दिपक अभिमन्यू

लघुकथा भ्रष्टाचार बिरोधी अभियन्ता

Hollywood Khabar September 30,2018 Comments

शर्माजि सरकारी कार्यालयका एक प्रतिष्ठित अधिकृत हुन्। उनको ईमान्दारिता र काम गराई प्रतिको लगनशिलताले नै उनी यहाँसम्म आईपुगेका थिए। ईमान्दार लगनशिल र प्रभावकारी काम गर्ने अफिसरहरुको नाम लिनुपर्दा उनको नाम सम्भवत ए नम्बर मै आउँथ्यो।आम जनताले तिरेको करबाट तलब खाने कर्मचारी भएकाले हामी जनताका नोकर हौं भन्ने विश्वास राख्थे। उनी आम जनताका अड्डामा लाग्ने नियमानुसारको दस्तुर बाहेक कुनै थप दस्तुर लिएको वा मागेको थाहा जानकारी पाए उनी त्यस्ता कर्मचारी माथी खनिईन्थे र तुरुन्त कार्बाही गर्न पछि पर्दैनथे।उनी हाकिम भएका अफिसमा कसैले एक पैसा घुस माग्ने हिम्मत गर्दैनथे।त्यसैले उनलाई जतिले चिन्थे एक भ्रष्टाचार बिरोधी अभियन्ताका रुपमा पनि हेर्थे।

एकदिन अफिसमा अलि ठुलै फाईल उनको टेबुलमा आईपुग्यो।नियमानुसार सो फाईलमा केहि गर्न मिल्ने अवस्था थिएन।शर्माजिले सो फाईल पटक पटक पढे तर फाईल अघि बढाउने हिम्मत गरेनन्।उनले सो फाईल जहाँबाट उठान भएर आएथ्यो उहिँ फर्काईदिए।कार्यालय समय पश्चात सदा झैं उनी कार्यालयबाट निस्कनै लाग्दा उनलाई मन्त्रालयबाट एउटा पत्र उनको हातमा थमाईयो पत्रमा लेखिएको थियो-तपाईंलाई डोल्पाको जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ।त्यहा पनि आफ्नो ईमान्दारिता र लगनशिलता प्रदर्शन गर्दै आफ्नो कर्तब्य पूर्ण रुपमा परिपालना गर्नुहनेछ भन्ने विश्वास लिईएको छ।पत्र खल्तीमा राख्दै मनमा अनेक कुरा खेलाउँदै घर पुगे।

घर पुग्ने बितिक्कै निराश भएर आफ्नो शयनकक्षमा पुगे उनी जती उदास थिए उनकी गृहणी भने अघिपछि भन्दा भिन्न किसीमले प्रफुल्ल देखिएकि थिईन।उनी कोठामा पस्नासाथ के लिनुहुन्छ चिया कि हटलेमन कि खाजा नै ल्याउँ?आज गृहिणीको बोली वचनमा अलि भिन्नता देखेर शर्माजिले सोधे प्रिय आज साह्रै खुशी छौ नि यसको राज के हो? अहिले पछि भनुँला नि भनेर उनी चिया बनाउन भान्छामा जान ओर्लिएकी मात्र के थिइन ढोकामा एक हुल प्रहरी देखिन्।

हतार हतार ढोकामा पुगेर सोधिन उनले के थियो किन यहासम्म कष्ट गर्नु भो होला ?भन्न नभ्याउँदै एक जना अफिसर अघि सरेर भने हामी अख्तियार दुरुपयोगबाट आएका हौं।तपाईंको श्रीमान बिरुद्ध घुस लिएको उजुरी छ ।हामी घरको खान तलासी लिन चाहान्छौं।यति भन्दै उनको उत्तरको प्रतिक्षा नगरि घरको खानतलासी लिन थाले।शर्माजिको शयन कक्षबाट एउटा नोटैनोटले भरिएको सुटकेश भेटियो।शर्माजिले बल्ल बुझे श्रीमतीको फुरफुर।प्रहरीले शर्माजिलाई हतकडी लगाएर लिएर गयो।भोली पल्टदेखि टोलमा कुरा काटनेको भीड लाग्यो—कत्तिन भ्रष्टाचारको बिरोध गर्थे शर्माजि कुरो त्यस्तो रैछ।उनको रुप त दुनियाँलाई देखाउने दाँत पो रैछ भ्रष्टाचार बिरोधी अभियन्ता।