-विपत्तिमा राहत उठाउन नचुक्ने बितरण चाहिँ नगर्ने संस्थाबारे, आजको लागि NANC

विपत्तिमा राहत उठाउन नचुक्ने बितरण चाहिँ नगर्ने संस्थाबारे, आजको लागि NANC

Hollywood Khabar May 10,2020 Comments

कृष्ण के सी/अमेरिका/५/११/२०

यो हप्ता धेरैजनाको फोन कल आएपछि मे १०, २०२० शनिबार अलिकति अनुसन्धान गरे। साँच्चै उठान गरिनु पर्ने बिषय छ, हाम्रा अगाडी। हरेक विपत्तिमा राहत भन्दै रकम उठाउन नचुक्ने र बितरण पनि नगर्ने नेपालीहरुले चलाएका संस्था कति होलान ?

भनिन्छ लेखनको न्यायिक सिद्धान्त भनेको लेखकले पहिला आफ्नो बारे नाङ्गोझार पारेर आफूलाई नै नङ्याउनुपर्छ अनि मात्र अरुलाई नङ्याउनु सान्दर्भिक हुन्छ। यो लेख्दै गर्ने व्यक्ति धेरै चन्दा र अनुदान दिने र माग्ने दुवैमा पर्दैन। दिंदा पनि फोटो र रेकर्ड फेसबुकमा हाल्दैन, प्रचार त कहिल्यै पनि गर्दैन। धेरै र ठूलो नभएपनि सानो-सानो रुपमा थुप्रै दिएको छ तर कहिल्यै पनि प्रचार गरेको छैन।

आफू धेरै सहभागी भएको सँस्था गैरआवासीय नेपाली संघमा दिएको कोभिड १९ फण्डको लागि सुरु गरिएको अनलाइन डोनेशनमा पनि आफ्नो नाम नदेखाई केहि रकम दिएको नै हो। रकम सानो भएर होइन तर देखाउन मन नलागेर हो नदेखाइएको हो। म आफू कमाएर खान्छु, मलाइ दिने र लिने कुरामा प्रतिस्पर्धा नै गर्नु छैन। यदि पत्यार लाग्दैन भने संघका कोषाध्यक्ष महेश श्रेष्ठ अथवा क्षेत्रीय संयोजक राजन त्रिपाठीसँग प्रमाणीकरणको लागि सोधी माग्न सक्नुहुन्छ। मेरो लागि दिने भनेको भगवानको नाममा मन्दिरमा दिएको भेटी जस्तै पवित्र हो। जसको हिसाब म खोज्दिन।

तर, जब कुरा मन्दिरमा पनि दानमा अपवित्र पाप पलाउँछ तब मन कुँडिएर आउँछ। कहिले के को नाममा रकम उठाउने र कहिले के को। हुन त अमर बम बचाउन भनेर रकम उठाएर नदिएको भन्दै अमर बमले गरेको कलको भ्वाइस मेसेज रेकर्ड पनि कोहि कोहिसँग अझै होला।

फेरी पनि आफ्नै कुरा गरौँ, हाम्रै समुदायको, मेरो आफ्नै शहरको पुरानो एउटा संस्थाको। क्यालिफोर्नियाँको सान फ्रान्सिस्को शहरमा नेपालीहरुको एउटा चर्चित संस्था छ। लगभग ४ दशक उमेर पुरा गरेको एउटा संस्था छ। नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया अर्थात NANC भनेर छोटकरिमा चिनिने। उसो त NANC ले थुप्रै सहयोग र राम्रा काम पनि गरेको छ। अहिले यसका अध्यक्ष इश्वर सिटौला छन्। कुनै जमानामा १७०० भन्दा धेरे साधारण सदस्य भएको यो संस्था अहिले साधारण सभा गर्दा कोरम नपुग्ने हालतमा पुगेको छ।

बिषयलाइ उजागर गरौँ। NANC ले इराकमा मारिएका १२ जना नेपालीहरुका परिवारका लागि राहत भनेर उठायो तर त्यो रकम उनीहरुका परिवारले पाएको रेकर्ड कतै पनि छैन। भुकम्प र अन्य विपत्तिमा पनि थुप्रै पटक रकम उठाएको छ तर वितरणको विवरण सार्वजनिक भएको या सुनिएको छैन।

यहाँ सम्मकि कुनै पनि लोटरी चलाउँदा नठगियोस भनेर राज्यले कडाखाले ब्यबस्था गरेको छ। NANC ले नेपाली कम्यूनिटी सेन्टर बनाउने नाममा चालाएको लोटरीको कतिपय प्याड नै गायब छन् भेनर कार्यसमिति भित्रका व्यक्तिले भने।

उसो त कम्यूनिटी सेन्टर बनाउन भेनेर २००७/२००८ तिर देखि चलेको कुरा अहिले सम्म पनि पुरा भएको छैन। दुइ-दुइ पटक त यज्ञ महायज्ञ नै गरियो। कम्यूनिटी सेन्टर बनाउने नाममा एक होइन, दुइ होइन, सय होइन, हजार होइन लाख भन्दा धेरै रकम प्लेज गर्ने र दिने व्यक्ति पनि यसै समुदायमा छन्। जम्मा प्लेज भएको रकम नै ११ लाख भन्दा धेरै बताइएको थियो। तर यो ११/१२ वर्षमा पनि काम पुरा भएको छैन, नेपाली कम्यूनिटी सेन्टर बनेको छैन।

बिचमा दरार आयो, काम रोकियो। करिव चार बर्ष पहिला, म आफूले संयोजन गरेको योजनामा हामी संचारकर्मी र पत्रकार साथिहरुले सहजीकरण गरेर रोकिएको गति अगाडी बढाउन पहल गरिदियौं। त्यसपछि अलि गति बढ्यो। सुनिए अनुसार, NANC ले नेपाली समुदाय बस्ने भन्दा करिव १०/२० माइल बाहिर एउटा बाँझो खोरियो किनेको छ।

यसले कम्यूनिटी सेन्टर बनाउन धेरै पटक रकम जम्मा गरेको छ। थुप्रै दाताले दिएका पनि छन्। तर होडबाजीले गर्दा काम भएको छैन। अहिले आएर NANC होइन नेपाली कम्यूनिटी सेन्टर (NCC) बनाउन भनेर यज्ञलाल श्रेष्ठ कस्सिएर लागेका छन। उनलाई पनि कहिले NANC ले रकम नबुझाउने त कहिले एक्लै नहिड भन्ने दुनिया थरिका बहाना गरेको गुनासो आएको छ। यज्ञलाको नेतृत्वको NCC ले बिताएको कठिनाइ छर्लङ् पारेर उनीहरुले प्रेस रिलिज नै गरेका छन्।

यो लामो इतिहास बोकेको NANC ले यो पटक पनि कोभिड १९ को राहत भन्दै रकम उठाएको छ। दिनेहरुको नाम राम्रो शब्दमा प्रसंसा सहित सार्वजनिक पनि गरिएको छ। तर पाउने व्यक्तिको नाम दिन नमिले पनि कम्तिमा यो क्षेत्रमा दिइयो, आवश्यक परेमा संस्थामा सबै रेकर्ड छ भनेर चुनौती दिन सक्ने हुनुपर्छ। सहयोग दिएको व्यक्ति या परिवार साच्चिकै आवस्थ्यक हो त्यसको उचित कारण हुनुपर्छ।

तर यहानेर संझनुपर्ने कुरा के छ भने यज्ञलाल नेतृत्वको नेपाली कम्यूनिटी सेन्टर कार्यसमितिले कसैबाट पनि एक पैसा नलिएर आन्तरिक रुपमा कार्यसमिति भित्रबाट नै रकम/सामान उठाएर वितरण गर्दैछ। उनीहरुले खाना बनाउन नसकेका कोभिड १९ असक्त या अन्य कारण असक्षम भएका र भोकै बस्नुपर्ने व्यक्तिहरुलाइ सम्पर्क गरेमा खाना पनि दिने गरेका छन्।

तर एउटा जिज्ञासा, यस्तो विपत्तिमा राहत उठाउन नचुक्ने तर बितरण र विवरण चाहिँ नगर्ने संस्था नेपाली समुदायमा कति होलान ? हामीले कुरा उठाउने या चुप बस्ने ? त्यो काम चाही नेपाली समुदायका व्यक्तिहरु, दाताहरु र संचारकर्मी अनि पत्रकारहरुको पनि काम हो। जुम मात्र होइन बिषय पनि उठान गर्न अनुरोध।

कृष्णार्पण !