Krishna KC

श्री ८१२ महाँकपटे गोत्रनष्टे बुद्धबदी भष्माबुद्धि कुरूपेश्वर दुर्गुणाचार्य

Hollywood Khabar November 29,2018 Comments

कृष्ण के सी, अमेरिका, जुलाई ८, २०२१

लगभग ४ बर्ष पछि यो लेख जुलाई ३, २०२१ मा न्यूयोर्कमा भएको केहि मिनेटको प्रसङ्ग मिलेकाले कथा थपेर आज पून:पोष्ट गर्न मन लाग्यो। यो लेख प्रतिकात्मक हो र कसैको यथार्थमा मिलेमा मनोरंजनको रुपमा मात्र पढ्नुहोला।

यो प्रतिकात्मक लेख गत बर्ष डिसेम्बर १२, २०१७ मा पहिलो पटक पोष्ट गरेथे। त्यो बेला नेपाली अमेरिकन समुदायमा भएको अर्कै घटनालाइ मिलाएर गरिएको थियो। त्यो समय धेरैलाइ मनपर्यो अनि आज अलिकति परिमार्जन गरेर न्यूयोर्क घटनालाई मिलाएर फेरि पस्केको छु।

२०२१ को समर फन पनि सकिनै लाग्यो, न्यूयोर्क पुगियो, देब्रेपंथी र सनफ्लावरवालाहरुको चर्तिकला देखियो। एकमन त लागेको हो, यो चुनाव हार्नेहारको इमोश्नल कुरा हो। भैगयो किन पो अरुलाई दु:खी बनाउनु। तर त्यसैलाई आफ्नो पुरुसार्थ बनाउन उद्धत भएका गुटलाई हेर्दा धर नै पाइन्। फेरि बजाउन मन लाग्यो, बाजा भैरे बाजा भन्दै लेखियो।

  1. भनिन्छ लेख्ने मान्छेले पहिला आफैलाई त्याग्नुपर्छ र पूरा आफ्नो खराब र कम्जोर पाटो समेत दुनियाँ सामु नाङ्गेझार पारेर बताउनुपर्छ। आफ्नो जीवनको कुबाटो, भिरालो बारीको पाटोको साँध मिचिंदा गरेको लडाइ देखि असारे कुलोमा पानीका लागि गरेको झगडा सम्म, खोसिएको गैरीखेतको भत्केको आली अनि साँझ-बिहानको रित्तो थालीसम्म सबैलाई मज्जाले थाहा दिनुपर्छ। तब मात्र लेखकमा सही कुरा लेख्ने हिम्मत हुन्छ। होइन भने; घाटे बैद्धको धुपको धुवाँ, हाजमोलाको गोली र पुधिना त के चर्चित तिरुपतीको लड्डु पश्केर लेख्दा पनि तीते फापरको रोटी जस्तो हुन्छ, जौको सातु जस्तो हुँदैन। त्यसैले आज मैले “म” पात्र रोजे।
  2. यो दुनियाँमा म भन्दा कालाकुट अरु कोही छैन होला। मेरो अनुहार जस्तो सुकै होस तर मन चाहिं कालो, नाम पनि कृष्ण काले, बानी र मन पनि कालो। त्यसैले मैले कहिल्यै पनि अरुलाई फाइदाको काम गरिन। यो “म” भित्रै कालो बाहिरै कालो, तनै कालो, मनै कालो, सोच, दील दिमाग, काम, दाम, नाम र नतिजा सबै नै कालो। समग्रमा भन्दा मान्छे मार्ने काल भन्दा पनि भयानक बिकराल छु “म” कालो। तर के गर्नु गोराको देशमा बस्छु परियो नेपाली काले त्यसैले अफ्रिकन अमेरिकन नभएकाले ब्लाक लाइफ म्याटरमा पर्ने त कुरै भएन।
  3. एकपटक त मैले सबैलाई एउटै खाल्डोमा पुर्छु भनेर चिहान किन्न राष्ट्रिय चिहान सम्मेलन आयोजना गरे। नझुक्किनु, त्यो सम्मेलन बेद पढेर या बाजेको सेकुवामा बसेर होइन, झिनो प्रकाशको भरमा अँधेरो कोठामा बसेर हो। चिहान सम्मेलन भब्य रुपमा सफल भयो। त्यसपछि मलाइ झन् लोभ लाग्यो र मैले भित्र-भित्र सबैलाई पुर्ने र आफू मात्र काले राजा हुने योजना गरे। योजनामा म धेरै बर्ष पछाडीको स्मृतिमा पुग्छु।
  4. मेरो घरको पश्चिमतिरका डाँडाघरे काँग्रेसी काकाले झन् परार कि कुन पो साल हो अहिले याद आएन। मलाइ रुख चढेर स्याउला झार्न खुबै सिकाए। बिचराले रुख चढ्न र उच्चाईमा पुग्न हैंसे-होष्टे मात्र होइन आफ्नो काँध नै थापेर मलाइ रुख चढाए। मैले पार्टी कार्ज्यालयका चिया कुरुवा जस्तै छानो फेर्दै घाम ताप्दै रुख चढ्दै गरें। कतिबेला म सनफ्लावर जस्तै घामतिरे हेर्थें त कतिबेला चडेको रुखको टुप्पोतिर। तर मैले फेदहर्ने भने भुसुक्कै बिर्सेछ। जसै म रुखको टुप्पोमा पुगे, त्यो डाँडाघरेलाइ त भैंमा भुसुना जस्तो देख्न पो थाले। मलाइ घमाइलो हावा खुवै मन पर्यो, रुखबाट तल झर्न पटक्कै मन परेन। म ठूलो-ठूलो स्वरले कराउन लागे। लौ हेर दुनियाँ हो “म भन्दा अग्लो कोही छ ?”
  5. डाँडाघरेले त भन्दै थियो मलाई, बाबु नमात्ती है ऐले लड्छौ भनेर। मैले बालै दिइन, झन् रुख हल्लाइ-हल्लाई कराउन थाले उहु.……क्या मज्जा! झन माथि-माथि टुप्पोमा नै पुग्न मन लाग्यो। मेरो स्वरको उमङ्ग झन बढ्न लाग्यो। सुर-बेसुरमा उर्लंदा-उर्लंदै अन्तमा खर्ल्याम्म भैमा बजारिन पुगे।
  6. मेरो शरीरमा भएका २०६ टुक्रा हड्डीका ४१२ टुक्रा भए। मेरै शरिरका टुक्रेका तीखा हड्डीले मेरै शरीरका अन्य अंगका विरुद्ध घोप्न थाले। बल्ल मलाइ बद्रीनाथ, केदारनाथ, कृष्ण भगवानको तिलक लगाएका जोगी मात्र होइन भगवान शिव र माता गौरीको कैलाश अगाडीका नन्दी-भ्रिंगी, महाकाल र मसानेश्वरको पनि याद आयो।
  7. केही दिन/महिनाको उपचार पछि म निको भएँ। अब त बैसाखी पनि न नचाहिने भयो। मैले घाइते हुँदा चोकमा पुल-बोर्ड खेल्ने काइतेहरुलाई साथी बनाएको थिएँ। बल्ल तल्ल एउटा काइते टोली बनाएँ। अनि त के गजब नै भयो नि। हाम्रो टोलीलाई “थुत्ने” अफर आयो-थुत्यौं, हैसियत बढ्यो “उठाउने” अफर आयो-“उठायौं”, मूल्य बढ्यो “पड्काउने” अफर आयो “पड्कायौ” अन्तमा त चुनाबकै अफर आयो मौकामा चौका हानेर दिल, दिमाग र घर मात्र होइन सिट नै कब्जा गरियो।
  8. अब बिस्तारै मेरो जोश दिन दुगुना रात चौगुना बढ्न लाग्यो। मलाइ टोले गुण्डाबाट ठेकेदार बन्न मन लाग्यो। ए रातै, त्यो पनि काम गर्ने टेण्डरवाला ठेकेदार होर थोरै। सेटिङ्ग गर्ने ठेकदार हो-सेटिङ्ग। एउटा सेटिङ्ग मै माला-माल हुने अनि किन गर्नु भ्यालेण्टाइनको प्यार ? मैले पुराना कुरा सबै त्यागे। घरबार अनि साथी संगत सबैलाइ बालै दिइन र आवश्यक्ता पनि ठानिन।
  9. तीन पानेमा ढ्याङ्ग्रो ठोक्नेको काइते र घाइते टोलीको सट्टा नयाँ बियर र होममेड खोइला बिर्केहरुको गाँजा-भाङ्ग टोली बनाएँ। त्यो टोलीको खोइला बिर्के एक सिरिप तानेपछि भेगासको गाँजाको के काम र हजुर। अब मलाइ त्यो गोरखातिरका चिरन्जीवीवाला टेलिफोनको कमिशन किन चाइयो ? नाथे पंचायत भबनका पन्चेश्वोरबा होइन। बर्षौं नपुजेर लेउ परेका शंकर भगवानको शिवलिङ्ग पनि खोजी-खोजी भष्मासुर हुन पाउँ भन्दै वरदान माग्दै भेटी समेत चढाएर मन्त्र जप्नथाले।
  10. मैले आफूलाई श्री ३, श्री ५ या ८०० होइन। ८ र १२ दुवै नेपालीका अपसगुन हुने नबर मिलाएर ८१२ महाँकपटे, गोत्रनष्टे, बुद्धबदी, भष्माबुद्धि, कुरूपेश्वर, दुर्गुणाचार्य पदवी पाउनको लागि आराधाना गर्न थाले।
  11. हे भगवान ! हे चिरन्जीवीका कमिशन आचार्य, हे कणकणका ज्ञाता कणेश्वर, हे बंजारण! अर्जुन-अर्जुन, बिष्णु-बिष्णु, राम-राम, ओम-ओम, शिव-शिव, शंकर-शंकर सबैको चेत राख्ने। प्रभु; हरेहरे गौरीपति महादेव, हे इश्वर, हे हरिहर, हे उमा, हे भट्टहरुका राइ देवी, हे प्रमोदाय; हे ब्रम्ह: बिज्ञानी; बमबम बोल-बमबम बोल भनेर भष्मासुरको रिद्धी-सिद्धी अखण्ड पूराण गर्न थाले।
  12. अनि भगवान बम्बम्बोलले मलाइ तथास्तु:भन्नुभयो। तर पाएको त्यो ठूलो भारी बोक्न नसक्ने सुकुटे जस्तै आजकलको मेरो ज्यान त्यो मेरो नामको प्रचार भइहरुको चंगुल देखी सात्तो जान लागेको छ।
  13. मेरो घरको पश्चिम तर्फका एउटा अनलाइन प्रचार भाइले मलाइ नबोलाईकन एउटा छिन्ने तिथि गर्न लागेछन। आजकल मलाइ भातो र खादो साह्रै प्यारो लाग्छ। अनि त्यो तिथिको निम्ता नदिंदा खपी नसक्नु भयो। मेरो कन्परो १०८ डिग्रीले तातेर आयो। अनि मैले बाटामा भएका रुख-जति सबै काटेर सोतर पार्दै फ्लसिङ्ग देखि ज्याक्शन हाइट हुँदै म्यान्ह्याटनसम्म ठाउँ-ठाउँमा “नेपाल बन्द” को घोषणा गरे। फोन-टेक्स्ट, इमेल, म्यासेन्जर र अरु धेरै गर्नुजति सबै गरे। तर पनि प्रचारभाइको छिन्ने तिथि रोकिएन। गोटा दुइ-तीनलाइ त बाटो बन्द गर्न ज्याला पनि दिएको थिएँ। मुर्दारहरु त्यो ज्यालावाला त उताको कार्जेकर्ता परेछ भन्या।
  14. शंकरजीको पाउमा भेटी चढाएर र डिलेन्द्र दुइथरेको खातामा नै जम्मा गरिदिएको हो। तर भगवान विष्णुको मन्त्र त उल्टो भएछ क्यारे। थुइय म भन्दै तालु पिटेर खुइय गर्दै एक पातो पिज्जा के खाएको थिएँ पेटमा हजम भएन। मैले नै बनाएको हाजमोला गोली नेपालाँ प्रचारभाइलाइ खान दिन थाले।
  15. अब यो कृष्ण लिला रच्ने खडुस गोर्खाली कि कोर्कालीहरुको दुनियाँ उजाड बनाउन एउटा खड्यन्त्र रचे। स्वस्थानी कथाको ठाउँमा मैले इ-फिशिङ्ग कम्पनीको टिका भन्ने प्रोमो बनाएँ। गायत्री मन्त्रको सट्टा इन्द्रजाल बनाएँ अनि आफ्नै बगैंचाको होचो वृक्षको फल माथि इन्द्रजालको झटारो हान्न थाले।
  16. मनै देखि सोचे पहिला ग्रह शान्ति गर्न बद्रि केदारको नाममा भेटी लिएर गणेश होइन अर्जुन दृष्टिले कृष्णलाई फाल्दै हेम्पवाटरमा कक्टेल बनाएर पिउंदै कुमारको मयुर पूजागरे। हिमाञ्चलस्थित बद्रिआश्रम सम्झेर मन्त्र जप्तै हिमप्सारमा अवस्थित किरातेश्वर शिवको आराधना गर्दै, भष्मको तिलक लगाएर रातैभरि ताण्डब नाचे।
  17. मन्त्र त उल्टो परेछ कि क्या हो। मैले सरल रुपमा हानेको झटारो फर्केर मेरै पुर्पुरोमा टंगङ्ग बज्रियो। मिनेट भर त तोरीको फूल देख्ने गरी दुख्यो। उसै त कालो म, दुखाइले गर्दा यो दुनियाँको सबै भन्दा कालो हाँडी जस्तै नै भएँ नि। त्यो बेला म जस्तो पक्का कालो रंग भएको खरो अर्गानिक कालीदास यो दुनीयाँमा अर्को कोही थिएन होला।
  18. मन कालो भएकोले होला मलाइ काला जादु गर्न खुबै मन पर्ने। लजिकल्ली म ५०० लाइ १,५०० र १,५०० लाइ ५,००० अनि ५,००० लाइ १५,००० या त्यो भन्द धेरै सम्म पनि बनाउन सक्छु। त्यसो गर्न मलाइ नेपालका त कुरै छाडौ अमेरिकामा पनि आन्तरिक राजश्व (IRS) सम्म लैजाने हिम्मत कुनै फुच्चेमा छैन। एउटा १२ आउँचको आइसी पिउँदैमा दागा धर्छन छोटे राजनहरु।
  19. यो अनलाइनवालाहरुले कहिले काहिँ ट्वार-टुर्र गर्छन मेरैबारे। खानलाई आँ-आँ गर्ने भएर होला पक्का नाम आँ-लाइन हुनुपर्ने तर पनि अनलाइन भएकोले कतै नमिलेको जस्तो लाग्न्नेक्या आफूलाई। अन्यथा म भदौको साँढे भन्दा कम छैन। थोरै बाँझो जोत्ने गोरु होर लुते भएर जोत्ने जुवा थाप्ने ? साँढे पो हो त बाइ, असनमा पनि डुक्रने, मसानमा पनि अनि म डुक्रन थाले, ठूलो स्वरमा “डुक्राँ” !
  20. कसो-कसो मलाइ धामी बन्न मन लाग्यो। मैले एउटा जाजुल्यमान कालो मसान उठाउने धामी बोलाएँ। धामीले ढ्यांग्रो बजायो, मैले अक्षता छरे, बिचमा न्याउली करायो तर पनि जादुले काम गर्यो। जादुले गर्दा काफल मेरै बोटमा पाक्यो। भनिन्छ इतिहास जित्नेहरुको घोडा हो, हार्नेको रुन्चे भत्तेर र शोकको गरुढ्पूराण होइन। म जिते अनि दुनियाँ हा-यो, सारा समय मेरै भयो, काला जादुले काम गर्यो। दुनियाँ साला हेरेको हेरै मेरो मुठीमा, लौन कति हाँस्नु बाबै हो, खुइ---य !
  21. तर अपशोच त्यो रमाइलो समय छोटो भयो। के गर्नु बिधि पनि अचम्मको रहेछ। जे म चाहन्छु त्यसको उल्टो हुन लाग्यो। म मेनका चाहने, नतिजा उर्वसीमा जाने, म दुर्वाषा र अष्टबक्र पूज्ने, दुनियाँ भगवान राम मान्ने। के भयो कुनी मेरो मन्त्र उल्टो हुन थाल्यो। मेरो मुठ्ठीमा हुने दुनियाँ भैमा दबाउन मैले नै हानेको भकुण्डो नियन्त्रण भन्दा बहिर गयो र अन्तमा म एक्लै परे, भकुण्डो अन्तैको पोष्टमा गयो।
  22. दुनियाँले मेरो मुखमा गनीगनी एक-दुइ-तीन-चार भन्दै “पाँच” शब्द मुक्का हाने। एकजनाले त पाखुरा तानेर झण्डै च्यातेनन। मेरो कन्परा तातेर १०४ डिग्री जरो आयो। मैले पनि भए भरको शक्ति लगाएँ। तर पनि मेरो टेक्स्ट र इमेल त के कुनै पनि कुराले काम गर्न छोडे। मलाइ दुनियाँले टेर्न छाडे, सालेलाइ बर्खास्तीको पत्र काटे-बिधिले दिएन तेस्ले पनि केहि भएन।
  23. पवित्र मन्त्रले भरिएको खादा माग्दै ओड्दै हिड्ने म अपवित्र पापी अव त सबैको घृणाको पात्र बन्न पुंगे। सबैको बक्सिङ्ग हान्न झुण्ड्याइएको पोको जस्तै भएँ म, जो आउँछ प्वाङ हान्छ जान्छ।
  24. अब म खोटो सिक्क भएँ। अनि मलाइ मेरो “म” मोहप्रति बितृष्णा पैदा हुन लाग्यो। हुन त कताकता म पनि चितौने बहादुर न परे। थोरै त्यो तनहुँका नेता भन्ने कागती बुढा जस्तो हो र। म त सदां शिवकी पत्नी शक्ति स्वरुपा गौरी पो हुँ। मैले गर्जंदै स्वीकारे, यो “म” पात्रको म भएर झाडू खानु भन्दा बरु एउटा “पालीअली” (Pale Ale को अपभ्रंश) दारु खानु बेस !
  25. दुइ कौडीको “म” अन्तमा एक बोतलमा बिकें, स्स्स्स्स्स्स्स्स; सबैजना चुप लाग्नुहोस। दुइ कौडी भन्दा त एक बोतल महँगो हो नि बाइ, त्यो पनि कति गारोले पाएको बल्ल बल्ल। “प्रतिकात्मक म”