Hollywoodkhabar advertisement

म को हूँ ?

-Suchana Timalsina

सूचना तिमल्सिना, ललतिपुर १/२२/२१

म को हो ? वास्तवमा मलाई थाहा छैन। मैले आफूलाई हेरेर लेखेको शब्दलाई उनी भन्दैछु। ‘म’ ‘उनी’ मतलब ‘उनी’ = ‘म’। दुवैलाई नकार्न सकिन्छ। दुवैलाई स्वीकार्न सकिन्छ। बल्ल उनले आफ्नो सन्तोष बुझिन। असन्तोष बुझिन।फेरी बुझिनन्। बुझ्न चाहिन। कर्मको सिद्धान्त बुझिन। बुझ्न खोजिन। बुझ्न सकिनन्। उनको कर्म सफ्टवेयर बनिसकेको थियो। बानी त्यसको अड्डा थियो। सफ्टवेयर अटोमेटिक मेसिन बनेको थियो। उनी आफूलाई केहीमा परिभाषित गर्थिन। परिभाषित सोचाइ शब्द अरु केहीमा परिणत हुन्थे। उनी त उनले बनाउन खोजेको र सोचेको मात्र थिइनन्।

अब उनी को हुन् ? उनी अलमलमा थिइन । उनी त पुरै समाज थिइन । उनले सिकेका कुरा थिइन। उनले देखेका, बुझेका, सुनेका कुरा थिइन । उनले नसिकेका कुरा पनि थिइन । उनले रोकेका कुरा पनि थिइन । उनको रोकावट, शंका, आत्मविश्वास, डर, सब–सब उनको अघि उनको परिचय दिएर बसेका थिए । त्यसो त उनी कहाँ छिन् ? त्यसो त यो सब बिच उनी को हुन् ? उनले बटुलेको सैद्धान्तिक ज्ञान, सोचविचारले भनिदिन सक्छन् कहिले साँचो, कहिले झुटो ।

पानीको हिस्सामा प्रदर्शित उनी पानी बन्न सक्छिन्। उनी परिचय तत्वमा कहन सक्छिन। फेरी उनको उत्तर उनलाई सन्तोष दिलाउदैनन् । त्यसैले उत्तरको खोजीमा छिन्। खोजीमा होइन। खोज आफैं भारी र अलमल विषय हो। शंका हो। उत्तर लिएर वादविवादका जहिल्यै तत्पर रहन्छ। त्यसैले उनी बहावमा बग्दै छिन्। ता कि समुन्द्र भेटियोस। पानीको अन्तिम बिन्दु समुन्द्र। पानी बहन्छ भिरालो जग्गामा। पानी बग्छ समतल जग्गामा। पानी रोकिन्छ समतल जग्गामा। पानी रोकिन्छ खाल्डोमा। बहनु स्वभाविक गुण। रोकिनु स्वभाविक गुण।

  • त गुण के हो ?
  • दृष्टिकोण ।
  • दृष्टिकोण के हो ?
  • सामान्य, हेर्ने तरिका ।
  • किन हेर्नुप¥यो ?
  • बोधका लागि ।
  • बोध के का लागि ?
  • आफूलाई बुझ्न ।
  • यो आफू को हो ?

घुमिफिरी रुम्झाटार। उत्तरको उजागार गर्दा प्रश्न आफैँ प्रश्न भएर उथलपुथल हुँदैछ। उनी प्रश्नको उत्तर लिएर पनि दिएर पनि भरिभकाम प्रश्नभित्र छिन्, उत्तरभित्र छिन्।उनी मनोविज्ञानका केही किताब छामेर अध्यात्मका आइपुगिन। उनले उपनिषदको समुन्द्रमा डुबुल्कि मारेर बोलिन। उपनिषदमा जे कुरा छ, सब सानादेखि भनिरहेको, सिकाइएको कुरा रहेछ। फेरी उपनिषद अरुले भने भन्दा भिन्न छ। पढ्नेले बुझ्नेछ। हुनसक्छ नबुझ्नेछ।

  • तिमी बुझाउ न त उपनिषदको कुरा ?
  • सक्दिन ।
  • किन?
  • किनकी अनुभवजन्य कुरामात्र बोल्न सक्छु ।

बोध भएर पनि बोध गर्न सकिनन् । बुझे जस्तो लागेर पनि बुझ्न सकिनन्। त्यसैले उनी गीताको सारमा पुगिन । मनोविज्ञानका परमपिता कृष्ण उनलाई प्रिय लागे। सम्झाएको कुरा बुझिन । ओशोको साहयता लिएर बुझिन। आचार्य प्रशान्तबाट सुनिन। फेरी पनि बुझ्दाबुझ्दै बुझ्न सकिनन् । अज्ञान जति मेटियो । त्यति भेटियो। शंका जति मेटियो। त्यति भेटियो। उनका बोध, स्मृति, सोचविचार र भावना फरक फरक धार बोकेका थिए ।

उनी एकत्रित रुपमा छिन्। उनले बुझिन । उनी विभाजित रुपमा छिन्। उनले जानिन। निन्द्रा, स्वप्न, जागृत अवस्था सबै उनकै परिघटना थिए। उनलाई जागरण भयो। अनि के उनले को हुन् बुझिन ? होइन, उनले उनी आफू केही भनेर बुझिन। उनी त अहिलेसम्म सिकेको कुरालाई आफू ठानिरहेकी थिइन। म यो हो वा होइन भनेर दिमागमा पालेको कुरालाई आफू मानिरहेकी थिइन। त्यसैले त उनले आफू ठानेको अरुको प्रतिक्रियामा आफू ठान्थिन्। आफू नठानेको प्रतिक्रियामा प्रतिरोध गर्थिन। वास्तवमा त उनी त्यही समाज थिइन। त्यही पालेर बसेकी थिइन।

तर उनी कसरी त्यो समाज हुन सक्छिन् ? उनी कसरी अरु हुन सक्छिन ? त्यसैले उनले भनिन – उनी यो समाज होइन। किताबका खातका खात कण्ठस्थ पारेको बेलामौका सम्झिएको ज्ञान होइन। अरुको वशको लागि गर्ने कर्म होइन। अरुले गर्ने तारिफ होइन। बदख्याइँ होइन। अरुले लाउने आरोप होइन। प्रत्यारोप होइन। अरुले बयान गरेकोे सौन्दर्य होइन । कुरुपपना होइन । अरुले भनेको दिएको पहिरिदिएको कुनै पनि परिचय होइन। र, आफैले पालेको दृष्टिकोण पनि होइन।

काहीँ समाजमा बसेर समाजलाई नकार्न पाइन्छ ? समाज त उनले स्वीकारे पनि हो । नकारे पनि हो। उनले दृष्टिकोणलाई मात्र नकारेको हो। व्यक्तिलाई होइन। आफूभित्र परिचय बनाउन आइपुगेका अरु तत्व नकारेको हो। सबै नभए उनी केही त हुनुप-यो नि होइन र ? उनी बुद्धका वाणीमा अड्किन। ‘नेति-नेतिले’ (यो पनि होइन त्यो पनि होइन) उनलाई केही समय वशमा पार्न सके। उनले जापनिज जेनको किताब पढ्न थालिन। पढ्न त उनले पहिले पनि पढेकी थिइन। ती शब्दहरु उनले भुलिन। पढ्दा केही हद तक बोध गराएपनि निचोड केही समय पक्रिएपनि उनले भुलिन ।

त्यसो त उनी भुल्न किन पढ्छिन् ? शंमसय उनलाई तान्छन्। उत्तरको खोजीमा उनी भौतारिन्छिन्। भींडलाई भुल्न। भींडलाई तान्न। एकान्त औल्याउन। एकान्त तोड्न। समयलाई बहन दिन । समय रोकेको भानमा अडिन। भ्रमभित्र रहन। भ्रमभित्र रहेर भ्रम तोड्न। हुनसक्छ बानी । हुनसक्छ अस्तित्वलाई चाल दिने एक प्रयोग ।

शंका निवारणका लागि उनले अक्रवष्ट गीतामा पुगिन। विवेकानन्द, गौदपा, ओशो, महर्षि रमण, दोजेन, कृष्ण मूर्तिकारका किताब, वाणी पढिन सुनिन । फेरी भएजति भुलिन । अँ बेलामौकामा टुक्राटुक्री सम्झिइन पनि ! सम्झेको बेलामा छिटफुट सुनाइन पनि । अनि उनी हुन् चाहिँ को हो के ? माफ गर्नुहोला शब्दले शब्द तान्छ । वाक्यले वाक्य । उत्तरले प्रश्न तान्छ । प्रश्नले उत्तर। फेरी प्रश्नले प्रश्न तान्छ । उनी को हुन् ? अथार्त म को हूँ ?

क्रमशः

ADVERTISEMENT-----