतर्फी नाम र नेतृत्वसहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाएपछि उनीहरूले आक्रोश ब्यक्त गरेका हुन्।

‘कार्यदलले निर्णय गर्ने होइन, प्रदेश कार्यालयमा निर्णय गरेर सिफारिस सम्म गर्ने हो, दुई नेताले एकलौटी निर्णय लिँदै सिफारिस गर्नुभयो, हामी मान्दैनौं’, एक केन्द्रीय सदस्यले भने। उनले भने ‘हामी १० जनाको मत कमिटीमा छलफल गरी अनुमोदन पछि मात्रै निर्णय पठाउनु पर्छ भन्ने नै हो।’

१० केन्द्रीय सदस्यले बिहीबार निर्णय पुनर्विचार गर्न कार्यदलमा रहेका सापकोटा र दाहाललाई भेटी आग्रह गरेका छन्। पेरिसडाँडा स्थित कार्यालयमा भएको छलफलमा कार्यदल सदस्यले निर्णय अब आफूहरूको तहमा पुनर्विचार गर्ने अवस्थामा नरहेको बताएपछि उनीहरू अध्यक्ष पुष्पकमल दाहालसम्म जाने भएका छन्। ‘हामीले असन्तुष्टि राख्यौं, तर अग्नि र नारायणजीले छलफल गरेको भए राम्रो हुन्थ्यो, गर्न सकिएन, तर त्यसरी छलफल गर्नु अनिवार्य सर्त पनि थिएन निर्णय आफूहरूको तहमा सञ्चाउन सकिदैन भन्नुभयो’, १० जना केन्द्रीय सदस्यले नै निर्णय पुनर्विचार गर्न कार्यदलमा रहेका नेताहरूको तहबाट सम्भव नहुने भए सामूहकि रूपमा अध्यक्षसँग डेलिगेशन जाने प्रस्ताव बिहीबारको छलफलमा राखेका थिए। तर दुबै नेताले उक्त प्रस्तावलाई मानेनन्। 

‘आफ्नै सिफारिस पुनर्विचार गर्ने प्रस्ताव लिएर नैतिकरूपमा पनि हामी जान सक्दैनौं, तपाईहरू जान सक्नुहुन्छ’, बैठकमा नेता सापकोटाले राखेको भनाइ उदृत गर्दै ती नेताले भने, ‘उहाँहरू नगए पनि अब हामी अध्यक्षसँग कार्यदलको रिपोर्ट नमान्ने प्रस्ताव लिएर जान्छौं।’ अध्यक्ष दाहालसँग उनीहरूले शनिबारसम्म आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन्।