-स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामग्री र उपकरण हस्तान्तरण

Hollywood Khabar June 29,2020 Comments

काठ्माणडौ/६/३०/२० मंगलबार

कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले आजदेखि सुरू गरेको छ । हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ ।

काठमाडौँको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिने छ ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरूआत गरिएको हो। नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले पहिलो चरणको सामग्रीहरू माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो । प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १ सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक सय अठार थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेशिन पनि उपलव्ध गराइने छ। सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाँईमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यबाद दिँदै भन्नुभयो, यो अफ्ठेरो परिस्थितिमा सबैको सहयोग चाहिन्छ र प्राप्त सबै सामग्रीहरूको एक एक हिसाब राखिने छ र उचित वितरण गरिने छ । सुरक्षा सामग्री नपुगेको स्थानमा नेपाल सरकारले तत्काल सामान पठाउने छ ।

सामग्री लिँदै शुक्रराज अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले योे सामग्रीले डाक्टर,नर्सलगायत अग्रपंतिmका स्वास्थ्यकर्मीको हौसला बढाएको बताउनुभयो। उहाँले भन्नुभयो, अस्पतालले संक्रमितहरूलाई स्वास्थ्य किट उपलव्ध गराउँदै आएको र उनीहरूको लागि पनि यी सामग्री उपयोगी हुनेछन् ।

यसका अलावा साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरू र स्वास्थ्य कर्मचारीहरू, २४७ एम्बुलेन्स चालकहरू पनि यो साझेदारीबाट लाभान्वित हुनेछन् ।

नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्ने एउटा प्रयास हो। नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले बताउनुभयो । उहाँले भन्नुभयो, रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ता अत्यावश्यक सेवाहरूको निरन्तरता सुनिश्चित गर्न अति आवश्यक सुरक्षा सामग्रीहरूको ठूलो महत्व छ।

उपकरणहरूसँगै प्रयोग विधिहरू सम्बन्धित प्रशिक्षणहरू साथसाथै उपलव्ध गराइने छ। यस क्रममा बन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो। आजै अपरान्ह नेपाल रेडक्रसले नेपाल मेडिकल एशोसियसनलाई एशोसियसनको कार्यालय बागबजारमा चिकित्सकहरूको लागि सुरक्षा सामग्री वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

मुलुक र नागरिकहरूलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरूलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरू र विभिन्न स्वास्थ्य निकायहरूलाई आवश्यक स्वास्थ्य उपकरणहरू उपलव्ध गराउन नेपाल रेडक्रसलगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशी लागेको छ। दी कोकाकोला फाउण्डेशनका क्षेत्रीय व्यवस्थापक हरि शर्मा न्यौपानेले भन्नुभयो ।

यस्तै सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त छुट्टै ३५०० थान एन नाइन्टीफाइभ माक्स पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल रेडक्रसका अध्यक्ष थापा, महामन्त्री हरिप्रसाद न्यौपाने, प्रारम्भ नेपाल र आनि छोइङ डोल्मा फाउण्डेशनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

स्मरणीय छ, तीव्र गतिले फैलिइरहेको कोभिड–१९ महामारीको परिस्थितिमा संक्रमण रोकथाम र नियन्त्रणमा नेपाल रेडक्रसले स्वास्थ्य, खानेपानी र सरसफाइ, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोगलगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीय तह, स्थानीय समुदाय, रेडक्रसका विभिन्न अन्तर्राष्ट्रिय निकायहरू, दाता र साझेदारसँग मिलेर काम गरिरहेको छ। कोभिड प्रतिकार्यमा नेपाल रेडक्रसका देशभरीका सञ्जालहरू र यसका स्वयंसेवकहरू परिचालन भइरहेका सन्दर्भमा उनीहरूको पनि सुरक्षा र मनोबल बढाउन योे सहकार्यले थप टेवा दिनेछ ।