-गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

Hollywood Khabar August 26,2021 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट २६, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर २०२१ मा हुँदैछ। यो पटक अनलाइनमा मत गरेर नेतृत्व चयन गर्न संघ तयारीमा जुटेको छ। पहिलो पटक अनलाइनमा हुन लागेको चुनावमा अध्यक्षका प्रत्यासीहरु मध्ये एक कुल आचार्यलाइ गरिएका डेढ दर्जन प्रश्न र उनको जवाफबारे यहाँ उल्लेख गरेको छु।

अध्यक्षका आकांक्षीहरु मध्येका एक कुल आचार्यको पुर्खौली थलो नेपालको पश्चिम पर्वत जिल्ला हो। आफूलाई धवलागिरी क्षेत्रको भनेर चिनाउन रुचाउने आचार्यको गैरआवासीय नेपाली संघमा लामो संलग्नता रहेको छ। संघको राष्ट्रिय समन्वय परिषद बेलायतको बिभिन्न तहको जिम्मेवारीपछि एनसीसी बेलायतको अध्यक्ष, युरोप क्षेत्रको क्षेत्रीय संयोजक र पछि २०१७ मा अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भएका आचार्य २०१९ को निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए।

आचार्यले आफ्नो चुनावी प्रचार अगाडी बढाएका छन्। चुनावी कुरालाई लिएर नै उनि नेपाल पुगेका छन्। यहि अगष्ट ३०, २०२१ मा काठमाण्डौमा नै उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका छन्। यो पटक अन्तराष्ट्रिय परिषदको प्रवक्ता समेत ५९ पदाधिकारी पद मध्ये प्रवक्ता बाहेक ५८ सिटमा सहकार्य गर्नेहरुलाइ उम्मेदवार बनाएर ठूलो टिम लिएर जाने उनको योजना रहेको छ। उनीहरु मध्ये धेरैजना नेपालमा नै छन् र कतिपय नेपाल जाँदैछन्।

वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष रहेका कुल आचार्यको होमकन्ट्री भने बेलायत हो। उसो त उनका ब्यबसाय युरोपका अन्य देशमा पनि छन्। बेलायतको राष्ट्रिय समन्वय परिषद हुँदै, योरोप क्षेत्रको क्षेत्रीय संयोजक, केन्द्रिय उपाध्यक्ष समेत रहिसकेका आचार्यसंग २०१९ मा जस्तै यो पटक पनि लामो कुराकानी गरियो। कुराकानीको शिलशिलामा राखेका डेढ दर्जन भन्दा धेरै प्रश्नहरुको जवाफ दिंदै उनले भने, यो पटक सँस्थालाइ हाँक्ने योजना र आँट गरेर नै आएको छु। साथ् र सहयोग विश्वब्यापी छ, तयारी पनि राम्रो छ, जित हुने कुरामा विश्वस्त छु।

यहाँ प्रस्तुत छ कुराकानीका सार:

१. कुल आचार्य अध्यक्षको उम्मेदवारी बिचमा छोडेर सहमतिको लागि जाने हल्ला अघिल्लो पटक थियो तर यो पटक त्यो हल्ला छैन नि ?

२०१९ मा यस्तो चुनावी हल्ला चलेको थियो तर त्यो कुरा सत्य भएन, टिकेन। यो पटक म घरपरिवार, साथीभाइ र अग्रजहरु सबैसँग सरसल्लाह गरेर तयारीका साथ आएको छु। यो पटक यस्तो कुरा आउने अवस्था छैन, आउंदैन पनि। यो पटक पनि चुनावमा उम्मेदवार हुने पक्का हो। सबै तयारी भएको छ, उम्मेदवार हुने मात्र होइन जित्ने कुरामा पनि म विश्वस्त भएको छु।

२. तपाइको टिममा वर्तमान पदाधिकारी उम्मेदवार हुन आउन मानेनन् भन्छन नि के हो कुरा?

त्यसो पटक्कै होइन, यसलाई उल्टाएर बुझ्नुहोस्। साथीहरु यति धेरै छन् कि मिलाउन नै धौ-धौ परेको छ। हरेक पदमा २ भन्दा धेरै साथीहरु आकांक्षी भएका छन्। सहकार्य गर्न भनेर यति धेरै कुरा आएका छनकी त्यो भनिसाध्य छैन। साथीहरु आफैंले मेरो नाम लिएर उम्मेदवारी घोषणा गर्नुभएको छ। तर पनि अहिले नै सबै बाहिर निकालेको अवस्था भने होइन। पदाधिकारी साथीहरु, कार्यकारी सचिवालयका साथीहरु पनि चुनावी सहकार्य गर्न आउनुहुन्छ। उहाँहरुको पदीय जिम्मेवारीले गर्दा अलिकति ढिला भएको हो। अब हप्ता दिन जस्तोमा नै बिस्तारै सबै कुरा बाहिर आउँछन।

संघलाइ माया गर्ने र योगदान दिएका साथीहरुको एउटा समावेसी सहकार्य हुनेछ। अहिले भने क्षेत्र, योगदान र संघमा उहाँहरुको आवश्यक्ता जस्ता कुराहरुलाई आधार बनाएर सहकार्य गर्ने प्रयास गरिरहेको छु। केहि दिन पर्खनुहोस सबै कुरा बाहिर आउँछ। म एक्लो होइन गणको गणपति नै भएर लिड गर्न तयार भएर आएको छु।

३. तपाइले एनआरएनहरुले चलाएका मिडियालाई नगन्ने अनि अरु मिडियाले तपाइलाई नटेर्ने भन्छन नि ?

मैले प्रचार-प्रसार नै औपचारिक रुपमा गरेको छैन। अनौपचारिक भेटघाट र पत्रकार साथीहरुसँग एकल रुपमा, फोन या अन्य रुपमा कुराकानी भने भएको छ। मलाइ सबै पत्रकार र संचारकर्मी साथीहरुको सहयोग चाहिन्छ र छ। म सबैको समान रुपले सम्मान गर्छु। मैले पहिलो सुरुवात नै आफ्नो होमकन्ट्री बेलायातका पत्रकार साथीहरुसँगको भेटघाटबाट गरेको हुँ। एनआरएनभित्र एनआरएन पत्रकारहरुको सबैभन्दा अहम भुमिका रहन्छ। उनीहरुले एनआरएन सँस्था र एनआरएनहरुका कुरा बुझेका हुन्छन। एनआरएनहरुका कुरालाई प्रष्ट रुपमा राख्न सक्छन। म उहाँहरुसबैको साथ र सहयोगमा जानेछु।

४. काँग्रेसका समर्थकहरुको टिम बनाउने र तपाइको टिममा सबैजना काँग्रेसी मात्र हुन्छन भन्ने कुरा के हो त ?

पहिलो कुरा त बैधानिक रुपमा टिम या प्यानल भन्ने कुरा नै मिल्दैन। दोश्रो कुरा काँग्रेसको टिम बनाउने भनेको पटक्कै होइन। हामी मिलेर जाने सबैको सक्रियता बढाउने भनेको हो। तर आस्थाको आधारमा बिगतमा कुनै राजनैतिक फिल्डमा काम गरेका आधारमा नजिक रहेका साथीहरुको सामिप्यत हुनु भनेको स्वभाविक कुरा हो। तर म अध्यक्षको लागि आकांक्षी भैरहँदा सहकार्य भने सबैसँग हुन्छ, भएको छ। आजकल यसलाई समावेसी भन्ने चलन चलेको छ। आकाक्षीहरुको योगदान, आवश्यक्ता र क्षमताका आधारमा समावेसी सहकार्य हुनेछ। सहकार्य संघलाइ योगदान दिएका, मायाँ गर्ने र यसका मुद्धा बुझेका आकांक्षीहरुसँग सहकार्य हुन्छ। यसलाई टिम या राजनैतिक लडाइ भन्न मिल्दैन र होइन। म त्यो पक्षमा पटक्कै छैन।

५. उसो भए नेपाली काँग्रेसका नेताहरुसँग भएको बाक्लो भेटघाट चाहिं किन हो त?

त्यो कुरा सत्य हो कि मैले कांग्रेस मात्र होइन अन्य राजनेताहरुसँग पनि भेटघट गरेको छु। हामो संघको संबन्ध नै नेपाली राजनीतिको बिषयसँग जोडिएको छ। हाम्रा गैरआवासीय नेपाली नागरिकताको बिषय, मध्येपूर्वको श्रमका कुरा जस्ता सबै जसो बिषय नै राजनैतिक हो। संपत्ति अधिकार र लगानी जस्ता बिषय पनि त नेपाल सरकारसँग नै भएर गर्ने हो। यसका लागि राजनेताहरुसँग भेटघाट गर्नु कुनै अनर्थ होइन।

म मात्र होइन अन्य आकांक्षीहरुले यस्तो भेटघाट गर्दा पनि मेरो कुनै आपत्ति छैन। मिटिङ्ग भएको हो र उहाँहरुलाई हाम्रा प्रमुख मुद्धा संझाउने काम भएको हो। म आफू अध्यक्षको लागि प्रत्यासी भएको जानकारी पनि गराएको हो। यसमा लुकाउनु पर्ने कुनै कुरा छैन।

६. संघको ६ क्षेत्रमा तपाइको स्थिति कहाँ कस्तो छ ?

संघका सबै क्षेत्रमा रेस्पन्स राम्रो आएको छ। यो पटक मेरो होम कन्ट्री युके एकदम बलियो छ। आफ्नै युरोप क्षेत्र अत्यन्तै बलियो छ। अमेरिकाज क्षेत्र त झन् बलियो छ। मिडल इष्ट र ओसनिया अत्यन्तैमा राम्रो छ। एशियामा धेरै साथीहरुसँग काम गर्दैछु। अफ्रिकामा पनि एकदम सहभागिता बढेको छ। म एकदम उत्साहित भएको छु।

७. किन अध्यक्षमा नै फेरी, एकपटक खाली बसे या नउठ्दा पनि हुँदैनथ्यो?

मेरो लागि यो नै ठीक समय हो। विगत १४/१५ वर्ष देखि संघको काममा निरन्तर रुपमा छु। स्थानिय देखि केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी लिएको छु। अब बाँकी भनेको अध्यक्ष नै त हो। अब एक कार्यकाल अध्यक्ष भएर काम गर्ने त्यसपछि २०२३ मा बन्ने नयाँ नेतृत्वलाइ जिम्मेवारी दिएर खाली बस्ने हो।

८. तपाइले गत पटक पालो नकुरेको, धैर्यता भएन त्यसैले चुनावी परिणाम राम्रो आएन भन्ने आरोप छ नि त ?

पहिलो कुरा त त्यो समय हतारो होइन सहि समय थियो। भबनजी नउठ्ने भन्नुपूर्व नै मैले आकांक्षी भएको पब्लिक गरेको थिएँ। अब पालो कै कुरा गर्ने हो भने त धेरै कुरा आउँछन्। पालो मिचेको कुरा गर्दा राम थापा, रतन झा, रामेश्वरजी, भिमजी, दिपकजी, तेन्जीजी थुप्रैको नाम मिचिएकाहरुमा छन्। जहाँ सम्म मेरो कुरा छ मैले १४/१५ बर्ष संघको स्थानिय देखि केन्द्रको उपाध्यक्ष सम्म भैसकेको अवस्थामा कुर्नु नै किन थियो र ? अर्को कुरा नेतृत्व भनेको पालोले होइन क्षमताले लिने हो। त्यसैले म त्यो समय नै मेरो सहि समय थियो भन्छु।

९. तपाईको जुम मिटिङ्ग धेरै बढेको छ भन्छन तर तपाइको खुला रुपमा प्रचार चाहिं कम देखियो नि ?

पहिलो कुरा त तयारीको बैठक गर्नुनै पर्यो। कोरोनाको महामारीले गर्दा फिजिकल भेट हुन कठिन भयो, जुम गरियो त्यो सहि हो। दोश्रो कुरा मैले औपचारिक रुपमा उम्मेदवारी घोषणा नै गरेको छैन। अहिले सम्म सबै सूचनाका आधारमा साथीहरुले सपोर्ट गरेका हुन्। अब एक चरणको अवस्था सम्पन्न भएको छ। म उम्मेदवार हुने निश्चित भएको छ। अर्को चरणमा औपचारिक उम्मेदवारी घोषणा अगष्ट ३० मा गर्दैछु। त्यसपूर्व चुनाव प्रचार समिती बन्दैछ, सहकार्य गर्ने साथीहरुले मेरो प्रचार-प्रसार गरेका छन्। अब एकदम दरिलो रुपमा आउँदैछु।

१०. तपाइलाई अध्यक्षमा किन मत दिनुपर्ने, तपाई र अध्यक्षका अरु उम्मेदवारमा के फरक छ ?

संघको प्रमुख मुद्धा बुझेको छु, गैरआवासीय नेपालि नागरिकता, नेपालमा लगानी, लगानी र पैत्रिक अनि आर्जेका संपति सुरक्षा जस्ता बिषय अनि संघका धेरै बाँकी कुरा सम्पन्न गर्न पनि मेरो नेतृत्व आवश्यक छ। यस बाहेक सबै खाले कम्प्लेनहरुको निराकरण, संघमा सुद्धिकरण, पारदर्शिता, पद्धतीको बिकास, फण्ड रेजिङ्ग, एनसीसी विस्तार र संस्थाका आन्तरिक परिपाटीको बजबुतिकरणका लागि पनि मेरो भूमिका आवश्यक छ भन्ने मेरो जिकिर हो।

अर्को कुरा, एउटा व्यक्तिको रुपमा मात्र हेर्दा म र अध्यक्षका अर्का उम्मेद्वारबीच फरक नहुन सक्छ। तर नेतृत्वका बिषयलाई लिएर हेर्ने हो भने धेरै फरक कुरा छन्। मैले उठाएका र अरुले उठाएका मुद्धा, काम गर्ने शैली, संघलाइ अगाडि बढाउने कुरा, स्वार्थ र निस्वार्थका बिषय, भेदभाव र हिडन एजेण्डा जस्ता थुप्रै बिषयमा आधारभूत देखि उच्च स्तर सम्म भिन्नता छन्।

११. अघिल्लो पटक अग्रजहरुले नै तपाइलाई सघाएनन भन्छन, यो पटक के फरक हुन्छ त?

अघिल्लो पटक पनि मलाइ अग्रजहरुको साथ् थियो। म झिनो फरकले मात्र उपविजेता बनेको हो। यो पटक मेरो क्षमता र आवश्यकताका आधारमा नेतृवमा पुग्ने अवसरको सृजना हुने कुरा प्रष्ट भएको छ। अग्रजले सुझाव दिने हो र उहाँहरुले सुरु गरेका काम हामीले सम्पन्न गर्नेकुरा हुन्। नसघाउने भन्ने कुरा हुँदैन। अहिले पनि सबै अग्रज, पूर्व अध्यक्षहरुसँग मेरो कुराकानी र भेटघाट भएको छ। कुरा त्यसो होइन, सबैसँग मेरो राम्रो संबन्ध छ। वर्तमान अध्यक्षसँग पनि मेरो एकदम कुराकानी र भेटघाट हुन्छ।

अब यो पटक के के गर्ने भन्ने सबै कुरा त घोषणा पत्रमा आउनेछन्। तर पनि संस्थामा पारदर्शिता, संस्थागत बिकास, संघका प्रमुख मुद्धाहरुको किनारा, पद्धतीको बिकास र अरु थुप्रै काम हुनेछन। बिगत देखि बाँकी रहेका, निर्णय भएर कार्यान्वयन नभएका काम पुरा हुनेछन। अबको सँस्थाको स्वरुप भनेर बनाइएको भिजन २०२० लाइ अझै परिस्कृत रुपमा पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनेछु। अग्रजहरुसंग मैले छलफल र सल्लाह लिने गरेको छु, उहाँहरुको साथ र सहयोग रहेको छ र रहन्छ।

१२. संघको वर्तमान बिधान अनुसार महाधिवेशन प्रतिनिधि चयनलाइ लिएर धेरै कुरा आएका छन् नि ?

प्रश्न सहि हो, धेरै कुरा मात्र होइन धेरै संकास्पद कुरा पनि छन्। थुप्रै बिधि र बिधान मिचेर, पदिय दुरुपयोग गरेर सूचना बदल्ने र गुम्हराहमा राख्ने काम भएको कुरा आएको छ। जहाँ बिधिपूर्वक प्रतिनिधि चयन भएका छन् त्यहाँ बिथोल्ने र जहाँ एकलौटी रुपमा बिधि नै नगरी कसैले नाम टिपाएको छ त्यहाँ मान्ने काम भएको छ। यसमा मेरो भनाइ प्रतिनिधि चयन भनेको एनसीसीको अधिकारको कुरा हो उनीहरुले पठाएको कुरा स्विकार्नु पर्छ भन्ने हो।

१३. अनलाइन निर्वाचन हुने भनिएको छ, भेण्डरको कुनै ठेगाना छैन, अब यो निर्वाचन निष्पक्ष होला त ?

अनलाइन भोटिङ्गको म बिरोधी त होइन तर गैरआवासीय नेपाली संघमा भने यो उद्येश्यको बिपरितमा छ। अनलाइन निर्वाचनले हामीलाई नेपालबाट टाढा पुर्याउँछ। जे उद्येश्यले यो संघ स्थापना भएको हो त्योबाट टाढा लैजान्छ। अजै पनि अनलाइनमा जाने निर्णयले गर्दा म त्यसमा पनि तयार भएर आएको छु। धेरै कुरामा पारदर्शिताको प्रश्न चाहिं देखिएका छन।

१४. वर्तमान नेतृत्वले विश्वोको सदस्यता लिएका मध्ये ५०% को हिस्सा भएको अमेरिका, बेलायत, अष्ट्रेलिया, यूएइ, क्यानाडा लगायत देशलाइ बेवास्ता गरेको छ। यसबारे के भन्नु हुन्छ ?

यो कुरा सहि यो। संघको मुख्य मुद्धा बोकेका, सहि रुपमा अगाडि आएका, बिधि-अनुरुप गएका एनसीसीहरुलाइ नै तारो बनाएको देखियो। यो संघमा विभाजन ल्याउने काम मात्र भयो। एउटा बिधि दिने हो, त्यसलाई एनसीसीहरुले ल अफ द ल्याण्ड अनुसार कार्यान्वयन गर्दै जान दिनुपर्छ। आवश्यक्ता अनुसार फेसिलेट गर्ने हो, बाधा दिने होइन। तर वर्तमान नेतृत्वबाट त्यसो भएन स्वार्थको लागि काम गरियो।

१५. यो महाधिवेशनको प्रतिनिधि चयनलाइ तपाइँले जितेको खण्डमा के गर्नुहुन्छ ?

एक दम सहि कुरा उठाउनुभयो। क्लासिक समयामा गरिएका कुरा हाल गलत भन्न मिल्दैन तर परिमार्जन गर्दै जानुपर्छ। म अध्यक्ष भएपछि पहिलो बिधान सभामा बिधान परिमार्जन मश्यौदा प्रस्तुत गरेर डेलिगेट्स छान्ने होइन आफ्नो पंजीकृत सदस्य सबैले इच्छाले फर्म भरेर नेपाल जाने ब्यबस्थाको प्रस्ताव गर्छु। यदि कोहि पंजीकृत सदस्य होइन, उसलाई सदस्यता लिन मन लागेन तर गैरआवासीय नेपाली हो भने उसले पनि प्रतिनिधि हुन पाउँछ।

यो सय र केहि हजारका डेलिगेट्सका कुरा होइन २०/३० हजार, लाख या त्यो भन्दा धेरै गैरआवासीय नेपालीहरु नेपाल जाने र बृहत रुपमा अधिवेशन गर्ने भन्ने मेरो योजना हो। त्यसै अनुरुप योजना र काम गर्छु।

१६. तपाइँको कार्यकालमा संघको संचार र आर्थिक पाटो कस्तो हुनेछ।

संस्थाहरुको सबैभन्दा पारदर्शी गराउने पाटो नै संचार र आर्थिक क्षेत्रले हो। मेरो कार्यकालमा संचार छिटो, छरितो, चुस्त, ब्यबसायिक रुपमा हुनेछ। हाल सम्म संघको संचार हेड सहमतिका आधारमा या मिलाउने कुरामा ल्याइने गरिएको छ। त्यसबाट ब्यबसायिक रुपमा संचार भएन। अब म अध्यक्ष भएँ भने फरक रुपमा जाने योजनामा छु। हरेक निर्णयलाइ पारदर्शीरुपमा पब्लिक गरिनेछ। सँस्थाका आर्थिक, गतिबिधि लगायतका सबै प्रतिवेदनहरु पब्लिक गरिनेछन। हरेको प्रोजेक्टहरुको रिपोर्ट पब्लिक हुनेछ। हरेक सदस्य र संबद्ध पक्षले जानकारी माग्नुपर्दैन तर आफैले साइटमा गएर लिन सक्नेछन।

१७. तपाइँको समयमा संस्थाको संरचना कस्तो हुनेछ ?

बेसिक कुरामा परिवर्तन हुँदैन। तर एनसीसीहरुको अधिकार, कार्यपद्धति, निर्वाचन प्रणाली, एनसीसी बिस्तार, आम नेपालीबीच पहुँच जस्ता कुरा प्रमुख हुनेछन। यसलाई घोषणा पत्रमा ल्याउने छु। अनि घोषणा पत्र घोषणाको लागि होइन तर कार्यान्वयनको बिधि सहितको हुन्छ। त्यसलाई अनुगमन र मुल्यांकन गर्ने निकाय पनि बनाउनेछु।

१८. अरु केहि भन्नु छ ?

अब म तयारिका साथ आएको छु, धेरै कुराहरु बिचमा अड्केका छन्, तिनलाई पुरा गर्नुछ। सँस्थामा धेरै कुरा आवश्यकता र ब्यबहारिक भन्दा फरक किसिमले गएका छन्। तिनलाई सहि रुपमा लैजानु छ। प्रमुख मुद्धा अल्झेका छन् पुरा गर्नुछ। त्यसैले यो पटक सबैले सहयोग गरिदिनुहोस, नेतृत्वमा पुग्छु र संथालाई एकदम सम्मानित रुपमा लैजाने छु। म संस्थालाइ सहि रुपमा लैजानको लागि प्रतिबद्ध छु।