Hollywoodkhabar advertisement

लघुकथा तोरी लाहुरे !

  अभिमन्यू दिपक 

लाल बहादुर रक्सी पिएर खुट्टाटेक्न नसक्नेगरि मातिएर घर पुग्थ्यो । श्रीमतीसंग अनेकन निहुँ खोजेर कलह गर्थ्यो । श्रीमती छोराछोरीलाई कुट्थ्यो,मानौ तिनले ठुलै अपराध गरेका छन्।"लालेका श्रीमती छोरीलाई कहिल्यै शान्ती छैन । सुखको त कुरै भएन । ती लालाबाल र श्रीमती बिचराहरुलाई साह्रै दु:ख कष्ट छ जीवन गुजाराका लागि ।"-सबै गाउँलेहरु उनीहरुलाई यस्तै यस्तै भनेर सहानुभुती दर्साउँथे ।

बिचरा लालेको घरको व्यवस्थापन दयनिय अवस्थामा थियो । आफू पेन्सनवाला लाहुरे भनर गाउँभरि धक्कु लाउँथ्यो लाले । "खै ! कस्तो खालको पेन्सनवाला लाहुरे हो ? लाहुरे हो कि तोरी लाहुरे हो ? खै लाहुरे भए त यस्तो लापर्वाह हुन नपर्नी। " यल्ले त दुख पाउँछ नै यसका बुद्धिले यल्ले गर्दा यसका परिवारले नि देख पाउने भए। गाउँलेहरु चिया पसल होस या खाजा पसल यस्तै कुरा काट्थे लालेको ।
एकदिन राती लाले राती मुर्छा पर्यो । लालेकि स्वास्नीले गाउँमा सबैसंग हार गुहार सापटी गरेर भएपनि अस्पताल लगि । एक महिनाको उपचारपछि लालेले नयाँ जिवन पायो । डाक्टरले चेतावनी दिए-"अब उप्रान्त रक्सी मासु खायो भने तपाईं  बाँच्नुहुन्न त्यसदिन तपाईंको अन्तिम दिन हुनेछ । त्यो दिन तपाईं त मर्नु होला तर तपाईंसंगै तपाईंका लालाबालाको भविस्य पनि मर्छ । बिचार गर्नुहोला ।"

समय बित्दै गयो । लाले हृष्टपुष्ट देखिदै आयो । अचेल लाले गाउँका खाजापसल भट्टीपसल चाहार्दैन । बिहान सबेरै गाउँको चिया पसलमा दुध पुर्याउ जान्छ । त्यसपछि खाना खाएर छोरछोरीलाई स्कुल पुर्याउन जान्छ । अनि दिउँसो डोका डाला नाम्ला र गुन्द्री बुनेर बस्छ । उसकी जहान मेलापात घास दाउरा गर्छे । घरमा पाथी दश माना दुध दिने भैंसी छ ।त्यसकै स्याहार सुसारमा व्यस्त हुन्छे । अचेल उसका घरमा कलह भएको सुनिदैन ।

"आहा! घर वरिपरि सफासुग्घर कस्तो चिटक्कै पारेकोनि लालेले । केटाकेटी पनि हाँसीखुशी देखिन्छन । लालेकी श्रीमती पनि हँसिली रसिली देखिन्छे अचेल । जुनी नै फेर्यो, ए लालेले त । जुनी त फेर्यो फेर्यो घरको नि रुपरंगै फेर्यो त । आखिर गरे त सक्ने रैछ’नि । खाली लाहुरे हुँ भन्दै हिड्थ्यो तोरी लाहुरे ! अब पो घर,घर जस्तो भो लालेको ! ल हेर घर भनेको त लालेको जस्तो हुनुपर्छ । कति आनन्दको छ घरपरिवार । सबै मिहीनेती । बच्चाहरुनि पढ्नमा अव्वल छन् रे ।"-हिजोका दिनमा लालेलाई तोरीलाहुरे भन्दै काखी बजाउने गाउँलेहरु, लालेको परिवर्तित जीवनशैली प्रती गाउँलेहरु यसरी उत्साहित भएर हो वा आरिस गरेर हो वा के हो ? चियापसल खाजा पसल होस या भट्टी पसल जहासुकै लाले कै चर्चा हुन्थ्यो। हिजो धारेहात लाउनेहरु आज प्रशंसा गर्थे । उसंग सरसल्लाह लिन्थे । त्यो एक बिमारीले जीवनमा ल्याईदिएको परिवर्तन प्रति लाले खुशी थियो । बेला बेला आफ्नो अतितलाई सम्झेर आफैलाई लोप्पा खुवाथ्यो र अहिलेको जिवनसंग मख्ख हुदै आफ्नो दैनिकीमा आफुलाई समर्पित गरि रहन्थ्यो ।
२०७७।०१।२९

 

ADVERTISEMENT-----