-ललितपुरको बज्रवाराही चापागाउँ अस्पताल उद्घाटन

ललितपुरको बज्रवाराही चापागाउँ अस्पताल उद्घाटन

Hollywood Khabar September 17,2019 Comments

सन्तोष दाहाल/ललितपुर/असोज १ गते

सरकारको एक स्थानीय तह, एक सरकारी अस्पताल नीति अनुरुप गोदावरी नगरपालिकामा आज बज्रवाराही चापागाउँ अस्पतालको उद्घाटन भएको छ।

अस्पताल उद्घाटनसँगै यहाँबाट जनस्तरमा प्रदान गरिने सम्पूर्ण सेवा शुलभ भएको छ।

अस्पतालको उद्घाटन गर्दै गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले अस्पतालवाट प्रदान गर्ने सेवा सुविधा जनताले महशुस गर्ने खालको दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यारत सम्पूर्ण कर्मचारीहरुलाई एक आपसमा सहकार्य भई विरामीलाई सेवा प्रदान गर्न नगरप्रमुख महर्जनले निर्देशन दिनुभएको हो ।

‘स्वास्थ्य संस्थामा आउने सम्पूर्ण समस्याको समाधान नगरपालिकाले गर्ने हो, तपाईंहरुको मुख्य काम चुस्त रुपले विरामीलाई सेवा दिनु हो’–उहाँले भन्नुभयो । नगर विकास र समृद्धिको लागि सवै जना एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको नगरप्रमुख महर्जनको भनाई थियो । समृद्ध नमुना नगर निर्माणका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्पूर्ण नगरवासीको पहुँच पुग्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

अस्पतालवाट प्रदान गरिने सेवाहरुमा ओपिडी, फार्मेसी, ल्याव, एक्सरे, प्रसुती सेवा, युएसजीलगायतका रहेका छन । सरकारवाट प्रदान गरिने निःशुल्क औषधि तथा सेवा सुविधा अस्पतालवाट प्राप्त गर्न सकिने भएको छ ।

नगरउपप्रमुख मुना अधिकारीले अस्पतालवाट प्रदान गरिने सेवासुविधालाई चुस्त रुपले प्रदान गर्न आग्रह गर्नुभयो ।

यसै गरी कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष दर्शनकुमार विष्ट, अस्पतालका बोर्ड सदस्य शिवराज सञ्जेल, अस्पतालका निमित कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख शत्रुघनप्रसाद शाह, पाटन जिल्ला अस्पतालका निमित प्रमुख अञ्जना श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नगरक्षेत्रभित्र सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थाका प्रमुख, डाक्टर, नर्स, स्वास्थ्यकर्मीलगायतको सहभागी रहेको थियो ।