-Krishna KC

लाउरे माइलाको पिके रेडियो

Hollywood Khabar January 31,2018 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १, २०१८

कथा त होइन तर पनि एउटा स्मृतिले भने आज प्रतिलोम, अनुलोम उजागर गरायो। बिषयगत प्रसंगमा मनकेन्द्रित अनुभूती र अनुराग जलाप्दै पाठकको मानसपटलमा स्मरण नहुने भाषा कन्स्टिपेशन निकालेर श्रोणलेपनमा लेखिँदो रहेछ लेखमा। अनि यसरी लेख्नेहरुलाई अब्बल दर्जाका लेखक मानिंदो रहेछ। आफूलाई भने आफ्नैं काँठेको ठाडो भाषामा फलाक्नु जतिको सजिलो केहि लाग्दैन।

बैसाखमा पानीघाट माथिको खोरियोमा हलगोरू जोतेर मकै रोपेर कलकत्ता लाउर गएको लाउरे माइलो भदौमा घर फर्क्यो। फुर्को झुण्डेको कालो चस्मा, पालीहालेको टोपी, फाइबरको भर्लंङ्गे सुरुवाल, घुंडा सम्म झर्लंङ्ग परेको घ्यू रंगको लामो कमिज लगाएर ठाँटमा गाउँमा फर्केको थियो लाउरे माइलो। हुन पनि बिछ्ट्टै राम्रो देखिने, काँधमा फिली (फिलिप्स) को ठूलो पिके रेडियोमा अलइण्डियाको झिप्प-झिप्प रोकिने र टिप्ने हिन्दी गाना बजाउँदै घर फर्केको।

कोइली, ढुकुर लगायत चराहरुको चिरबिर बाहेक घाँसेहरुको लामो भाका मात्र सुनिने गाउँमा अब फिली रेडियोको हिन्दी गाना सुन्न र लाहुरे हेर्नेको ताँती नै लागेको थियो। कतिजना त दर्जीले सिलाएको सुतीको टोपी उल्टो फर्काएर त्यसमा मकै र भट्टमासको खाजा खाँदै बाटो तताउँदै थिए। अनि गौरव र कहानीका कथा जप्नेहरु त कति हुन कति। हाम्रो नेपाली मायाँको संस्कृति पनि अचम्मको नै हुँदो पो रहेछ। बिचरा माइलालाई गाउँभरि भात खाने निम्ता जान भ्याइ-नभ्याइ थियो। हप्ता दुइ-तीनमा पिके रेडियोमा मसला (ब्याट्री) सकिएछ। बिचरा मसला लिन घण्टौको बाटो हिंडेर पसलाँ पुग्नु पर्ने परिगो नि फसाद !

लाउरे माइलोको कहानी सुन्न सबै अघि-पछि लाग्थे अनि हामी पनि त्यसै उसै पछि लाग्थेम। बाटोमा हिंन्दा-हिन्दै लाउरे माहिला ठ्याक्कै पो रोकियो। अगाडिबाट उनकै पिताश्री आउंदै रहेछन। उनैलाई आफैंले छ महिना पहिला रोपेको मकैकोबोट देखाउँदै सोधे ए लम्मे-लम्मे हराभरा पात क्या हे ? लाउरे माहिलाका बुढा बाउ पनि ठाँटका नै थिए। समाउने ठाउँमा बाघको मुख, डण्डीको बीच-बीचमा पित्तलको रिङ्ग हालेर नर बहादुरले आफ्नै आरानमा बनाइदिएको चिट्टिकको सतिशालको लौरो टेकेर हिंन्थे।

म आफूलाइ भने त्यो लौरो साह्रै मनपर्थ्यो। जनिकै जान्थे छुनलाई तर मरीगए पनि छुन दिएपो बुढाले। कतै लाग्थ्यो सुत्दा पनि बुढाले त्यो लौरो सिरानी हाल्थे होलान, कस्तो चिल्लो र खिरिलो थियो त्यो लौरो। अनि बुढाले छोराको प्रश्नको जवाफमा तेही लौरोले जमाएर ढाड भाँच्चिने गरि दिए। तोरीको फुल देखेको लाउरे माइलोले आथ्था भन्दै एक्कै शासमा चिच्यायो-"मकै बाऊ मकै"

**यो मेरो बाल्पनामा सुनेका गाउँका कथालाई मेरो आफ्नै खुशीको लागि बोलचाल भाषाको शब्द चयन गरिएको हो**