https://www.youtube.com/embed/jnCGQkp8twU

लोक तथा दोहोरी गायक शिरीष देवकोटाले नयाँ तीज गीत सार्वजनिक गरेका छन्

शिरीष देवकोटाको तीज् गीत लौरी च च बजारमा

Hollywood Khabar August 10,2021 Comments

लोक तथा दोहोरी गायक शिरीष देवकोटाले नयाँ तीज गीत सार्वजनिक गरेका छन्। सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत उनले लौरी च च बोलको गीत सार्वजजिक गरेका हुन्। गीतको शब्द देवकोटाकी आमा टुल्कादेवीले लेखेकी हुन् भने लय पनि उनैले सङ्कलन गरेकी हुन्।गीतमा पुरुषको स्वर शिरीषले भरेका छन् भने महिलाको स्वर शान्तिश्री परियारको रहेको छ।

पाल्पा जिल्लामा जन्मिएका शिरीषले गीतमा सोही क्षेत्रमा प्रचलित भाकालाई गीतको रूपमा उतारेको बताएका छन्।मेरो मामाघर पाल्पाको याम्घा दर्पुक भन्ने ठाउँमा हो। वि.सं. २०३०/४० सालतिर मामाघरकी हजुरआमाले (स्व उमादेवी न्यौपाने) तीजको दिन लौरी च च भाका गाउनुहुँदो रहेछ।पछि आमाले त्यो भाका मलाई सुनाउनुभयो। फलस्वरूप आमाकै शब्दमा यो गीत तयार गर्न पाएँ, गायक देवकोटाले बताए।

हाल सो भाका गाउने जमात एकदमै न्यून रहेको र भाका नै गाउन छाडिएको उनले सुनाए। कतिपयले लौरी च च भनेको के हो भनेर सोध्नुभएको छ। त्यसबारेमा स्पष्ट उत्तर मसँग पनि छैन। यो भाका गाउने धेरैजसो अहिले हुनुहुन्न। भाकाको उत्पत्ति र इतिहासका बारेमा पूर्ण जानकारी लिन सकेको छैन।लोपोन्मुख भाकाको संरक्षणका लागि अनुसन्धान गर्नेछु, उनले भने।

भाकाको असली सर्जकप्रति आफू कृतज्ञ रहेको समेत उनले कायाकैरनसँगको कुराकानीमा बताए। यो भाका जसले जन्माउनुभयो, उहाँप्रति एकदमै आभार छु । आफ्नी आमाप्रति पनि सम्मानको रूपमा यो गीत गाउन पाएको छु। श्रोता तथा दर्शकहरूले रुचाउनुहुनेछ भन्ने आशा राखेको छु, उनले सुनाए।

करिब ११ मिनेट लामो गीति भिडियोमा केवल छ जना कलाकारले नृत्य प्रस्तुत गरेका छन्। कोरोना भाइरस महामारीको संक्रमण फैलन सक्ने जोखिम रहेकै कारण भिडियो निर्माणमा थोरै जनशक्ति प्रयोग गरिएको गायक देवकोटाले बताए।भिडियोमा निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् भने सम्पादन प्रकाश धमलाले गरेका हुन्।