-आशंका नगरौं काठमाडौंमा निर्धारित समयमै पानी आउँछ : खानेपानी मन्त्री

आशंका नगरौं काठमाडौंमा निर्धारित समयमै पानी आउँछ:खानेपानी मन्त्री

Hollywood Khabar November 05,2019 Comments

काठमाडौं।खानेपानी मन्त्री बिना मगरले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

केही समय अघि मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ्ग फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको काम अघि बढाएको सन्दर्भमा कामको प्रगतिको अवस्था बुझ्न खानेपानी मन्त्री मगरले स्थलगत निरीक्षण गर्नुभएको हो । मन्त्री मगरको नेतृत्वमा खानेपानी सचिव माधव बेल्बासे पनि निरीक्षणमा सहभागी हुनुहुन्थ्यो ।

यस अघि ठेकेदार कम्पनी सिएमसीले काम छाडेर गएपछि बाकी कामको ठेक्का सिनो हाइड्रोले पाएको हो । अबको एक वर्षमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरि सिनो हाइड्रोले काम सुरु गरिसकेको छ ।

मेलम्ची आयोजनालाई समयमै सम्पन्न गर्ने गरि काम रफ्तारमा अघि बढाउन मन्त्री मगरले निर्देशन दिनुभएको छ मेलम्ची आयोजनामा देखिएका समस्या समाधान गरेर सरकार अघि बढ्नेछ, उहाँले भन्नुभयो, स्थानीय जनताको मागलाई सम्बोधन गर्न सरकार गम्भीर छ । स्थानीयले सडक पिच गर्नु पर्‍यो भनेर माग गरेका छन् । यो विषयमा सडक विभागसंग छलफल चलिरहेको छ ।

मन्त्री मगरले हरहालतमा मेलम्चीको पानी काठमाडौं ल्याउने अठोट व्यक्त गर्नुभयो। सबै अवरोधहरु पन्छाएर आयोजनाको काम अघि बढेकाले अब मेलम्चीबारे दुविधा नराख्न उहाँले आग्रह गर्नुभयो ।

स्थलगत निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री मगरले भन्नुभयो, ‘मेलम्ची हाम्रो राष्ट्रिय गौरवको आयोजना हो, नेपालको प्रतिष्ठाको आयोजना पनि हो। तर, निर्माणको जिम्मा लिएको सिएमसी कम्पनिले एक्कासी हात झिक्दा हामीले अप्रत्याशित परिस्थितिको सामना गर्नुप-यो। अहिले त्यो परिस्थिति अन्त्य भएको छ, सबै अवरोध छिचोलेर मेलम्चीको काम अघि बढेको छ। अब मेलम्चीबारे आशंका गर्न जरुरी छैन।’

सिएमसी कम्पनि आर्थिक रुपमा टाट पल्टिएका कारण आयोजनाबारे हात झिक्यो, मेलम्चीको पछिल्लो प्रगतिबारे जानकारी दिँदै मन्त्री मगरले भनिन्, ‘हामीले नसोचेको परिस्थिति झेल्यौं, अब त्यो अवस्था छैन। नयाँ कम्पनिले आयोजनाको ठेक्का लिएपछि निर्माणको काम द्रूत गतिमा अघि बढेको छ। हामीले रातदिन नभनी मेलम्चीलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं। तसर्थ, हरहालतमा मेलम्ची आउँछ, अब शंका नगरौं।

मंगलबार संसदको विकास समितिकी सभापति कल्याणी खड्कासहितको संसदीय टोली मेलम्ची पुगेको थियो। त्यसको भोलिपल्ट मन्त्री मगरको टीम आयोजनाको स्थलगत निरीक्षण र प्रगति बिवरण बुझ्न मेलम्ची पुगेको हो।

२१ डिसेम्वर २०१८ मा निर्माण कम्पनिले आयोजनाको निर्माण कार्यबाट हात झिकेसँगै मेलम्ची आयोजना अन्यौलमा परेको थियो। त्यसलगत्तै नेपाल सरकार र मन्त्रालयले आयोजनाको काम छिटोभन्दा छिटो सम्पन्न गर्न विभिन्न बिकल्पहरुमा छलफल गरेको थियो। मेलम्ची विकास समितिले ग्लोवल टेण्डरका आधारमा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्न गत असोजमा चिनियाँ ठेकेदार कम्पनिसँग सम्झौता गरेको थियो। सम्झौतापछि ठेकेदार कम्पनिले निर्माणको काम अघि बढाएको हो।

गत असोज १० गते मेलम्चीको सुरुङ मार्गको काम र असोज २४ गते हेडवर्क्सको काम चिनियाँ ठेकेदार कम्पनि सिनो हाइड्रोलाई दिने गरी निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो। मेलम्चीको बाँकी काम रु. १ अर्ब ८७ करोडमा सम्पन्न गर्न सिनो हाइड्रोले ठेक्का पाएपछि निर्माणको काम रफ्तारमा अघि बढिरहेको छ। चिनियाँ कम्पनिले सम्झौताको समयावधिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्दतासमेत व्यक्त गरेको छ।

निर्माण सम्झौतामा हस्ताक्षर भएपछि ठेकेदार कम्पनिले तिहारअघि नै आयोजनाको सम्पूर्ण अवस्थाको स्थलगत जानकारी लिएको थियो। निर्माण सम्झौतामा हस्ताक्षर भएको तीन हप्ता नपुग्दै सिनो हाइड्रोले निर्माण कार्यमा गुणात्मक प्रगति गरेको छ। अघिल्लो ठेकदार कम्पनि सिएमसीले स्थानीय कामदारलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व नेपाल सरकारले लिन तयार भएपछि आयोजनाको स्थानीय अवरोध हटेको थियो।

सिनो हाइड्रोले रक डावेलको काम सुरु गरी हेड वर्क्सको फाउण्डेशन ब्लाष्टिङको तयारी गरिरहेको छ। तीन हप्ताको अवधिमा टनेलभित्र ग्राउटिङको काम पनि सुरु भइसकेको छ। कम्पनिले आयोजनाको निर्माण कार्यमा अघिल्लो ठेकेदार कम्पनिले प्रयोगमा ल्याएका हेभी इकुप्मेन्ट आवश्यकताअनुसार भाडामा चलाउने सम्झौता पनि गरिसकेको मेलम्ची आयोजनाका सिनियर इञ्जिनियर कमल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार ब्लाचिङ् प्लानका लागि ३० घनमिटरको मेशिन जडान गरी मिक्सिङको काम तयारी अवस्थामा रहेको छ।