-पशुपतिक्षेत्र

महाशिवरात्रीमा पशुपतिक्षेत्रको ब्यबस्थापन र सुरक्षा मजबुत

Hollywood Khabar March 02,2019 Comments

सन्तोष प्रणामी/काठमाण्डौ

फागुन कृष्ण त्रियोदशी अर्थात् महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा–आराधना गरी मनाउँदै छन् ।

सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्म उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।यस पर्वका दिन उपवास बसी रातभर जाग्राम गरेर शिवको प्रिय गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यस दिन भगवान् शिवलाई जाडो नहोस् भन्नका लागि प्रत्येक घर,चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने गरिन्छ ।

महाशिवरात्रिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथको दर्शन र शिवरात्रिको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरूको घुइँचो लागेको छ । पास अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देश–विदेशका साधुहरू पशुपतिनाथ मन्दिर आएका छन् । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरू पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बसेका छन् ।

चारै ढोका खुल्ला र दर्शन मार्ग

पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लाम, जयबागेश्वरी –इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट एक लाम, बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिंगलास्थान–सुमार्गी भवनअगाडि– चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रूपमा तीन स्थानबाट दर्शन गर्नेका लाम रहनेछन् ।

त्यस्तै, तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लाम राख्न सकिने जनाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

सुरक्षा व्यवस्था चुस्त

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी मेला अवधिभर परिचालन गरिने डा। ढकालले बताए । पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भिड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका ६ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि पशुपतिनाथको मन्दिरनजिक हुने गरी मुख्य क्षेत्रमा चिकित्सक, परिचारिका, औषधि र शय्यासहितको नेपाली सेनाको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । एम्बुलेन्स कुनैबेला पनि रहने गरी स्वास्थ्यसँग सम्बन्धित करिब ५० संस्थाले सेवा प्रदान गर्नेछन् ।

पशुपति क्षेत्रको वातावरण स्वच्छ बनाउन एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । शिवरात्रिका दिन बिहानैदखि दर्शनार्थीको भिड लाग्ने हुँदा जुत्ताचप्पल व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । त्यस्तै, पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नसालु पदार्थ बेचविखन निषेध गरिएको छ ।

साधुसन्तका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र बसोबास समेतको व्यवस्था मिलाइएको छ । चिसोबाट बच्नका लागि धुनी जगाउन दाउराको व्यवस्था पनि मिलाइएको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानाले बताए । उनका अनुसार महाशिवरात्रि पर्वको पर्सिपल्ट एकादशीका दिन बाटोखर्चसहित साधुसन्त, जोगी–बाबाहरूका लागि बिदाइको व्यवस्थासमेत भइसकेको छ ।

पाँच हजार स्वयंसेवक

शिवरात्रि मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवाप्रदायक सरकारी एवं गैरसरकारी निकायबाट पाँच हजार स्वयंसेवक परिचालन भएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालका अनुसार शिवको दर्शनका लागि एकादशीदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ । शिवरात्रिकै लागि भनेर नेपाल र भारतबाट ६ हजार बढी साधुसन्त तथा जोगीहरू पशुपति क्षेत्रमा भेला भएका छन् ।

दर्शनार्थी बाहिरिने मूलद्वारनजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिनेछ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ ।

ट्राफिक रुटमा परिवर्तन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापनमा परिवर्तन गरेको छ । महाशाखाले दर्शनार्थीलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्वारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगंगाबाट गौशालाका सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । यस्तै, दर्शनार्थी र विदेशी पर्यटकलाई वाइसिएल मार्ग, कोषका सवारीसाधन र संस्थानका सवारीसाधनलाई देव उद्यानस्थित कोषको कार्यालय, स्थानीय दर्शनार्थीलाई सिफलचौर र बाग्मती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइको महाशाखाले जनाएको छ ।

पुरानो बसपार्क–सिंहदरबार–नयाँ बानेश्वर–तीनकुने हुँदै गौशाला चल्ने सवारीसाधनलाई सोही रुट फिर्ता, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल हुँदै साँखुसम्म जाने व्यवस्था मिलाइएको छ । कालोपुल हुँदै कपन चल्ने सवारीसाधनलाई लाजिम्पाटबाट महाराजगञ्ज जाने व्यवस्था मिलाइएको छ ।

यसैगरी, सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर हुँदै बौद्धसम्म चल्ने माइक्रोबस तथा टेम्पोलाई कृष्ण पाउरोटी–नक्साल–चावहिल हुँदै बौद्धसम्म, जोरपाटीबाट सुन्धारा आउने माइक्रोबसलाई नारायण गोपालचोक हुँदै सुन्धारा जाने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । पास भएका सवारीसाधनलाई भने नक्साल, भगवतीबहाल, सानो गौचरण, कालोपुल हुँदै सिफल आउने र फर्कंदा सिफल, चाबहिल गणेशस्थान हुँदै चाबहिल निस्कने गरी मार्ग कायम गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पन्तले शिवरात्रिमा ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ५सय ८२ ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिए ।