-एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसद्वारा आठ नेतालाई जिम्मेवारी, संयन्त्रले पनि आचार्यलाइ नै सपोर्ट गर्ने

एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसद्वारा आठ नेतालाई जिम्मेवारी

Hollywood Khabar October 02,2021 Comments

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार विभिन्न पाँच वटा क्षेत्रमा ती नेताहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेश स्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई नेताहरुको नामावलीसहितको सूचीसहित पत्राचार गरेका छन् ।

जनसम्पर्क समितिहरुलाई पठाइएको पत्र अनुसार यूरोप क्षेत्रमा सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई कांग्रेसको जनसम्पर्क समिति विभाग प्रमुख पनि हुन् ।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदै छ। चुनाव को मिति भने अझै घोषणा गरिएको छैन।

कांग्रेसले यसअघि नै संघको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ। पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले स्पष्ट पारेको छ ।

आचार्यले गत २६ सेप्टेम्बरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। आचार्यको टिमबाट उपाध्यक्षहरुमा मन के सी, राजेन्द्र शर्मा, जानकी गुरुङ (महिला तर्फ), एसी शेर्पा, उपाध्यक्ष युवामा हिमाल गुरुङ या राज रेग्मी, महासचिवमा डा केशव पौडेल, सचिवमा भोमा लिम्बु, नारायण आचार्य, प्रविण गुरुङ, महिला संयोजकमा जुनु गुरुङ, युवा संयोजकमा विमला सापकोटा, मनोज श्रेष्ठ लगायतले उम्मेदवारी दिने तय भएको जनाइएको छ।