मनसुन निस्क्रिय बन्दै

Hollywood Khabar September 18,2021 Comments

मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र केही ठाउँमा मात्रै सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । भारतबाट मनसुनी चक्र बाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने भएकाले मनसुनी प्रणाली बाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा ठूलो वर्षा भए पनि धेरै ठाउँमा हल्कादेखि सामान्य खालको वर्षा हुनेछ ।

यस्तै, यसपालिदेखि मनसुनी अवधिको समय परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, यसपालि यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ । मनसुन तोकिएको मितिभन्दा एक दुई दिन ढिलाचाँडो गरी भित्रन र बाहिरिन सक्ने पनि मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हरेक १०र१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ ।