यता प्रवासी चिन्तन उता दलिय विचलन:अकुर लुइटेल

Hollywood Khabar July 18,2017 Comments

अकुर लुइटेल/न्युयोर्क
नेपाल साक्षात स्वर्गको एउटा टुक्रा हो, प्रवासी भुमी अमेरीकामा घण्टा गन्ति गर्दै कडा परीश्रम गरि आफु र नेपालस्थित परिवारको समेत सहारा बनेका बिराटनगरका परिवेश आचार्यले भने, सृष्टिले प्राकृतिक सुन दिएको हो। तर नेताले नचिन्दा घुन बराबर भो। उनले एकै वाक्यमा भने, नेपालको बिकासमा वाधक भनेकै राजनीति हो । आचार्यले छोटो भनाई राखे तर जति बोले उनको बोलाइको भाव पहिल्याउन म केहीबेर घोत्लिए ।
हुन पनि हो, नेपाल सबै जातजाती, धार्मिक सम्प्रदाय र सांस्कृतिक रितिरिवाजले सुसम्पन्न साझा फुलवारी थियो । यो वा त्यो नभनि सबै मिलेर बसेका थिए, हिमाल पहाड तराइबीच प्रगाढता थियो, अझ उदाहरणिय त मानवीय सेवा र सहयोगको गाँठो अटुट थियो। पछिल्लो समय दु्रत विकसित संचार माध्यममार्फत नेपालका घटनाक्रमहरु हेर्दा अनि सुन्दा सोच्ने गर्छु त्यति राम्रो, सुन्दर र बिकासलाई पछ्याइरहेको देशलाई कुन तत्वले बिगारेको होला ? आफुले आफैलाई सोध्छु जड समस्या के चाँहि होला? यस्को निचोडमा पुग्न मैले कर्मभुमिका सामान्य बस्तुस्थिती नियाले, सिष्टम, नीति नियमबारे बुझे र जन्मभुमिसंग तुलना गरे फलस्वरुप जहाँ जसरी जुन रुपमा हेरेपनि आखिर नेपाल राजनीतिक रोगले नै थलिएको पाँए ।
बिश्वकै शक्तिशाली र सबैको रोजाईको मुलुक अमेरीकामा बस्ने नेपालीहरु त खुशी, सन्तुष्ट र आनन्दित हुनुपर्ने हो नि, अहँ त्यस्ता पात्र मैले अपवाद मात्र भेटे। अमेरीकामा डलर कमाएर सम्पन्न जिवनयापन गरेका, ब्यापार व्यवसाय गरेर प्रतिष्ठित भएकादेखि सामान्य दैनिकी गुजार्दै आएकाहरुमा मातृभुमिको माया र सामिप्यता अझ प्रचुर भेटे । अन्य देशका प्रवासीहरुमा पनि सायद नेपालप्रतिको सामिप्यता यस्तै हुन्छ जस्तो लाग्छ ।
प्रवासीहरुका कथा ब्यथा आ आप्mना होलान तर यहाँ प्रसंगवश मातृभुमिसंगको सम्वन्धलाई जोड्ने प्रयत्न गरे र केही पात्रहरुको भनाइसंगै नेपालको समग्र पाटालाई विमर्श गरे । नेपालीहरुको बाक्लो बसाई रहेको भर्जिनियाका रेष्टुरेन्ट व्यवसायी उत्तम पोखरेल भन्छन–सार्वभौम मुलुक नेपालमा संविधान, कानून र नीति नियम दस्तावेजमा मात्र सिमित हुने अनि सबै योजना तथा कार्यान्वयन चाँहि ब्यक्तिवादी सोच र शक्तिको भरमा चल्ने हुँदा समस्या छ । यसले हाम्रो परिचय बिश्वसामु लगातार गिर्दो छ । अहिलेसम्म देश बिकास र संबृद्धि नहुनुको मुल जड नै दलिय र ब्यक्तिवादी प्रवृत्तिको उपज हो, यसमा दुइमत छैन् । पोखरेलको भनाइमा पनि सत्ता र राजनीति विधिबाट होइन व्यक्तिबाट चलिरहेको प्रतित हुन्थ्यो ।
नेपालको सवालमा टाउके राजनिति हावी छ । यिनै दुई–चार वटा टाउकेलाई नेपालको समग्र बिकास र सारा नेपालीको भाग्यरेखा कोर्ने अघोषित जिम्मा दिनु चोरलाई चौतारो मिलेजस्तै हो । राणाकाल, पंचायतकाल, बहुदलबाद हुँदै राज्य संघिय लोकतान्त्रिक अभ्याससम्म आइपुग्दा जनताले सार्वभौम एवं कानूनत अधिकार सम्पन्न नागरिकको आभाष समेत गर्न नसक्नु फलतः दिनानुदिन मौलाउँदै गएको ग्रसित राजनीतिको मिठो चुक हो। चरणबद्ध रुपमा देश समय अनुरुप बिभिन्न वादले नामांकित त भयो तर परिवर्तित वाद अनुसार राजनितिक शुद्धिकरण र बिकासबाद पटक्कै नहुँदा सारा नेपाली अन्धकारमय जिवन जिउन वाध्य छन् ।
बिश्वका बिकसित देश र बिकासका चरणमा लम्किरहेका देशलाई हेरेर चित्त बुझाउँदै आएका नेपाली जन–जनले भिन्न कालखण्डमा छेपारो प्रबृत्तिका शासकहरुबाट कहिले सिंगापुर, कहिले स्विजरल्याण्ड त कहिले जापान जस्तै देश बनाउने खोक्रो आश्वासन प्रायः सबै सत्ता परिवर्तनसंगै पाउँदै आए, तर उपलब्धि सधै शुन्य । यसैले होला जनताका लागि अहिले राजनीति कौवालाई वेल पाकेर हर्ष न बिस्मात जस्तै भएको छ । यसले के प्रस्ट्याउँछ भने नेपालको राजनीति र राजनीतिक शैली केवल सत्ता लिप्सामा केन्द्रिकृत छ र जनतालाई जति आश्वासन दियो त्यति नै रत्तारतिमा रमाउन पाइन्छ भन्ने मनोबिज्ञानले जरा गाडिसकेको छ । दलहरुले राजनीतिलाई यतिसम्म एडिक्ट बनाईदिए कि एउटै घरको बाउ–छोरा र दाजु–भाईमा समेत पानी बाराबारको स्थिती छ ।
जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतामाथी नै फोहोरी राजनीति गरिरहेका छेपारो प्रबृतिका राजनीतिक दलहरुले शिक्षा, स्वास्थ्य, खानेकुरा लगायत जनताका सामान्य क्षेत्रमा समेत आप्mनो संजाल बिछ्याएका छन्। फलस्वरुप दलिय प्रभाव र संख्याका खातिर यी क्षेत्रहरु बर्तमान अवस्थामा दल सदस्यता बिस्तारको प्रमुख आधार स्तम्भ बन्दै आएका छन् । कुनै क्षेत्र चोखो र राजनीतिबाट अछुतो छैन् । यहि प्रसंगमा टेक्सासको ड्यालसमा ग्याँस व्यवसाय गर्दै आएका प्रशान्त श्रेष्ठ भन्छन–नेपालमा चिकित्सक, शिक्षक, कर्मचारी, इन्जिनियर, ओभरसियर, ब्यापारी, ब्यवसायी, पत्रकार, कलाकार लगायत सबै क्षेत्र दलिय प्रभावले जकडिएको छ । यहि दलिय प्रभाव र
अहंकारले भाइचारा, बन्धुत्व र एउटै फुलवारीका फुल हौ भन्ने भावनालाई तहसनहस पारेको छ। नेपालमा हावापानी, हिमसृंखला, खोलानाला, वनजंगल र प्राकृतिक सुन्दरताको बेजोड संगम छ तर घिनलाग्दो राजनीतिक चलखेलले देश बिग्रिएको छ। हाल इण्डियाना र केन्टकी राज्यमा व्यवसाय गर्दै आएका महेन्द्र काफ्लेले भने नेपालको राजनीति यदि स्वच्छ र भाइचारा हुँदो हो त जन्मभुमि पोखरामा सन १९८९ देखि गर्दै आएको पर्यटकिय व्यवसायलाई नै निरन्तरता दिइन्थ्यो होला। माया त नेपालको अगाध छ नि काफलेले थपे–राजनीतिले नै सबै क्षेत्रको घाँटी अठ्याइरहेको हुँदा दण्डहिनतासंगै भ्रष्टाचार, कालोबजारी र समग्र बिकास निर्माणमा प्रभाव परेको छ।
यहि सवालमा देश विदेशका सरोकारवाला र अधिकारकर्मीहरुले राजनीतिक आचरण र दलिय प्रभावका सवालमा निरन्तर सचेत गराइरहे, मार्ग देखाइरहे यद्यपी बाहुवल र अरुको अस्तित्व स्विकार्न नसक्ने मनोभावबाट ग्रसित राजनीतिक दलले एक कानले सुन्ने र अर्कोले उडाइदिने प्रवृतिले गर्दा सारा नेपालीको जिवनमा ग्रहण लागेको प्रवास भासिएका नेपालीहरुको आँकडाबाटै प्रष्ट हुन्छ। सत्तामा कसरी पुग्ने भनेर एकोहोरो ध्याउन्नमा लागेका दलहरुले सत्तामा पुगेपछि जनमुखी काम नगर्दाको क्षण साह्रै टिठ लागेको वोस्टनका व्यवसायी मनोज भण्डारीले सम्झिए । उनले अन्तरंग कुराकानीमा देशभित्र सम्भावना, आशा र नेताहरुको भरोसा भएको भए महिनौ लगाएर पैदल अमेरीका आउने तथा ज्यानको जोखिम मोलेर अन्य प्रतिवन्धित मुलुकमा नेपालीहरु नजाने अथ्र्याए।
हरेक क्षेत्रमा दलिय प्रभुत्व बढ्दै जानु तर देशको सिमाना क्रमशः खुम्चिनु, शिक्षकहरु दलिय संगठन बिस्तारमा लाग्दा शैक्षिक गुणस्तर खस्किनु, हत्या, अपहरण र दण्डहिनता मौलाउनु, सचिव लगायत कार्यकारी पदहरुमा राजनीतिक भागवण्डाबाट नियुक्ति हुनु, कर्मचारीतन्त्रमा सेवाभाव भन्दापनि दल समर्थित युनियन वा संगठन प्यारो हुनु, जनताका लागि अत्याबश्यक खानेकुरा, ग्याँस, बिजुली, खानेपानी, सडक, ढलनल जस्ता सामान्य बस्तुको चुस्त ब्यबस्थापन नहुनुमा मुख्यतः प्रमुख दलहरु नै भागिदार छन् ।
हामी नेपाली बीरताको गाथाले बिश्वमा चिनिन्छौ, शान्तिगामी भई फैलिएका छौं र सृष्टिको अनुपम देनले सिंगारिएका छौं । बिश्वको जुनसुकै कुनामा भएपनि हामी आप्mनै स्वाभिमान र स्वाधिनतामा रमेका छौं । अझ संस्कृति र परम्पराको अद्धितिय नमुनाले हाम्रो शान र प्रतिष्ठालाई सगरमाथा झै उच्च बनाएको छ ।
यहि गौरब गाथा बोकेर बिश्वका कुना काप्चामा आप्mना सिप, कला र शैलीलाई निखार्ने चेहराको संख्या ५० लाख नाघिसक्यो, दिनानुदिन यो संख्या दुगुना बढीरहेको छ, राज्यलाई त्यहि बिदेशिने श्रमजिवीको शिल्प आबश्यक छ तर राज्यका ठेकेदारहरु मुकदर्शक छन्। मुखमा राम राम बगलीमा छुरा बोक्ने कुटिल ठेकेदारहरुले देशको कित्ताकाट गर्ने र भागवण्डा गर्दै पालैपालो सत्ता कब्जा गर्ने घृणित कामले नेपाल आमाको स्वाभिमानलाई कुल्चिएका छन् ।
यस्तो किन भइरहेको छ त ? सवाल सामान्य लाग्छ तर यसका अन्तरबस्तुलाई सुक्ष्म रुपले नियाल्दा यो एक प्रकारको राजनीतिक मनोरोग रहेको बिष्लेषकहरुको तर्क छ। प्रवास भासिने नेपालीहरुको अन्तरमनले सधै भन्छ यदि नेपालमै प्रयोगात्मक शिक्षा, यथेष्ट रोजगारी र न्यायमुलक सामाजिक सुरक्षाको प्रत्याभुति हुन्थ्यो भने किन आइन्थ्यो र विदेशमा।
हुन पनि हो, विदेशमा रहरले अपवाद मात्र आएका होलान तर बहुसंख्यक नेपाली दिनानुदिन बढेको असुरक्षा, मौलाउँदो भ्रष्टाचार, अस्वस्थ राजनीतिक पटाक्षेप र बेरोजगारले गाँजेपछि विकल्पका रुपमा विदेशिएका छन्। हो, चन्द्रमामा पनि दाग छ, केही ब्यक्तिको सोच र बिचार नेपालप्रति सकारात्मक छैन होला तर अधिकांसको सवालमा विदेशमा बसेर रमाउँदैमा, हाँसेको फोटो देख्दैमा, व्यवसायी भयो भन्दैमा नेपालको माया नहुने भन्ने बुझाई गलत हो । प्रवासीहरुलाई अहिले मात्र यति चिन्ताले सताएको छ कि क्षणिक आत्मरतिमा रमिरहेका दलहरुका कारण कालान्तरमा नेपालको पहिचान र स्वाभिमान इतिहाँसका दस्तावेजमा सिमित नहोस् ।
२०४६ को बहुदलिय ब्यबस्थापछि च्याउ झै उम्रिएका दलले जनहित भन्दापनि दलिय स्वार्थलाई प्राथमिकतामा राखेर केवल सत्ता र भत्ताका लागि मरिहत्ते गरे, नाम बदनाम गरे, रातो पासपोर्ट बेचे, यौनकाण्ड रचे, मर्यादा विपरित कुर्सी हानाहान र भाँच्ने काम गरेर चर्चित भए तर जनताका सवालमा सिन्को भाँच्ने काम गरेनन्।
यसबीचमा उदाहरणिय काम गरेर राजनेता बन्ने चाहना कोही कुनै नेताबाट नहुनु वास्तवमै राजनीतिभित्रको खडेरी हो । लगभग २८ बर्षको अन्तरालमा कुनै दलले स्पष्ट बहुमत ल्याएर दीर्घकालीन सरकार गठन गर्न नसक्नु, केवल सरकार ढाल्ने र एक अर्कामा अबिश्वासको पासा फाल्ने कुप्रथाले प्रश्रय पायो फलस्वरुप नेपालमा बहुदलिय पद्धति र सम्भावना अहिलेको लागि पूर्णतः अन्त्य भएको आँकलन छ भने नौलो पद्धतिको सोच, अवधारणा र जवाफदेहितामुलक राजनीतिक बहसको शुभारम्भ गर्नु जरुरी भइसकेको छ।