वाग्मती प्रदेशबाट एन्फालाई एक करोड

Hollywood Khabar September 18,2021 Comments

वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ एन्फालाई चालु आर्थिक वर्ष २०७८र०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले एन्फालाई सहिद स्मारक ए डिभिजन लिग र प्रदेश लिग आयोजनाका लागि १ करोड उपलब्ध गराउने भएको हो ।  ए डिभिजन लिग कात्तिक २९ देखि काठमाडौंमा हुँदै छ । प्रदेश लिगको मिति भने तोकिएको छैन ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको उपस्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एन्फालाई पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइने छ । उक्त रकम ए लिगको हरेक खेलमा जित हासिल गर्ने टिमलाई ‘म्याच मनी स्वरूप ५० हजार रुपैयाँका दरले प्रदान गरिनेछ । खेल बराबरी भए उक्त रकम आधा बाँडिने सम्झौतामा उल्लेख छ ।

प्रदेशले लिगमा ९१ खेलका लागि ४५ लाख ५० हजार, उदीयमान खेलाडी राइजिङ प्लेयरका लागि १ लाख र प्रतियोगितामा अफिसियल खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिने परिषद्का सदस्यसचिव भण्डारीले जानकारी दिए । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस योजना समावेश गरेको थियो ।  एन्फा अध्यक्ष शेर्पाले यस सम्झौताले क्लबहरूलाई खेलप्रति अझै लगाव बढ्ने बताए ।