-Pipalmani Sigdel

सम्झनामा उदायाै!

Hollywood Khabar August 17,2020 Comments

-आचार्य पीपलमणि सिग्देल,न्यूयाेर्क/८/१८/२०

माेती आयाै कवि सगरमा दिव्य उल्लास भर्दै
मेचीकाली घरघरमहॉ भानुकाे ज्याेति छर्दै ।
छाेटाे यात्रा तर पनि अहाे पूर्णताले सजायाै
नेपालीका नयनतलकाे सम्झनामा उदायाै ।।

निर्माता हाै सरस मनका काव्यका भावभित्र
तिम्रा लीला बहुविध अहाे देख्छु छुट्टै विचित्र ।
मीठाे भाका स्वरलहरीले गानमा झल्मलायाै
चाैतर्फी ती नवगजलले सम्झनामा उदायाै ।

माया प्रेमी हृदयतलका भाव गाम्भीर्य बाेकी
गर्थे लीला तनमन मिली प्रेमका बात छाेपी ।
लेखी लेखी प्रणययुगकाे प्रेम नाैलाे सिकायाै
माया लेख्दा मधुमय सदा सम्झनामा उदायाै ।

माेती बाेकी कवि र कविता काव्य नाैलाे सिंगारौं
भाषा भाका सजधज हुने ज्याेति बालेर हेराैं !
यस्तै उर्जा हरपलदिने भानु ताजा जगायाै
लेखाैं भन्दा कलमभरमा सम्झनामा उदायाै ।