-ललितपुरको सुनाकोठीमा डोरीकै लागि कमलाको हत्या

ललितपुरको सुनाकोठीमा डोरीकै लागि कमलाको हत्या

Hollywood Khabar October 12,2021 Comments

सन्तोष दहाल, काठमाडौँ

मानिसले पासो लगाएर मरेको डोरीको मूल्य करोडौं रुपयाँमा विक्री हुन्छ भन्ने भ्रामक हल्ला सुनेकै भरमा सोही डोरीको लागि ललितपुरमा एक महिलाको हत्या भएको छ। गत भाद्र २५ गते बिहान नुवाकोट जिल्लाको बेलकोटगाडी नगरपालिका ९ घर भई ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षीय कमला तामाङ्गको हत्या भएको थियो।

कमलाको हत्या अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मोरङ जिल्लाको पथ्थरी शनिस्चरे ८ घर भई ललितपुरको हरिसिद्धि बस्दै आएका २० वर्षीय सुमन तामाङ्ग,मकवानपुरको राक्सिराङ्ग गाउँपालिका ५ घर भई हरिसिद्धिमै बस्ने २३ वर्षका सविन प्रजा र उनकी श्रीमती १८ वर्षीय प्रजिना प्रजा माझी रहेका छन्। हत्याको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले सुमनलाई हरिसिद्धिबाट नै पक्राउ गरेको थियो भने उनकै प्रारम्भिक वयानका आधारमा सविन र प्रजिनालाई शुक्रबार मकवानपुरको मनहरीबाट पक्राउ गरेको थियो।

अनुसन्धानका प्रममा अभियुक्तले दिएको वयान अनुसार सविन र सुमनले मानिस पासो लगाई मरेको डोरी, रामलक्ष्मण र हजुमान भएको पुराना सिक्का,दाहिने शंख,चट्याङ्ग परेको ढुङ्गा,लगायतका वस्तुहरु महत्त्वपूर्ण हुने र करोडौं रुपयाँमा विक्री गर्न सकिने भन्ने सुनेकाले ती वस्तुहरु हासिल गर्ने योजना बमोजिम उक्त डोरी प्राप्त गरी पैसा कमाउने उद्देश्य बोकेर हत्या गरेका थिए।

अनुसन्धानका क्रममा मृतक कमलासँग आरोपित सुमनको पहिलेदेखि नै चिनजान र अवैध सम्बन्धसमेत रहेको खुलेको छ। सुनाकोठीको एक टहरामा एक्लै बस्दै आएकी कमलाको मा गएर भदौ २४ गते साँझ उनीहरुले खानपिन र मादक पदार्थ सेवन गरेका थिए। त्यसपछि सुत्ने क्रममा मृतकको हात बाँधेर घाँटीमा डोरीले कसी कमलाको हत्या गरेका थिए। हत्यापश्चात उनीहरुले मृतकले कानमा लगाएको गहना र मोबाईल समेत लुटेर अभियुक्तहरु भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ।