-नेपाल सहभागीमूलक कार्य समूह-नेपानको अध्यक्षमा डा अनोज क्षेत्री

नेपाल सहभागीमूलक कार्य समूह-नेपानको अध्यक्षमा डा अनोज क्षेत्री

Hollywood Khabar September 09,2021 Comments

काठमाडौँ, भदौ २५ गते, सहभागितात्मक विकास प्रक्रियाका असल सिकाइहरूलाई सदस्यहरूबीचको सञ्जालीकरणमार्फत् देशभर विस्तार गर्नमा समर्पित राष्ट्रिय संस्था नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को काठमाडौंमा सम्पन्न २७औं वार्षिक साधारणसभाले आउँदो दुई वर्षका लागि डा. अनोज क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

यसअघि डा झविन्द्र भण्डारीको अध्यक्षतामा गठित कार्यसमितिको दुई वर्षे अवधि पूरा भएपछि नयाँ कार्यसमिति गठन गरिएको हो।नेपानमा निवर्तमान अध्यक्ष नयाँ कार्यसमितिमा ‘पदेन सदस्य’को रूपमा रहने प्रावधान छ।

कार्यसमितिमा कोषाध्यक्षमा दलबहादुर जिसी र सदस्यहरूमा भोला भट्टराई, विन्दु गहतराज, हेरिना जोशी, कर्ण नेपाली, लालबहादुर ओली, महेशप्रसाद देव, डा नरेन्द्रसिंह ठगुन्ना, शान्ति थापा, सञ्चमाया स्याङ्बो तथा तोयानाथ गौतम रहनुभएको छ। नेपानका सचिवालय प्रमुख समितिमा ‘पदेन सचिव’ रहने व्यवस्था छ।

२०५१ चैत २३ गते काठमाडौंमा स्थापना भएको नेपान सञ्जालमा हाल साढे तीनसयभन्दा बढी सदस्य रहेका छन् । सदस्यहरू सातै प्रदेशमा रहेका छन्। कामका सिलसिलामा कतिपय सदस्य विदेशमा समेत रहेका छन् । नेपानले सहभागीमूलक विकास प्रक्रियाको उत्थानका लागि जनवकालत, अनुसन्धान, प्रकाशन तथा सञ्चार, तालिम, स्थलगत कार्यक्रम कार्यान्वयन तथा सिकाइ अभिलेखीकरणजस्ता विविध कार्यहरू गर्दछ। साथै, नेपान–घर कोटेश्वरमा एक स्रोत–केन्द्र (विकास पुस्तकालय) समेत सञ्चालित छ। नेपानले सहभागीमूलक विषयका विविध पक्षमा मासिक बहससमेत चलाउने गर्दछ। नेपानबाट सहभागिता नामक नेपाली विकास म्यागाजिन र पार्टिसिपेसन नामक अंग्रेजी जर्नल पनि विगत दुई दशकभन्दाअघिदेखि प्रकाशन हुँदै आएका छन् ।

सहभागीमूलक विकास प्रवद्र्धनमा उल्लेख्य योगदान गर्ने विकासकर्मीहरूलाई वार्षिकरूपमा सम्मान गर्नका लागि नेपानमा प्रसिद्ध स्मृति विकास लेखन पुरस्कार र डा भोला दाहाल स्मृति पुरस्कार समेत स्थापित छन् ।

बदलिँदो समयअनुरूप नेपानका क्रियाकलापहरूलाई थप डिजिटाइज्ड गर्ने, नेपालका सातै प्रदेशमा नेपान सञ्जालको उपस्थिति बढाउने र सदस्य परिचालन तथा दिगो कोष अभिवृद्धिमार्फत् नेपानका गतिविधिलाई थप प्रभावकारी पार्ने हाम्रो योजना छ, अध्यक्ष क्षेत्रीको भनाइ छ।