-रीता सञ्जेल

मैले मेरो उचाई र गहिराइ बुझेकी छु

Hollywood Khabar May 05,2019 Comments

रीता सञ्जेल/ललितपुर/५/६/१९
धर्तीमा खाली खुट्टा सिधा तनक्क तन्किएर उभ्याइ
त्यो नापरुपी फित्ताले नाप्दा,मेरो उचाई करिब
५ फिट ठ्याक्कै पाउन सक्नु हुन्छ।
तर मलाई थाहा छ,मेरो उचाइ अझै उचिन सक्छ।

अनि केही दोब्रिएर कुप्रिएर खुम्चिन पनि सक्छ।
यसले मलाई खासै प्रभाव पार्दैन।
मैले मेरो उचाई र गहिराइ बुझेकी छु।
अनि उच्च्याउने गहिर्याउने प्रक्रियामा
मानिस धेरै अभ्यस्त पनि हुन्छ।

तारिफ र प्रशंसामा म
मेरो देशको सगरमाथाभन्दा धेरै अग्लिएकी पनि छु।
कयौं पटक, अनि कयौं पटक म जमिन मुनि
संसारकै सबैभन्दा गहिरो समुद्र र खोचभन्दा पनि तलतल
तपाईं कसैले अनुमान र कल्पना गर्नै नसक्ने गहिराईमा झरेको अनुभूति पनि सङ्गालेकी छु।

खुशीले हावाभन्दा हलुका भै उडेर,फुर्किएकी छु।
पिडाका कुन कुन हालमा सम्हालिन सक्छु
त्यो कि मनले कि मैले थाहा पाउन सक्छु।
मनको हलुका उचाई र गह्रौंपन
कसले कति महसुस गर्न सक्नु भएको छ?
हो, त्योभन्दा ज्यादा धेरै ज्यादा महसुस मैले गरेकी छु।

अब फेरि मेरो उचाई र गहिराई लम्बाइ र चौडाइ
कहाँ कहाँबाट कसरी नाप्नुहुन्छ?
बोली व्यबहार आनिबानी रङ्गढंग तौर तरिका
मेरो श्रीङगारिएको रुप या प्राकृतिकरुपबाट
मैले उठबस हिंड्डुल गर्नुपर्ने यो दुनियाँको
जीवनशैली या विचारबाट
आदर्श या यथार्थ भावबाट
जहाँबाट जसरी उच्च्याउनु
आफ्नो चित्त बुझाउन सफल हुनु
तपाईंले आकाशलाई दिन या रातमा नियालेर
नाप्न सफल भएको दिन
मेरो उचाइ जान्न सफल हुन सक्नुहुन्छ।

नाप्ने ननाप्ने तपाईंको मर्जी
म त सदा नापिन तयार,त्यो पनि आत्म गौरवले
तर नापेर चित्त नबुझ्ने तपाईं
सधैंको असन्तुष्टले आफैंमा सकिदा सकिदै नै कहिले गलेर
कहिले मनैमन जलेर सकिने निश्चित छ।
अनि म सन्तुष्ट देख्न नपाउदा नपाउदै नसकेरै सकिन्छु ।

समाप्ति हाम्रो शृष्टिको चक्र हो।
अमर अजर कोहि अनि केही छैन।
भलै आफ्नो अस्तित्व बनाउन सक्ने रेकर्डमा हुन्छन्।
तर यहाँ हर भौतिक र जैविकपनको अस्तित्व समाप्ति चाहिँ निश्चित छ।