-Shanta Sapkota

नारी दिवस रे !

Hollywood Khabar April 15,2020 Comments

-शान्ता सापकोटा, गोरखा,आरुघाट, मार्च ८, २०२०

 

कसले चलायो यो चलन ?

कसको हो यो बलिदान ?

कोही कसैलाई चासो छैन !

सामाजिक सन्जालमा

रातै पहेंलै सजिएका

ती नारीहरू देखिन्छन्

जसलाई हरेक दिन

प्रत्येक बार

नारी दिवस छ !

 

खोलाका तीरमा

चर्को घाममा पिल्सिएर

ढुंगा र बालुवासित जुध्दै

गाॅंस जुटाउन तल्लीन

हल्केलाभरि ठेला बोकेर

पसिनाले नुहाइरहेका नारीहरूलाई सोध

के हो नारी दिवस ?

 

अनकन्टार भिरमा

डोको र नाम्लो बोकिरहेका

कुर्कुच्चा फाटेका

खाली पैतालाका नारीहरूलाई सोध

के हो नारी दिवस ?

 

दिनभरि मजदुरी गरेर

खुइय ..गर्दै

थकाइ मेटाउन

झुपडीमा छिर्न नपाउॅंदै

नशाले लठ्ठ

उन्मत्त आफ्नै मान्छेबाट

जगल्टा उखेलिॅंदै

लात खान विवश

ती नारीहरूलाई सोध

कहाॅं छ नारी दिवस ?

 

कस्मेटिकले वास्तविकता लुकाउन सक्ने

हे महिला दिवसका दिदीबहिनीहरू !

सडक किनारामा

झरी र घाम पचाएर

मकै पोल्दै

मकै भुट्दै

धुलो र धुवाॅंभित्र हराइरहेका

ती महिलाहरूलाई सोध

के हो श्रमिक महिला दिवस ?

 

अशिक्षाले अनाथ र अबोध बन्दै

जन्मभूमिको सिमाना कटाइएकी

जिउनुको वास्तविक अर्थ नै

शब्दकोशबाट हटाइएकी

पुरुषकै लागि सजाइएकी

नारीलाई सोध

के हो नारी दिवस ?

 

आधाभन्दा बढी महिलामा

यही तीतो यथार्थ हुॅंदा हुॅंदै

मात्र एक दिन !

त्यो पनि

पुरुषले नै लगाइदिएको भागबन्डामा

आफ्नो दिवस सम्झिएर

दिदीबहिनीहरू !

व्यर्थै किन नाचिरहेका छौ ?

 

सन्जालको भित्ताभन्दा पर

अर्को कस्तो जीवन छ ?

थाहा छैन ?

क्लारा जेटकिनको

विचार र हिम्मत के ठट्टा हो ?

साहस छ भने

सन्जालभन्दा पर

दिदीबहिनीहरू हो !

आओ मनाऔॅं

वास्तविक नारी दिवस

दूर दूरका बगरहरूमा !!

**शान्ता सापकोटा खनालका कविता**

त्यो मान्छे

गजल:पोल्छ उसैगरी मलाई