Hollywoodkhabar advertisement

लिदी गाउँको आत्मव्यथा !

-Chet Nath Kanel
0
shares

-चेतनाथ कणेल ‘हरित’, श्रृङ्गा, गुल्मी, हाल नयाँबानेश्वर, शङ्खमूल, काठमाडौँ/८/१५/२०(३१ साउन २०७७, शनिवार)
 

समसामयिक विपद् कविता

समीपका जुगल हिमाल र
आँमा याङ्ग्रीलाई साथमा राखेर
छेवैका लाङटाङ र दोर्जे लाक्पालाई साक्षी राखेर
म लिदी थपक्क बसिरहेछु गोल्चे बस्ती बनेर
बगिरहेछन् बलेफी, ब्रह्मायणी र मेलम्ची निरन्तर
बगिरहेछ सिन्धु शान बोकेर इन्द्रावती निरन्तर ! १

म हल्लिएको छु
म थर्किएको छु
म चर्किएको छु
कहिले महाभूकम्प आउँछ काखमा
कहिले गर्भस्थ विष्फोट हुन्छ आँतमा
थर्थर थर्थर थर्थर थर्थर
म अनवरत कम्पनमा छु
म निरन्तर चर्कनमा छु ! २

म लिदी गाउँ रोएको छु यतिबेला
म लिदी गाउँ भक्कानिएको छु यतिबेला
मेरा प्यारा लिदेली बासिन्दा,
मेरा प्रिय दोङ तामाङ
आमा याङ्ग्रीको आशिकले
जुगौँजुग सहयात्री बनेका हामी
जुगलको काखमा रमाइरहेका हामी
मलाई माफ गर
म यतिबेला भूस्खलबाट स्खलित भएको छु
म यतिबेला विनाशी पहिरोबाट पुरिएको छु
जोगाउन सकिनँ मैले तिम्रा प्राणभन्दा प्यारा जनहरू
जोगाउन सकिनँ मैले तिम्रा पुस्तौँदेखिका प्रिय बासहरू ! ३

म लिदी,
बस्तीमाथि पहिरो छ
विकास’को कुरा गहिरो छ
यही गहिराइमा डुब्न नसक्दा
मनको बह कसैले नसुन्दा
लुरे बनेको छ तिम्रो लिदी यतिबेला
कमजोर बनेको छ लिदीको गिदी यतिबेला
हेर्दा हेर्दै तीन दर्जन मेरा प्रिय सन्तानलार्ई गुमाएपछि
हेर्दा हेर्दै आधा बस्ती नै भासिएपछि
थाहा छैन,
बँचेका जनहरू अब बचाउन सक्छु कि सक्दिनँ
रहेका घरगोठहरू अब जोगाउन सक्छु कि सक्दिनँ
म प्रताडित र निरीह गाउँ बनेको छु जुगलको काखमा !
म आँसु र साहस सकिएको ‘बाउ’ बनेको छु जुगलको काखमा !! ४