लप्सीको बोट

लटरम्मै लप्सी फल्ने ललितपुरको लप्सीगाउँमा नेता पुग्दैनन, आधारभूत बिकास पनि छैन

Hollywood Khabar February 18,2019 Comments

सन्तोष प्रणामी/ललितपूर

तपाइहरु धेरैले जिब्रो नै ट्याक्क पार्ने गरी लप्सीको माडा, तीतौरा, अचार इत्यादि खानु भएको होला। तेस्ता धेरै लप्सीका परिकार बनाउन फल्ने लप्सीको एउटा गाउँ हो ललितपुरको लप्सीगाउँ।

गोदावरी नगरपालिकाको वडा नं ६, लेले-टिकाभैरवबाट दक्षिणतिर रहेको लप्से, जसको नाम नै काफी छ। नाम जस्तै पाखाभरी लटरम्म लप्सी पाकेका छन् । पात नभएका, झट्ट हेर्दा सुकेर मरिसकेका जस्ता देखिने रुखमा पाकेका पंहेला लप्सीका दानाले ती रूखको जीवन्ततालाई प्रकाश पार्छन ।

अघिअघि दक्षिण ललितपुरबाट नुन किन्न पनि चापागाउँ आउनु पर्थ्यो । गाउँबाट चापागाउँ आउँदा काठमाडौँ जान लागेको वा नेपाल जान लागेको भनेर हिंड्थे ललितपुरका पहाडबासी । गाउँबाट भुटेको मकै, भटमास पोल्टामा हाल्थे, खुवा, सिमी, बोडी,तोरी, फापरजस्ता गाउँमा उत्पादित अनाजहरु बेच्नका लागि गह्रौं भारी बोकेर चापागाउँसम्म आउनुपर्ने बाध्यता। गाडी चढ्न कहाँ पाउनु ! चापागाउँ अइपुगेपछि मुस्किलले गाडी देख्नसम्म पाइन्थ्यो।

भट्टेडाँडा, माल्टा, इकुडोल,प्युटार, आश्रांग लगायतका स्थानबाट भारी बोकेर आउने ललितपूरबासीहरुको टिकाभैरव प्रवेश गर्ने मार्ग यही लप्से कोटडाँडाको बाटो थियो। आउँदा नगदेबाली, घिउ, खुवा, जडिबुटी इत्यादी बोकेर तीनपाने हुँदै कोटडाँडाबाट झरेर यही लप्सेको बाटो आइन्थ्यो। फर्कंदा नुन, मट्टीतेल जस्ता सामानको भारी पिठिउंमा बोकी यसै उकालोबाट गाउँ जाने गरिन्थ्यो। यस बाटोबाट दैनिक सयौंको संख्यामा मानिसहरुको आवतजावत हुन्थ्यो।

तर अहिले परिस्थिति बदलियो ।

दक्षिण ललितपुरका हरेक कुनाकुनामा सडक पुगे, गाडी चल्छन । तर लप्सेको बाटो न कोही दक्षिण ललितपूरबासी ओहोरदोहोर गर्छन, न त यहाँको साँघुरो कच्ची सडक भएर कुनै सार्वजनिक र निजि सवारी साधन नै चल्छन। शुन्य भएको छ लप्सेगाउँ कोटडाँडा।

यसैगरी विकासको गतिले पनि दक्षिण ललितपुरमा जस्तो गति लप्सेले लिन सकेन। इकुडोल, आश्रांगतिर मान्छेका घरघर, आँगन करेसामा बाटो पुगेजसरी लप्सेमा पुगेको छैन। धेरै वर्षदेखि उस्तै अवस्थामा रहेको कच्ची साँघुरो सडक न कहिल्यै विस्तार हुन्छ, न स्तरोन्नति नै।

दुरीको कुरा गर्ने हो भने पनि लाज मान्नुपर्ने अवस्था छ। ललितपुरको सदरमुकामबाट १०/१२ किलोमिटरमात्रको दुरीमा रहेको लप्सेबासीलाई कर्णालीबासीको जस्तो व्यवहार राज्यले गरेको गुनासो गर्छन स्थानीयवासी। पानी पर्दा बाटो हिलो हुन्छ, स्कुल जाने बालबालिका र कलेज जाने विद्यार्थीहरुलाई सानो झरी पर्दा पनि साह्रै अप्ठेरो हुन्छ। चुनावका बेला अनेक आश्वासन दिंदै नेताहरु भोट माग्ने बहाना बनाउछन, तर चुनाव सकेपछि उनीहरुलाई सपनामा मात्र देख्न पाइन्छ। आफ्ना समस्या र गुनासो राख्ने कुरा त परे जाओस।

यसैबीच यहाँका स्थानीयबासीका समस्या र गुनासो सुन्न सोमबार क्षेत्र नं १ (ख) का सांसद चेतनाथ संजेल कोटडाँडा पुगे। साथमा नगरपालिकाकी कार्यपालिका बोर्ड सदस्य मैंया के सी र समाजसेवी अन्नपूर्ण बस्नेत पनि संगै थिए। स्थानीयवासीले आफ्ना सबै गुनासा र समस्याहरु आफ्ना जनप्रतिनिधिलाई सुनाएका छन् । स्थानीय, प्रदेश र केन्द्र तह कुनैबाट पनि यो गाउँको विकासका लागि बजेट नपरेका कारण विकास निर्माणमा पछाडी परेको उनीहरुको गुनासो थियो।

जनप्रतिनिधि र नेताहरु टिका भैरवबाट मल्ल होटलको बाटो भएर कोटडांडाको मूल सडकमा निस्किई दक्षिण ललितपुरका गाउँहरुमा जान्छन तर लप्सेको बाटोमा कहिल्यै कुनै नेता तथा निर्वाचित प्रतिनिधिहरु ओहोरदोहोर नै नगरेको स्थानीयबासीले बताए।

उपस्थितमध्येका एक स्थानीय नारायण प्रसाद दाहालले स्थानीय सरकारसँग गाउँलेहरू आफ्ना कुरा लिएर जाँदा कुनै वास्ता नगरेको र त्यसको लागि प्रदेश तथा संघीय तहबाट आफैंले बजेट ल्याएर काम गर्नु भन्ने जवाफ फर्काएको बताए।

अर्का स्थानीय अशोक तामाङले वर्षौं देखि आफूहरु बिजुलीबत्तीको समस्याबाट पिल्सिरहनुपरेको गुनासो पोखे। मिटर जडान नहुँदा खोलाबस्ती टोलकाले बत्ती बाल्न नपाएको उनको गुनासो छ। त्यस्तै काठका पोलहरु जीर्ण रहेको र पक्की पोल उपलब्ध गराई सबैका घरमा मिटर जडान गराउन उनले आग्रह गरे ।

त्यस्तै स्थानीय शिवराम रिजालले विकास निर्माणका सवालमा पहिलो प्राथमिकता सडकलाई नै दिनु आवश्यक रहेको बताए । सडककै समस्याकै कारण गाउँमा रहेका अन्य पर्यटकीय तथा कृषि उत्पादनका सभावानाहरु ओझेलमा परेको उनको भनाई थियो।

गाउँमा टेलीफोनको समेत असुविधा छ । नेपाल टेलिकम, एनसेल कुनैले पनि भनेको बेलामा काम गर्दैन र अत्यावश्यक परेको अवस्थामा पनि फोन गर्न नपाइनेसम्मको समस्या यहाँ विद्यमान रहेको उपस्थितले गुनासो गरे ।

लप्से र कोटडाँडामा तरकारी उत्पादन हुन्छ, वर्षाको बेला बाटोकै कारण बजार नपाउने समस्या छ। कुमार खड्का -फयडोल साविक ९ नं मा खानेपानीको पनि ठूलो समस्या रहेको वडा सदस्य कुमार खड्काले बताए । साना किसिमका खुत्रुके बजेट आउदा यथेष्ट देखिने काम कहिल्यै हुन नसकेको उनको गुनासो छ । आएको बजेट पनि दुरुपयोग भएको उनी बताउछन।

यी सबै समस्या र गुनासा सुनिसकेपछि प्रदेश सांसद चेतनाथ सञ्जेलले स्थानीयवासीले पनि जनप्रतिनिधिलाई झकझकाउने काम गर्न नसकेको बताए। समस्या पर्दा जुनसुकै बेला पनि आफूकहाँ आउन सकिने उनको भनाई थियो । आफूलाई मतदान गरेर जिताएको प्रतिफल जनताले लिन पाउनु पर्ने उनले बताए । फागुन चैत्रभरीमा सबै योजनाहरु छनोट भएर जाने भएकाले अहिले एकदमै ठिक समयमा यस्ता गुनासो र समस्या सुन्न पाएको उनको भनाई छ ।

आफू यहाँको बाटो हिड्न नपाएकोले यहाँको यथार्थ अवस्था थाहा पाउन नसकेको संजेलले स्वीकार गरे । सडक स्तारोंनतिको लागि छिटै बजेट योजना पारी उपभोक्ता समिती बनाएर बाटो मर्मत गराउने प्रतिबद्धता उनले जनाएका छन् । अर्को हिउँदबाट थप योजनाका साथ अगाडि बढ्ने समेत उनले आश्वासन दिए।

बिजुलीको समस्याका लागि वडाबाट सिफारिस लिएर लगनखेल जान र त्यसपछिको सबै प्रक्रिया आफूले गरिदिने उनले बताए। लप्से कोटडाँडा पर्यटकीय दृष्टिकोणबाट अति नै सम्भावना भएको भन्दै होमस्टे बनाउनका लागि पहल गर्न र योजना प्रस्ताव ल्याउन उनले उपस्थित स्थानीयवासीलाई आग्रह गरेका छन्।

त्यसको लागी प्रदेशबाट आफूले यथेष्ट सहयोग गर्ने उनको भनाई छ । अहिलेको प्रमुख सम्भावना पर्यटन र कृषि नै भएकाले त्यसकै लागि कोटडाडा, देवीचौर सिखर्पालाई पर्यटकीय हिसाबले राम्रो योजनाका साथ अघि बढाउने आफ्नो लक्ष्य रहेको बताउदै संजेलले अबको आफूहरुको मुख्य नारा विकासनिर्माण भएकोमा जोड दिए। यस ठाउँमा धेरै उत्पादनाजन्य सामाग्रीहरुको सम्भावना भएकाले स्थानीय उत्पादनलाई पनि विकास निर्माणका योजना संग जोडेर जान समाजसेवी अन्नपूर्ण बस्नेतको आग्रह रहेको थियो ।

यसरी लप्से कोटडाँडाको कृषि तथा पर्यटकीय सम्भावनालाई पनि सडकको समस्याले गर्दा ओझेलमा पारेको छ । यहाँ एउटा कोटडाँडा एग्रो रिसोर्ट नामको रेस्टुरेन्ट पनि रहेको छ। तर आवश्यक प्रचारप्रसार र सडककै अभावले त्यसको बारेमा कसैलाई जानकारी छैन । आउन चाहानेहरु पनि सडकको दुर्दशा देख्दा बीच बाटोबाट नै फर्कन बाध्य हुन्छन । समयमै सडक संजालको स्तरोन्नति भएर राम्रो प्रचारप्रसार हुने हो भने लप्से कोटडाँडा उत्कृष्ठ पर्यटकीय गन्तव्य तथा कृषि उब्जाउ क्षेत्र बन्न धेरै समय लाग्दैन ।