हाम्रा हावि जावीले बुझुपर्ने कोरोना भाइरको महामारी-अधिकारी

0
shares

by Krishna KC | Updated: 24 Mar 2020

110 views
-Ravi Adhikari

रवि अधिकारी/३/२४/२०

गोरा, चिल्ला, सधैं कपाल चिन्डे स्वरूपमै प्रस्तुत हुने हावी मन्डेल हलिवूडका यस्ता हस्ती हुन् जसलाई सरसफाइप्रति सामान्यभन्दा कति हो कति अत्यधिक मात्रामा सजग रहने सिक्सिके प्राणीका रुपमा हेरिन्छ। डील अर नो डील, अमेरिका गट ट्यालेन्ट जस्ता विश्वप्रसिद्ध टेलिभिजन सोहरुका प्रस्तोता, जज रहेका हावीले यो पगरि पाउनुको विशेष कारणहरु छन्।

६४ वर्षिय हावी कसैसँग हात मिलाउँदैनन। अरुबाट किटाणु सर्छ भनेर मुट्ठी-मुट्ठी जोरेर हात मिलाउने {fist bump} कलाको त ऊनी आविष्कारकै मानिन्छन्। कपाल चिन्डे पनि ऊनी फेसनका लागि बनेका होइनन्। असाध्यै स्वस्थ्य र सफा हुन्छ भनेर चिण्डिएका रे। हावीका श्रींगारकर्मीका अनुसार, उन्को अनुहारमा सिंगारपेटार दल्ने फोम हरेक दिन नयाँ हुनैपर्छ। हावी, नधोइकन पैसासमेत छुदैनन्। सिढी चढ्दा समाइने रेलिङमा त प्लेग नै भए जस्तो गर्छन्।

नेपालमा, कोरोना भाईरसको महामारी फैलिने त्रासमा अहिले जसरी अत्यधिक सरसफाइको हल्लाखल्ला मच्चिएको छ, त्यो राम्रो त हो तर केही हदसम्म अतिरन्जित जस्तो पनि देखिन थालेको छ भन्दा पनि अतिसयोक्ति नहोला। अझ धितै मारेर भन्नु पर्दा, यीनको सिक्सिको हावीभन्दा कम्ताको देखिदैन। अती गर्नु अतिचार त नगर्नु नि साथी हो!

हुनत डोनाल्ड ट्रम्प, रिस वेदरस्पून, किम कार्डासियन, ग्वेनेथ पाल्ट्रो, डेविड बेखाम, टेलर स्विफ्ट, चार्लिज थेरोन, मडोना आदि इत्यादिहरु हावी जस्तै जर्मोफोबिक बनेर सफाइको सिक्सिकोमा बाँच्न सकेका छन् भने हामी किन सक्दैनौ भन्ने तर्क, यी परजिवीतुल्य नेपाली हाविजावीले पनि देलान्। आफूलाई अरुका सामू मोडर्न र शहरीया प्रस्तुत गर्नचाहने तर धोती फुस्केको पनि चाल नपाउने यस्तालाई तराइको एउटै टुक्काको सेरोफेरोमा मात्र हेर्न सकिन्छ: "बापके नाम सागपात आ बेटाके नाम परोड (परवल)।

हाम्रा यी हाविजावीले शायद बुझ्न नचाहेको कुरो के हो भने हलिवूडका हस्ती सरहको जीवनको सपना देखेर वा जीवनस्तर खोजेर आम नेपालीको छाक टर्नै सक्दैन। र, यीनले के पनि बुझ्न जरुरी छ भने हावीको अवस्थालाई आधुनिक चिकित्सा विज्ञानले शारीरिक होइन मानसिक रोगका रुपमा ओ सी डी {Obsessive–compulsive disorder} भनेर व्याख्या गरेको छ। मानसिक रोगलाई सर्वसाधारण नेपालीले बुझ्ने भाषामा के भन्छन् त्यो चाँही भैगो नभनु होला!

कोरोना र तत्सम्बन्धी सरसफाइ वा भनौं रोकथामका उपाय भनिएका कुराहरु बारे सबैको आ-आफ्नै पाराको हेराइ/बुझाई हुनु र सोही अनुकुल व्याख्या/व्यवहार गरिनुमा पनि हाम्रो समाजमा विद्यमान धनी र गरीवबीचको पुर्नै नसकिने विकराल खाडलको अहं भूमिका रहेकोछ। तर आम मान्छेलाई सबैभन्दा बढि पागल बनाउने पक्ष के हो भने कसलाई के लागेको छ अथवा भनौं कसले के बोकेर हिंडेको छ र त्यो बोकेको चिज कसलाई सार्ने हो त्यो नै कसैलाई थाहा छैन। देखिने काग भएपनि कान कता लगेछ भनेर खोज्न जानु। यो नदेखिने कालो कोरोना कागले त कान मात्रै होइन गिदी नै लगिसक्यो भनेर कसैले भन्यो भने पनि त्यै पत्याउनु पर्ने अवस्थाको सृजना गरेको छ।

अत्यन्तै भयावह परीवेशका बीच मन्चन हुन लागेको जीवन-मरण तुल्यको यो रामलीलाका दुई प्रमुख पात्रहरु मध्ये पहिलो स्यनिटाइजर, मास्क, ग्यास, चाउचाउ, बिस्कुटको होड गर्दै भिडभाडबाट टाढा रहेर घरैमा बसेर बसिबसी पैसो कमाउन पाए मात्र जीवन सुरक्षित हुन्थ्यो भन्ने सोच्दैछ। उता दोश्रो थरि भने कोरोनाको प्रमुख लक्षण, रुघा, खोकी ज्वरो आएर पनि घर बस्ने सुविधबाट बन्चित कर्मयोगी, भगवानको हातमा आफू र आश्रीतहरुको भाग्यको जिम्मा छाडेर अझै पूरानै दैनिकिमा 'माया तिम्लाई सम्झन्छु दिनका रात' गाउँदै निर्धक्क हिंडेको छ।

समग्रमा, यो रामभरोसे ग्याङ्, बिना मस्कै ठेला ठेल्दै छ। पानीपुरी बेच्दैछ। बानेश्वर-कोटेश्वर-चक्रपथ-रत्नपर्क कराउँदै सार्वजनिक यातायातमा मान्छेलाई माछा प्याक गरे जस्तै गरी खांदेको खांदै छ। घरको छत ढलानमा हुलका हुल बांधेर पूरै परिवारको बच्चादेखि अधबैंसे र पाकाहरु मिलेर लागेको छ। किनभने बल्लबल्ल आउने छत ढलानको कमाइ र भोज उस्लाई एकबारको कोरोनाको रोगभन्दा कती हो कती लाभदायी छ। यै समूह हो जसलाई मर्नलाई एकबारको जूनीमा कोरोना आऊनै पर्दैन। काम नपाए भोकै पर्छ। भोकै भए रोगी हुन्छ। कतै रोगबाट बांची हाल्यो भनेपनि अकालमै मर्छ।

भो, तेश्रा थरिको त कुरो पनि गर्ने मन छैन। उस्ले नाफाखोरिको मौका पायो भने ...पनि बेच्न बेर लाउँदैन। हामीलाई हरेक विपदामा मर्णान्त पारेर यीन्ले आयूभन्दा धेरै बांचिसके।

अब फेरी कोल्टो फेरौं सरसफाइतिरै। अहिले जुनखाले आचरणलाई कोरोना प्रतिरोध गर्ने रामवाणकै रूपमा व्याख्या गरिएको छ त्यो त हाम्रो सामान्य स्वास्थ्य हेरचाह र सरसफाइको दायराभित्रै पर्ने परम्पराको अटूट अंग होइन र? जुत्ता घर बाहिरै फुकाल्नु; घरभित्र पस्नु अघि हात, खुट्टा, मुख राम्ररी धुनु; खानु अघि र खाइसकेपछि राम्ररी हात धुनु र मुख कुल्ला गर्नु; सरुवा रोग लाग्दा एक्लै वा थोरै मान्छेको सम्पर्कमा रहनु; बाहिरको खानेकुरा नखानु; सागपात, गेडागुडी, तरकारी, दही, दूध जस्ता स्वस्थ्यकर/पोषक सामग्रीलाई दैनिकको भोजनको हिस्सा बनाउनु; खेतबारिमा काम गरेर वा कमसेकम आफ्नो काम आफै गरेर निरोगी रहनु; जस्ता कुराहरुलाई मन्त्रसरी पालन गरेको भए हामीलाई आज हामीलाई थोरै भएपनि हलौं हुन्थ्यो कि?

तर अपसोच छ, नेपालमा जनस्वास्थ्यका बारेमा जनजागरण गराउने उद्देश्यले अत्यधिक सफल भएका निकै थोरै राष्ट्रव्यापी सफल अभियान मध्येमा, पहिलो झाडा पखाला लागेका बेला साबुन-पानीले राम्ररी हात धुने र नून, चिनी, पानीले बनेको जीवन जल पिउने र दोश्रो परिवार नियोजनको ढाल र गुलाफ वाहेक अरुको सम्झनानै आउँदैन। यस्कालागी पनि तत्कालिन पञ्चायति शासन र विदेशी दात्री संस्थालाइनै धन्य मान्नु पर्छ।

आजको दुईतिहाइको जनवादी, गणतान्त्रिक नेपाल सरकारमा त जनस्वास्थ्य सुद्ध अर्थ आर्जनको साधन, व्यापार बनेको छ जहां गरीबको हीतमै जीवन समर्पित गरेर बाँच्न चाहने चिकित्सकलाई पटक-पटक मरणासन्न हुन्जेल भोक हडतालमा बस्न वाध्य पारिन्छ। अनि, देशका स्वास्थ्यमन्त्री हाकाहाकी 'कोरोना हुनेले आफ्नो स्वास्थ्यको हेरचाह आफैले गर्नु, सरकारले केही गर्दैन' भनेर भानुभक्तिय रामायणको पारामा रावणीय बोली बोल्छन्।

नेपालले सपनामा पनि नसोचेको अवस्थामा, विकासको शिखरमा रहेको, अमेरिकामा पनि जनस्वास्थ्यलाई अत्यधिक निजीकरण गरेर अझ भनौं खुला व्यापारकै अवस्थामा पुर्‍याएकै कारण ऊ कोरोनाविरुद्धको अहिलेको लडाईंमा लरखर गर्दैछ। निजी क्षेत्रका स्वास्थ्य वीमा प्रदायक, औषधि निर्माता कम्पनिहरु र नीति निर्माताहरुको सांठगाठका कारण यहाँको जनस्वास्थ्य व्यवस्था कुनैपनि हालतमा विश्वकै समृद्ध र शक्तिशाली राष्ट्रको जस्तो लोककल्याणकारी छ भन्न मिल्दैन। हुनेलाई सबथोक, नहुनेलाई केइ न केइ!

यसो भन्दैगर्दा, मान्छेको रंग, जात, धर्म, जन्मस्थान, आर्थिक अवस्था, गैरकानूनी बसाइ आदिकै आधारमा, उपचारै नपाएर मर्नुपर्ने अवस्था भने अमेरिकामा छैन। संविधानले नै मानवाधिकारको प्रत्याभूती दिएका कारण मान्छेको ज्यान जोगाउन जस्ले, जे पनि गर्छ। खर्चको हिसाब किताब पछि हुँदै गर्छ। तर न नेपालमा जस्तो पहिला पैसा नतिरी उपचारै नथाल्ने वा बिरामी/मुर्दालाई घरै लान नदिने माफिया शैलीका स्वास्थ्य सेवा प्रदायकहरुको हालिमुहाली छ नत एम्बुलेन्सले अस्पातललाई बिरामीनै बेच्छ।

तर यै अमेरिकामा, स्वास्थ्य, शिक्षा जस्ता सेवाहरु निशुल्क हुनुपर्छ भनेर समाजवादी नारा दिने बर्नी स्याण्डर्स जस्ता राष्ट्रपतिका उम्मेदवारहरुको न डेमोक्र्याटिक पार्टीमा खैरियत छ न त रिपब्लिकन पार्टीमै। यै कारण हो युनिभर्सल हेल्थकेयर, अर्थात सबैलाई एकैनासको स्वास्थ्यसेवाको अवधारणालाई कुनै माइका लालले साकार पार्नसकेको छैन। तर अमेरिकाको नागरिकता लिनेबेलामा "तपाइ कम्यूनिष्ट हो" भन्ने प्रश्नमा "हो" भन्नुभयो भने नागरिकताको निवेदनै खारिज गर्ने व्यवस्था चाँही नेपालका अहिलेका हाइब्रीड कम्यूनिष्टहरुको राकसी चाला देखेर अमेरिकाले बनाएको भने पक्कै होइन। कम्यूनिष्टको देखाउने र खाने दांत फरक हुन्छ भनेर अमेरिकाले पाएको ज्ञानबाट न सरकार थोरै डिगेको छ न त अमेरिकी जनतानै।

अर्कातिर, वर्तमानमा कोरोना विरुद्ध खोप तयार पार्न अहोरात्र काम गर्दैगरेको, अफ्रिकामा फैलिएको इबोलाको औषधि पत्तो लगाई यस्लाई उन्मुलन गरेको सम्माननीय सोध संस्था, सेण्टर फर डिजिज कन्ट्रोल पनि त अमेरिका सरकारकै सहयोगमा चलेको छ। निजि क्षेत्रका बिल एन्ड मलिन्डा गेट फाउण्डेसनले संसारबाट पोलियो उन्मुलन र जनस्वास्थ्यका लागि गरेको नेतृत्वकारी योगदान पनि बिर्सनै मिल्दैन।

अहिलेको हाहाकारको जस्तो अवस्थामा नेपाल सरकारले बुझ्नुपर्ने गांठी कुरो चैं के हो भने, यससंगको मुक्तीकालागी कतैको सहयोग, अनुदान आउला र काम थालौला भनेर कुर्नसक्ने स्थिती त छदैछैन। विदेश नीतिको हावाला दिएर--खासगरी दक्षीणतिरको --पूरै सीमामा कडा पहरासाथ बन्द गरेर 'जिरो इन्ट्री'को नियम लागू गर्न ढिलो नै भईसक्यो। लक्डाउन भनेर पुलिसले सडकबाट मान्छे त खेदेको छ तर घर बाहिर गएर बनिबुतो नगरी भोकै मर्नुपर्ने अवस्थाका जनताले कसरी जीवन धान्ने हुन् त्यस्को चिन्ता त्यै सरकारलाई छैन।

निजी क्षेत्रमा, तिमीहरु ज्याक मा, बिल गेट्स जस्तो उदार हुन नसक्लाऊ तर राष्ट्रलाई करका रुपमा अरबौं नतिरेर पनि नेपलमै धन्दा गरेर बसेका कम्पनी र बाँकि अरुहरुले के बुझ्नु पर्‍यो भने जनता तिम्रा ग्राहक हुन्, तिनी नै नरहे तिम्रो दूकानदारी पनि रहने छैन।

तिम्रो आम्दनीको चिन्ता आफ्नो ठाउंमा होला तर यो संकटकाल हो। देश, जनता आजको अवस्थाबाट उम्किएर सामान्य जीवन बाँच्न थालेको दिनदेखि तिमी सबैलाई हावीजावीमा गणना गर्न थाले भने त्यो परिस्थिती तिम्रालागी कोरोनाभन्दा कम पक्कै हुने छैन। अप्ठ्यारो पर्दा, हुनेले नै मुठ्ठी खोल्ने हो नहुने त सधैंको कंगाल छदैछ नि।

अब मास्क लगाउने हैसियत भएकाहरुको कुरो गरौं। मास्क लगाएर तपाईंले आफुलाई जोगाउनु त होला तर जताततै पिच्च पिच्च थुकेर, स्यांक्क पारेर बाटामा फालेर वा ख्वाक्क गर्दै थु गरेर कतै तपाईं भित्रको कोरोनालाई सबैसँग बांड्दै त हुनुहुन्न। बिसन्चो जस्तो छ भने घरैमा बस्नुस्। बिरामी हुनुहुन्छ भने सके अस्पातल जानुस्, नसके अरुको सहयोग लिनुस्। आफु बच्नुस् अरुलाई पनि बचाउनुस्। कृपया, आँफु बच्ने नाउँमा अरुलाई नमार्नुस्।

एकान्तवासमा अर्थात आएसोलेसनको एक्लोपन, उदासीबाट जोगिन परिवार, साथी-संगातिहरुको संपर्कमा रहनुस्। भाईबर, फेस्टाइम, फेसबूक, स्काइप जस्ता प्रतक्ष संपर्कको आनन्द दिने साधनहरुको सदुपयोग गर्नुस्। श्रीमती, छोराछोरिको मोबाइलको लत घटाउन वा हटाउन उनिहरुसँग मनग्गे घुलमिल हुनुस। दुई हप्ताको फुर्सदी समय पाए जीवनमा केही सकरात्मक वा आफुलाई प्रिय लाग्ने काम गर्नहुन्थ्यो भन्ने सोचले कहिल्यै बिथोलिनु भएको छ भने यो उपयुक्त समय हुनसक्छ।

आर्थिक अवस्थाका कारण माथिका कुराहरुलाई 'सुविधा' मान्न वाध्य अधिकांस श्रमजिवीहरुले आफू र आफन्तलाई सक्दो बचाएर कर्मक्षेत्रमा लागिरहनुको अर्को विकल्प नहुन सक्छ। तर लड्दालड्दै बाच्नु भएछ भने यै बेला हो सोच्ने र हेर्ने: कठीन परिस्थितीमा आफ्नो दु:खमा साथ नदिने मान्छे, नेता, पार्टी, व्यापारी, कम्पनी, शहर, ठाउँ, बस्ती सबैलाई एकेकगरी चिन्नुस् र आफ्नो हात माथि पर्नासाथ ती सबैलाई चित्तबुझ्दो जवाफ दिनुस्।

अँ सांच्चै, पशुपतिनाथको जय गर्न भने बिर्सदै नबिर्सनुस्। तर आ-आफ्नै ठाउंबाट है! धन्य, ऊनी छन् र तपाईं हामी जस्ताले सास फेर्न त पाएका छौं।

**रवि अधिकारी पत्रकारीता जगतको चर्चित नाम हो। ९० को दशकमा कान्तिपुरमा र अन्तमा राहुले चिनिने उहाँ नै हो। केहि चर्चित अन्तराष्ट्रिय स्तरका पत्रकारिता समेत गर्नुभएका रवि अधिकारी धेरैले चिनेको नाम हो। उहाँ विगत लामो समय देखि सान फ्रान्सिस्को बे एरियामा बस्दै आउनु भएको छ। हुन त अधिकारी न्यूयोर्क र अन्य शहरमा पनि परिचित व्यक्ति हुनुहुन्छ। अंग्रेजी र नेपाली दुवै भाषाको पत्रकारीता गर्ने क्षमताका अधिकारीको एउटा लेखले न्यूयोर्क शहरमा नेपाली समुदायलाइ चिनाउने एउटा बिशेष योगदान रामेत रहेको थियो।

हाल आफ्नो आमाको वार्षिकीको लागि नेपाल जानु भएका अधिकारी विगत २ महिना देखि नेपालमा नै हुनुहुन्छ। नेपालको चर्चित नागरिक न्यूजका समेत सल्लाहकार रहनु भएका अधिकारीको संबन्ध हलिउडखबरमा पनि एक अभिभावकको रुपमा छ। उहाँले लेख्नु भएको यो लेख नागरिकमा प्रकाशित भैसकेको छ। आज बिहान फेसकल गरेर रवि अधिकारीले जनहितका लागि हो, यसमा कुनै संझौता छैन, कपीराइटको कुरा यो लेखमा छैन भन्दै हलिउडखबरमा समेत पोष्ट गरिदिन भन्नुभएपछि उहाँको अनुमतिले नागरिकमा प्रकाशित लेख जस्ताको त्यस्तै यहाँ पोष्ट गरिएको हो।**