सिसं २५ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह

नेपाली सेनाको सिसं २५ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

Hollywood Khabar February 20,2019 Comments

नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सिसं २५ कमाण्ड तथा स्टाफ तालिमको २०७५ फागुन ०९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ।

उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलो पटक एक जना महिला सहित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरु लगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका १/१ र चीनबाट २ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६२ जना अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी आज दिक्षित हुनु भएको छ।

सि सं १७ (सन २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न देशका ७३ जना विदेशी शिक्षार्थीहरु दिक्षित भईसकेका छन्। उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme तथा समग्र तालिममा नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्की प्रथम हुनु भएको छ। MSS को अध्ययनमा गरिने सोधपत्र (Thesis Work) अर्थात् Commandant Paper तर्फ सेनानी सुनिल बिष्ट र सेनानी प्रतिकसिंह कार्की संयुक्त रुपमा प्रथम हुनु भएको छ ।

उक्त दीक्षान्त समारोहमा प्रधानसेनापति महारथी थापाले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनुहुने नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्कीलाई उत्कृष्ट शिक्षार्थी पुरस्कार (Best Student Award) प्रदान गर्नुको साथै दिक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई (Passed Staff College) प्रमाण-पत्र वितरण गर्नुभएको थियो।

सोही अवसरमा उहाँले उक्त कलेजको वार्षिक मुखपत्र दि शिवपुरी जर्नलको २० औं संस्करण विमोचनसमेत गर्नुभएको थियो। सोही क्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा तिर्थराज खनियाले MSS Programme तर्फ सर्वप्रथम हुनुहुने शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको थियो।

त्यसैगरी, उक्त कलेजका शिक्षाध्यक्ष उपरथी श्री इश्वर हमालले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

उक्त दीक्षान्त समारोहको दौरान कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हमालले स्वागत मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको दौरान प्रधानसेनापति महारथी थापाले यस तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन गहन भूमिका खेलेको बताउनु भएको थियो। साथै नेपाली सेनामा यस तालिमको महत्व, आवश्यकता, औचित्य र प्रभावकारीताको बारेमा समेत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा तिर्थराज खनियाले त्रिभुवन विश्व विद्यालय विश्वको १००० उत्कृष्ट विश्वविद्यालय भित्र पर्नमा यस सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सहभागी विदेशी शिक्षार्थीहरु र यस शिक्षालायले प्राप्त गरेको नतिजाले अहम् भूमिका खेलेको बताउनु भएको थियो ।

उक्त कार्यक्रममा, विदेशी सैनिक सहचारीहरु, बरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, विभिन्न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूहलगायत शिक्षार्थी अधिकृतहरुको परिवारजनको समेत उपस्थिती रहेको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाबाट प्राप्त बिज्ञप्तिमा उल्लेख गरिएको छ।