-Krishna KC

कुहिएको राजनीति बिग्रेको काँग्रेस, जुमेको उर्दी, आलु सरकारको टुक्के फुर्ति

Hollywood Khabar June 10,2020 Comments

समाजशास्त्राचार्य कृष्णा के सी/अमेरिका/६/११/२०

सबैलाई थाहा छ कि नेपाली राजनीति कुहिएको चिज जस्तै ठस्स गन्हाएको छ। संसारमा नै नभएको चलन एउटा पार्टीको एउटा मात्र अध्यक्षको कुर्सीमा दुइजना व्यक्ति छन्। त्यो पनि सत्ताधारी पार्टीको नेतृत्वमा एउटा डनबादी र अर्को गनबादी बिराजमान छन।

बिज्ञ अर्थमन्त्रीले उल्टै कमिशन खान्छन भनेर संसदमा नै हल्ला चलेको देखेकै हो। बजेटको हरेक ठाउँमा कमिशन र कार्यकर्ता अनि गुण्डा पाल्नको लागि लुप होल छन्। आजकल यस्तो बिषय सामान्य लाग्छ दुनियाँलाइ अनि लेखन र समाचार बनाइयो भने समाजमा बिक्दैन पनि। नेपालमा माओबादी आतंकवादले मान्छे मार्न थालेपछि मान्छे मारेको र मरेको बाहेक अन्य समाचारले नेपालीहरुमा कुनै ध्यान केन्द्रित गर्न नै छाडेको छ।

अहिले विश्वमा नै कोरोना भाइरस डिजिज २०१९ अर्थात कोभिड १९ को महामारी छ। हुनत विश्वमा कोभिड १९ को कर्भ बिस्तारै फ्लाट हुँदै जाँदा अर्थतन्त्र खुल्दै पनि गएको छ। सुरुको तयारी नभएको अवस्थाले कठिनाइ ल्याए पनि अहिले जीवन सजिलो हुँदै गएको छ।

नेपालमा कोभिड १९ ले पहिलो फेज नै प्रवेश गरेको छैन्। ब्यबस्थापन राम्रो गर्ने हो भने सोझै फेज ३ तिर पुग्न सक्छ। तर पनि जाँचेर हो या बनाएर हो दर्जन भन्दा धेरैको मृत्यू कोरोनाको कारणले भयो भन्ने सरकारी आंकडा पढ्न पाइएको छ। तर नेपालमा कोभिड १९ को लागि गरिएको लक डाउनको बेलामा कोरोनाले भन्दा ९८.५०% धेरै व्यक्तिहरु आत्महत्याबाट मरेको आंकडा देखिएको छ।

बन्दका कारण अस्पताल जान नपाएर, झाडा-पखाला लागेर, अनिकाल र बेरोजगारीले गर्दा, बाढी-पहिरो, हुरी-बतास र सुत्केरी हुन् नसकेर कति मरे होलान त्यो त लेखाजोखा नै छैन। यस्तो बिषय आजकल कुनै समाचार नै होइन। यस्तो जनसरोकारको बिषय त नेपाल सरकारको प्राथमिकतामा नै छैन। त्यो केवल नियमित हुने कुरा हो, मान्छे जन्मन्छन र मर्छन जस्तो गर्छ नेपाल सरकार।

के पी ओली नेतृत्वको सरकार उसको काम, प्रगति, राष्ट्रियताको जगेर्ना, नागरिकको आर्थिक र सामाजिक स्तरको विकास, देश-विदेश र सर्वत्र गरिएको कामको गठजोडे हेर्दा यो सरकार निकम्मा भएको छ। यसलाई ललितपुरे काँठे ठाडो भाषामा आलु खाएको भन्ने गरिन्छ। त्यहि ठाडो भाषालाई टपक्क टिपेर उनै प्रधानमन्त्री केपी शर्मा ओलीकै टुक्का शैलीमा भन्ने हो भने केपी ओलीको सरकारले आलु खाएको आरोप लगाउन सकिन्छ।

अलिकति आशा गर्ने पार्टी भनेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस थियो। तर त्यो पनि गुटको दलदलको लफडाले झन् कुहिएको आलु जस्तो भएको छ। पंचायत फालेर प्रजातन्त्र ल्याउने उद्येश्य लिएको कांग्रेसले लोकतन्त्रमा पुग्दा पनि अर्को टार्गेट प्वाइण्ट निर्धारण गर्न सकेको छैन। अहिलेको कांग्रेसमा न उद्येश्य छ, न योजना छ, न सरकारमा पुग्ने तगडा नारा छ, न नेता मिलेका छन् न पार्टीं नै गतिमा छ, न त स्थानिय देखि केन्द्र सम्म निर्वाचित बलियो संगठन नै छ। सारांसमा भन्नुपर्दा जहिले पनि तयारी रुपमा बसेको हुनुपर्ने प्रतिपक्ष दल मुडो र भाँचिएको चुप्पी लिएर दर्के झरीमा पुरानो स्वाखु ओडेर बसेको छ।

नेपाली काँगेस पार्टीका जोश र जाँगरले भरिएका सबै नयाँ पुस्ताका नेताहरुलाई ठिमुरा ठोकेर गुटगत क्वारेण्टिनमा राखिएको छ। अनि १७ पटक हार्ने रामचन्द्र पौडेललाइ आदर्श नेता मानेर जाने कि पार्टीको चुनाव जित्ने सिट भरतपुर नगरपालिका जस्ता थुप्रै ठाउँ बेच्ने सभापति शेरबहादुर देउबालाइ आदर्श मान्ने भन्ने होडले प्रमुख स्थान पाउँछ नेपाली काँग्रेसमा।

तर विडम्वना नै हो कि नेता गगन थापा बाहेक चुनौती दिएर लड्न मैदानमा होमिने आँट नयाँ पुस्ताका नेता कसैले पनि गरेका छैनन्। सबैजना साँढेको झर्ला र खाउँला भनेर गुटको क्वारेण्टिनमा कुरेर बसेका छन्। हालको कांग्रेस भनेको लुज मोशनको बिरामी जस्तो भएको छ। यहि चालाले जाने हो भने त अझै बर्षौंसम्म नेपाली कांग्रेस सत्तामा पुग्दैन। नेतृत्वमा भएका नेतामा दम र सोच दुवै छैन अनि नयाँ नेतामा आँट छैन। अजिब नै मान्ने कुरा त विश्व प्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ जस्ता नयाँ पुस्तालाइ दबाउने कुरामा भने कदापि नमिल्ने नेताहरु देउबा र पौडेल दुवैजना मिल्दा रहेछन।

नेपाली काँगेसका नेताहरुको भट्याउने एउटा रोग छ। हरेक ठाउँमा बिपी, गणेशमान, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाले यसो र उसो गरे भनेर कथा वचन गर्छन। तर पनि उनीहरु आफूले के गरियो त्यो भने बताउन सक्दैनन्। आधा दर्जन भन्दा धेरै पटक मन्त्री बनेका नेपाली काँग्रेसका नेताहरुलाइ के के काम गरियो भनेर सोध्ने हो भने एउटा पनि उदाहरण दिन सक्दैनन्। यसर्थ नेपाली काँग्रेसको राजनीति कुहिएको आलुको बोरामा छ भन्नु कुनै आरोप हुँदैन।

अनि नेपाली काँग्रेस पार्टीको महाधिवेशन पनि कोभिड १९ मत्थर हुने बितिक्कै गर्नुपर्ने अर्को बैधानिक बाध्यता छ। यो बेला नेपाली काँगेस पार्टीका नेता र कार्यकर्ताहरुको प्रसस्तै समय छ। यसबेला काँग्रेस पार्टीको नीति, बिधान र कार्यक्रम परिमार्जन, निर्माण गर्ने उपयुक्त समय हो। तर त्यसो पटक्कै भएको छैन। कुनी के जातिको फुर्सद र काम दुवै हुन्न भने झैं सभापति देउबा देखि महामन्त्री पूर्ण बहादुर खड्का बाहेक सबैजना जुमे बैठकको कोठरिमा परिचय दिनमा नै ब्यस्त छन्। अनि ती जुमे बैठक मिडिया र पार्टीका आधिकारिक होइन, एक-दुइजना छोटे राजनहरुको हो।

पार्टी भित्र मात्र होइन, भात्री संगठन, पार्टीका एकाइ र हरेक जसो ठाउँमा पाइलै पिच्छे विवाद छ। गुट र उपगुटको कारण पानी बाराबारको अवस्था छ। त्यो सबै मिलाउने उपयुक्त समय अहिले हो र थियो। तर पनि त्यो बिषयतिर पार्टी सभापतिलाइ सुझाउने कोहि पनि छैन। सभापति शेर बहादुर देउबालाइ नीति भन्दा गुटको चासो धेरै हुन्छ उनको त्यस्तातिर ध्यान जाने कुरा नै छैन।

अजिव नै मान्नुपर्छ। राष्ट्रियता धरौटीमा छ, देशमा नागरिक जनजीवन ठप्प छ, सन्तान पढाउनको लागि नगद चाहियो घरमा छैन। त्यसैले मान्छेहरु बिदेशीएका छन्। कहिले राजनीति, कहिले जात र कहिले तथाकथित मुक्ति आन्दोलन भन्दै मर्ने र मारिने क्रम रोकिएको छैन। नागरिक जीवनको असुरक्षा बढेको छ। कुन व्यक्ति कतिबेला पिटिन्छ, मारिन्छ र फालिन्छ थाहा छैन। १३ बर्षीय निर्मला बलात्कृति भएर मारिन्छिन अनि सत्ताको आडमा अपराधीहरु उन्मत्त भएर रहन्छन। सरकारसँग जवाफ छैन।

अनि यस्तो समयमा प्रमुख प्रतिपक्ष दल भनेको नेपाली कांगेसका नेताहरु विभिन्न टोले कार्यकर्ताहरुले आयोजना गरेको जुमे बैठकमा लुकेर रात-बिरात ५/७ घण्टा बिताउन व्यस्त छन्। जनसम्पर्क समितिमा चुनाव हारेका, आफ्नो पछाडी कोहि पनि नभएका र कोभिड १९ महामारीमा एउटा सानो जरो घटाउने औषधि पनि योगदान नदिएका व्यक्तिले आयोजना गरेको जुमे बैठकमा आशन ग्रहण गर्ने व्यस्त छन् नेताहरु। यसबाट नेपाली कांगेस पार्टीलाइ कुनै फाइदा हुनेवाला छ भन्ने कुरामा बैठकक आयोजक र भाषण गर्न गएका नेता बाहेक अरुलाई विश्वास छैन। त्यसबाट केहि उपलब्धि होला भन्ने कुरामा कुनै पनि विज्ञको विश्वास छैन। न त यसबाट काँग्रेसले हारेको सीट र गुमेको सत्ता पाउनेवाला नै छ। पार्टी बलियो हुने र अरु उपलब्धि हुने पनि केहि होइन। तर पनि उनीहरु जुमे बैठकमा नियमित पुगेका छन।

नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले अहिलेको यो महामारीको समयमा पार्टीको सम्पूर्ण एक्सेस चलाएर संसार भरि नै पुग्ने गरेर पब्लिक गर्नुपर्ने सेवा, नीति र योजनाको प्रचार-प्रसार जुममा लुकेर गर्नु उपयुक्त होला भन्ने कुरामा बिरलै सहमति होला। यसका लागि पार्टी सभापति शेर बहादुर देउबा, महामन्त्री डा शशांक कोइराला, संसदीय दलका प्रमुख सचेतक बाल कृष्ण खाँड, पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा, नेता गगन थापा लगायत दर्जनौं नेताहरु चुकेका छन्, भुलेका छन्। के यसबाट कुनै उपलब्धि होला र भएको छ त ?

जवाफमा पाएको कुरा चाहिँ कुहिएको नेपाली राजनीतिमा अलमलिएर बिग्रेको नेपाली काँग्रेस पार्टी हो। कोभिड १९ को नाउँमा यस पार्टीका नेता र उपनेताहरु जुमेको उर्दी बैठकमा भुलेका छन्। अनि जुम बैठक भन्दै कोठे राजाहरुले आफ्ना नेता गन्दैमा आफू छोटे नेता बन्ने फुर्ति देखाउन कपालको लिखा केलाउन पाएका छन्। तर त्यस्ता आयोजकले कोभिड १९ पिडितलाइ सपोर्ट गरेको एउटा मात्र उदाहरण दिन सक्ने स्थिति बिरलै छ। अनि नेपाली काँग्रेसका नेताहरु भने तिनका पछाडी लुरु लुरु लागेका छन्।

अन्तमा; नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले लोकतान्त्रिक समयमा आएर कृयाशील र साधारण गरि दुइथरी सदस्यता राख्नुको कुनै लजिक होला छैन। लोकतन्त्रमा राजनैतिक पार्टीको सदस्यता कसैलाई दिने होइन व्यक्ति आफैंले पार्टीको नीति र गतिबिधि हेरेर सदस्यता लिने या त्याग्ने हो। यसरी भएका सदस्यहरुबाट चुनिएर जो नेता हुन्छ त्यो चाहिं नागरिकहरुको पार्टीको नेता हुन्छ। अन्यथा गुटको नेता भएको छ।

कृष्णार्पण !