-Dilu Panta

कविता:लाग्नु; फूल तोडेर लाग्नु अनि झार गोडेर लाग्नु

Hollywood Khabar May 18,2021 Comments

-दिलु पन्त, काठमाण्डौ, मे १९, २०२१

 

ज्यानै फालेर लाग्नु

जगै उचालेर लाग्नु

नत्र तिम्रो

यो मानव चोला खेरा जाला

पुजा अनुष्ठान खेर जाला

प्रसाद र नैवेध खेर जाला

बरु शनिबार शनिबार

पिपलको बोटलाई

धागोले सात फेरो बाँध्नु

नत्र तिम्रो र तिम्रो विधाताको सिंहासन खोसिएला !

 

ज्यानै हत्केलामा लिएर लाग्नु

धर्ती छोडेर लाग्नु

नैतिकता तोडेर लाग्नु

हुन त नैतिकता भए पो तोड्नु है

फूल तोडेर लाग्नु

झार गोडेर लाग्नु

देख्दै छु

तिम्रो भक्ति अपरम्पार छ

स्तूत्य छ !!

 

तिमीले तथास्तुमा पाउने वरदान शक्ति अतूलनीय छ

छोड्दिनु यस्ता लकडाउन सकडाउन

फरक दर्जाको परिचयपत्र बोक्ने

मान्छे भन्दा माथि हुन खोज्ने

छुँदैन तिमीलाई कोरोनाले

शक्तिपुञ्ज भएपछि

सङ्कट ढोका फोरिदिए हुन्छ

बदलामा दुई चार खोका दिए हुन्छ

तेसका लागि

तरबार, कालो बोको र

एक थान कालो कपडा

द्रव्य बोकी जानु !!!

 

कहाँ चानेचुने हौं र तिमी

वरदानै पो किन्न सक्छौ

स्वार्थ अनुकूल हिड्न सक्छौ

हुन त

उधारोमा कारोबारले व्यापकता पाउने गरेको छ

समय खरिद गर्न उपभोक्तवादले

सबै खाले दिन लिलाम गरी

षड्यन्त्रको रात बढाएको छ !

 

त्यसैमा;

अलिकति समृद्धको अविर मिसाइदिनु

अचेल त अविर सबैलाई पनि सुहाउने गरेको छ

किनकि तिमी त प्रभवशाली नेता हौं

जसरी पनि लानु

प्रसाद पनि बोक्न नभुल्नु

तिनलाई अति मन पर्छ रे भन्छ्न्

घुँडा टेकेर बोक्दा भयो

आफ्नो भगवानलाई अर्पण गर्नु

निहुरिएरै दिनु अर्घ मिल्ने नमिल्ने मिसाएर

उनको शक्ति बढाउनु

तिम्रो अवाञ्छित समर्पण आवश्यक छ

बरु लम्पसार भएर लाग्नु !!!!

 

आफ्नो आँखा बचाउन

अरुको दृष्टि दानको सिबिर चलाउनु

लाग्नु ढुकढुकी रहुञ्जेल आशा हुन्छ

सात गङ्गा जलधार बहाउनु

तिम्रो इष्ट देवतालाई

धाराको पानी नचल्न सक्छ

मिनरल वाटर नै चढाउनु

साथमा दुई चार वोटल ब्ल्याक लेवल पनि

विचार पूर्वक जाऊ है

अलि ज्याद्रो छ तिम्रो भगवान

हल्ला खल्ला पनि गर्नु

सके केही थान नन्दीहरु पनि !!!!!