-NRNA ICC VP, Kumar Pant

NRNA:गैरआवासीय नेपाली संघमा सच्चा NRN छान्नुपर्छ-उपाध्यक्ष पन्त

Hollywood Khabar July 20,2019 Comments

कृष्ण के सी/अमेरिका/७/२१/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३-१६, २०१९ मा आफ्नो ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ। संघले सो अनुसार आफ्नो तयारी गर्न पनि सुरु गरेको छ। हरेक देशका राष्ट्रिय समन्वय परिषदहरुको नयाँ नेतृत्व चयन हुने क्रम जारी छ।

नेतृत्व चयनको प्रकृया हुँदैगर्दा अन्तराष्ट्रिय परिषदको प्रमुख नेतृत्व चयनमा पनि आकांक्षीहरु अगाडि आएका छन्। खासगरी अध्यक्षका लागि फ्रन्ट लाइनमा एकल रुपमा वर्तमान उपाध्यक्ष कुमार पन्त अगाडि आएका छन्। उपाध्यक्ष पन्तसँग टक्कर दिनको लागि अर्का व्यक्ति को आउने भन्ने कुरा ऐले सम्म पनि प्रष्ट भएको छैन।

वर्तमान अध्यक्ष भबन भट्ट र अर्का उपाध्यक्ष कुल आचार्यको चर्चा त यस अघि नै गरिसकेको छु। तर पनि अझै प्रष्ट रुपमा न त कुल आचार्य आएका छन् न भबन भट्ट नै बोलेका छन्। दुबैको स्थिति हेर्दा एउटा दृष्टान्तको क्लियारिटि भने भएको छ। त्यो दृष्टान्त भने अर्को आर्टिकलमा उल्लेख गर्नेछु।

यो पटक भने एकाथरी व्यक्तिहरुले यो पटक राजनैतिक नाराका आधारमा चुनावमा जाने कुरा गर्दै गर्दा त्यसबारे अलिकत बोल्नु उचित ठानेको छु। एकाथरी बिचौलियाहरु जसका हैसियत एनआरएनए संस्थाभित्र एउटा भोटर मात्र हो, त्यो पनि उनीहरुलाई डेलिगेट्समा छान्नै पर्ने कुनै बाध्यता छैन। उनीहरु आफूलाई महर्षि विश्वमित्र संझेर कुर्लेको देख्दा खिस्स हाँस्नु बाहेक अरु केहि भन्न सकिन्न। संघको नेतृत्वलाइ राजनीतिले माथि ल्याउँदैन तर सच्चा र संघप्रति प्रतिबद्ध व्यक्तिले मात्र सहि मानेमा नेतृत्व दिन सक्छ।

अलिकति प्रष्ट पार्नको लागि अँग्रेजी साहित्यमा भारतीय मुलका महान लेखक Rabindranath Tagore ले लेखेको कुरा उल्लेख गर्छु। ससुराको अगाडि टाउको देखाउन नहुँदा ७ बर्षीय बालिका बुहारीले आफ्नै फ्रक तानेर देखिएर केहि पनि नहुने टाउको छोप्नु र छोप्नुपर्ने कुरा देखाएको प्रसङ्ग याद गर्नुपर्ने हुन्छ। एनआरएनमा राजनीतिको प्रवेशले संघको इज्जत र अवस्था पनि छोप्नुपर्ने कुरा देखाउने बाहेक अरु केहि पनि हुँदैन।

ऐले पनि गैरआवासीय नेपाली संघमा यस्तै प्रसङ्ग उठेको छ। एउटा सच्चा एनआरएनले जहिल्यै पनि संघमा राजनीति प्रवेसको बिरोध गर्छ। तर एउटा मतदाताको मात्र हैसियत राख्ने बिचौलियाले लवी र राजनीतिको कुरागर्छ। त्यो त केवल आफू जिउँदो छु भनेर देखाउने तानाबाना मात्र हो। महान लेखकै लेखमा उल्लेख गरिएको इज्जत छोप्न फ्रक तानेर टाउको छोप्ने प्रचलनको प्रसङ्ग ति बिचौलियाहरुले गरेका छन। आफ्नै आदर्श र सिद्धान्त बोकेको सँस्थालाई विवादित र चकनाचुर बनाउनेहरुले नै फेरि गैरआवासीय नेपाली संघलाइ सहि बन्न देलान भन्ने विश्वास गर्ने हामी संसारका सबैभन्दा पटमूर्ख हुनेछौं।

छोटो रुपमा भन्दा जसले यो नारा उठाएका छन् उनीहरुको फ्लाइटको टिकट पनि स्पन्सर मागेर हिड्छन। तिनको कुरा भनेको हाँगाको कागलाइ का-का-का गरेर श्राद्धको प्रसाद खान बोलाएको जस्तै हो। काग आउँछन्, प्रसाद खान्छन, जान्छन तर त्यो काग कुन थियो र पछि कहिले आउँछ या आउँदैन केहि पनि थाहा छैन। कागले प्रसाद नखाए पनि संसार भरिका पितृ बिचमा परेका छैनन्। NRN भित्र पनि यस्ता प्रसाद खाने कागको लागि एउटा दुनो र अलिकति प्रसाद राखेर का का का गर्नु बाहेक अरु केहि आवश्यक छैन।

यसबारेमा उपाध्यक्ष पन्तले आफनो धारणा प्रष्ट रुपमा भनेका छन्। संघमा विधान र निर्देशिकाले प्रष्ट रुपमा निर्वाचन कसरी गर्ने र नेतृत्व कसरी छान्ने भन्ने ब्यबस्था गरेको छ। सो प्रकृयामा जाँदा सच्चा NRN ले साँच्चै संघलाइ काम गर्ने व्यक्तिको अपेक्षा गरेको छ। म आफू अध्यक्षको लागि प्रत्यासी हुने कुरा गर्दै-गर्दा पनि सो कुराको हेक्का राखेको छु, पन्तले भने।

म जर्मनीको स्थानिय तह देखि गैरआवासीय नेपाली संघको काम गर्दै आएको हुँ। क्षेत्रीय स्तर, अन्तराष्ट्रिय महासचिव र दुइ-दुइ पटक अन्तराष्ट्रिय उपाध्यक्ष भएर काम गरेको छु। अब कि त म बिदा हुनुपर्यो कि अध्यक्षको लागि अगाडि आउनुपर्यो। यो लामो दौरानमा मैले संघका थुप्रै प्रोजेक्टमा काम गरेको छु। समय, बुद्धि, विवेक र अरु पनि योगदान गरेको छु। यस बाहेक केहि प्रोजेक्ट छिट्टै अगाडी पनि आउँदै छन्। मेरो योगदान र आवश्यकताको विकल्प सबैका अगाडि छर्लंङ्ग छन्। मैले गर्ने काम गरेको छु र निरन्तर गर्नेछु। अब बाँकी कामको निर्णय गर्ने काम संघका सदस्यहरुको हो।

यदि म आफू अध्यक्षको लागि योग्य छैन, संघको लागि योग्य छैन, सच्चा NRN होइन, मबाट संघको बृद्धी र बिकास हुँदैन भन्ने अलिकति पनि संका र आधार छन् भने म आफू पछि हटेर सच्चा व्यक्तिलाई अगाडि बढाउन कत्ति पनि बेर लगाउँदिन। तर त्यसो होइन भने, मेराबारे र अरुकाबारे संघको लागि उपयुक्त व्यक्तिको नेतृत्व छान्ने काम मतदाताले दिने कुरा हो। म आफू एउटा सच्चा NRN भएर काम गर्न कुनै पनि कसर बाँकी राख्दिन। त्यो कुरा अंग्रज र सम्पूर्ण सदस्यहरुसँग मेरो प्रतिबद्धता भयो।

मेरो कार्यकालमा संघको नीति, बिधि र विकासमा एक उत्कृष्ट गणना भएको कार्याबधि हुनेछ भन्ने कुराको म ग्यारेन्टी दिन सक्छु। म आफूमा कुनै द्विविदा छैन, म नेतृत्व लिन र दिन तयार छु, मसँग स्पष्ट भिजन छ, योजना छ। अनि म सबैको अगाडि स्पष्ट रुपमा आएको छु, मसँग कुनै प्रकारको हिडन एजेण्डा राखेको छैन, पन्तले यो पंक्तिकारसँग दोहोर्याएर भने।

अन्तमा, यो पटक नारा र बिचौलियाका हुँइया र टपर टुँइया कुरामा अल्झेर होइन संघको लागि उनीहरुले दिएको योगदान, आजको उनीहरुको आवश्यकतालाइ हेरेर मत दिने कुरा गर्नुपर्छ। अन्यथा आफ्नै लागि अभिसाप मात्र होइन पश्चाताप पनि हुनेछ। कागहरुले प्रसाद खाएर उड्नेछन अनि हामी हेरेको हेरै हुनेछौं। कागलाई प्रसाद मात्र दिएर बिदा गरौँ, संघको देउता बनाउने काम नगरौं। प्रसाद खाएपनि कागहरु आखिर काग नै हुन्छन अण्डा दिने कुखुरा र स्वर दिने कोइली कहिल्यै हुँदैन।